२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८, फर्सेका २५ घर बगेका छन् । आइतबार बिहान करिब ८ बजे नदीको पानी बस्तीमा पसेपछि ठूलो क्षति भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फर्सेमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर नदीको बहावले बगाएको छ भने बाँकी घरहरू पनि जोखिममा छन् । नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा थप क्षति हुन सक्ने भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन । जोखिम बढेपछि बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएकाले प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । फर्से घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
घटनाको थप विवरण संकलन भइरहेको नेपाल प्रहरीले जनाएको छ । नदीको बहाव बढिरहेकाले आसपासका बस्तीका बासिन्दालाई समेत सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij