२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा शुक्रबार बिहान ठूलो हिमपहिरो गएको छ । लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका टेन्टहरू पुरिनुका साथै केही बगाएको बताइएको छ ।
हिमपहिरोपछि आधार शिविरमा रहेका कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । अभियान आयोजकहरूका अनुसार Himalayan Holidays Nepal का ८ जना आरोही तथा सहयोगी कर्मचारी र Imagine Nepal Treks का २ जना किचन कर्मचारीसँग हिमपहिरोपछि सम्पर्क हुन सकेको छैन ।
हिमपहिरोले आधार शिविरका टेन्टहरूमा क्षति पुर्याएपछि सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे यकिन हुन सकेको छैन । उनीहरूको खोजी तथा अवस्थाबारे थप जानकारी संकलन गर्ने प्रयास भइरहेको जनाइएको छ ।
Expedition Operators Association Nepal का अनुसार हिम्लुङ हिमाल क्षेत्रमा सञ्चालनमा रहेका अन्य कम्पनीका अधिकांश आरोही तथा कर्मचारी भने यसअघि नै सुरक्षित स्थानतर्फ झरिसकेका थिए । मौसममा आएको खराबी र हिमपातबारे चेतावनी पाएपछि उनीहरूलाई तल्लो क्षेत्रमा सारिएको थियो ।
लगातारको वर्षा र भारी हिमपातका कारण हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम बढेको अवस्थामा उक्त घटना भएको हो । सम्पर्कविहीन भएका आरोही तथा कर्मचारीको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij