Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

आज दिनभरको १८ खबर एकै ठाउँमा

आज दिनभरको १८ खबर एकै ठाउँमा


  • 666
    Shares

    आज दिनभरको १८ खबर एकै ठाउँमा
    images

    १. सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान ‘सोह्र श्राद्ध’ अर्थात पितृ पक्ष आजदेखि विधिवत रूपमा शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु भई औँसीसम्म चल्ने यो पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्दै कृतज्ञता प्रकट गरिन्छ  ।धार्मिक मान्यताअनुसार, पितृ पक्षका बेला दिवंगत पितृहरू पिण्ड र जलको आशमा मृत्युलोकमा झर्ने गर्दछन् । दशैँ, दीपावली र छठजस्ता ठूला चाडपर्वहरू मनाउनुअघि पितृलाई खुसी पार्नु र उनीहरूप्रति श्रद्धा अर्पण गर्नुलाई नेपाली समाजमा, विशेषगरी मिथिला संस्कृतिमा, विशेष महत्वका साथ लिने गरिन्छ । 

    २. राष्ट्रसङ्घ महासभामा जलवायु न्याय र भोटेकोशी विपद्को मुद्दा उठाएर प्रधानमन्त्री साह स्वदेश फिर्ता

    संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र साह उच्चस्तरीय सभामा सहभागी भइ शनिवार स्वदेश फिर्ता हुनुभएको छ । महासभामा नेपालको तर्फबाट जलवायु न्याय, भोटेकोशीको विनाशकारी बाढीको प्रभाव र दिगो विकासका साझा चुनौतीहरूबारे स्पष्ट अडान प्रश्तुत गर्दै प्रधानमन्त्री स्वदेश फर्कनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालकाअनुसार गत असोज ६ गते (२२ सेप्टेम्बर) न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्रीले सेप्टेम्बर २४ मा महासभाको साधारण छलफललाई सम्बोधन गर्नुभएको थियो । 

    ३. नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने

    नेपाल र जापान बिचको खेल वर्षाका कारण रद्ध हुँदा २०औं एशियाली खेलकुदमा पुरुष क्रिकेटमा अंक बाँडेको छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले दोस्रो खेलमा अंक पाएपछि समूह विजेता बन्दै क्वार्टरफाइनलमा श्रीलंकासककंग भेट पक्का गरेको छ । खेल आगामी सेप्टेम्बर २९ तारिखमा हुनेछ । त्यसअघि शनिवार कोरोगी एथ्लेटिक पार्कमा भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा हुँदा  खेल रद्द भयो। अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो । अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ । 

    ४. जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड

    जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक मनाइने दशैँ पर्वलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले सरोकारवालाहरूबीच वृहत सर्वपक्षीय छलफल सम्पन्न भएको छ । महावीर युवा कमिटी र राम युवा कमिटीको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा मन्दिर परिसरमा हुने श्रद्धालुको भीड व्यवस्थापन र पूजाआजालाई सुव्यवस्थित पार्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । दशैँको अवसरमा जनकपुरको राजदेवी मन्दिरमा बोकावली र पूजाआजाका लागि श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ । यस वर्षको चाडपर्वलाई सुरक्षित बनाउन मन्दिर परिसरको सरसफाइ, श्रद्धालुको सहज आवागमन र सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन् ।

    ५. गगन थापालाई ‘ग्याङ्स्टर’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’

    नेपाली काँग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले सभापति गगनकुमार थापामाथि गरिएको तल्लो स्तरको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ । जनकपुरधाम उपमहानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सभापति थापालाई ‘ग्याङ्स्टर’ भनी आरोप लगाउनेहरूलाई ‘विनाशकाले विपरीत बुद्धि’ भन्दै कटाक्ष गर्नुभएको हो । नेता यादवले नाम नलिई काँग्रेसका एक पूर्वउपसभापतिप्रति लक्षित गर्दै पार्टीका जिम्मेवार तहमा रहेका नेताहरूको पछिल्लो अभिव्यक्ति ‘बौखलाहट’ र ‘नैतिकताविहीन’ भएको आरोप लगाउनु भयो । 

    ६. काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

    नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ । शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिरको २१, २२ र २३ गते पार्टीको महाधिवेशन गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँले त्यसको तयारीका लागि असोजको १५ गतेबाट वडा अधिवेशन शुरु हुने जानकारी दिनुभयो । एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । 

    ७. काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

    नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औं महाधिवेशनको तयारीलाई तिब्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोईरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो । 

    ८. काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला

    नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोईरालाले पार्टीको आसन्न १५ औं महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताउनुभएको छ । शनिवार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । कोईरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनु भयो ।

    ९.एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

    परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी रहेको छोटो समयलाई तिब्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ (जीडीआई)’ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी विकासका चुनौती सामना गर्न सामुहिक र व्यावहारिक सहकार्य आवश्यक रहेको बताउनु भयो । न्युयोर्कमा आयोजित जीडीआईको पाँचौँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री खनालले विकासशील मुलुकहरूले सामना गरिरहेको वित्तीय सङ्कट, जलवायु परिवर्तनको प्रभाव, बढ्दो ऋणको दबाब र द्वन्द्वले विकासका लक्ष्यहरूलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो ।

    १०. अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै

    दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित पारेको थियो । निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज र व्यापार–व्यवसायमा समेत सुस्तता देखिएको थियो । शनिवार बिहानैदेखि वर्षाको क्रम रोकिएर घाम लाग्न थालेपछि जनजीवनमा केही सहजता महशुस गरिएको छ ।

    ११. टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य

    टर्कीले आगामी पाँच वर्षभित्र ५० लाख र दश वर्षभित्र १ करोड मानवरहित हवाई सवारी साधन (युएभी÷ड्रोन) उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासका क्रममा टर्कीका चिफ अफ जनरल स्टाफ सेल्चुक बायरक्तारोग्लुले देशको रक्षा उद्योगको उत्पादन क्षमताले यो लक्ष्य हासिल गर्न सक्षम रहेको बताउनुभएको हो । हालै सम्पन्न ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासमा बोल्दै जनरल बायरक्तारोग्लुले आधुनिक युद्धमा मानवरहित प्रणालीको भुमिका भविष्यमा अझ निर्णायक हुने स्पष्ट पार्नुभयो ।

    १२. टर्कीमा ठूलो लगानी कोष संकटः साढे चार लाख लगानीकर्ता जोखिममा, सरकारद्वारा छानबिन शुरु

    टर्कीको पुँजी बजारमा देखिएको गम्भीर लगानी कोष संकटका कारण करिव साढे चार लाखभन्दा बढी लगानीकर्ताको वचत जोखिममा परेको छ । शेयर बजारमा कृत्रिम मूल्य वृद्धि गरी ठगी गरेको आरोपमा सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू खारेजीको प्रक्रियामा छन् भने टर्कीको पुँजी बजार बोर्डले यस प्रकरणमा वृहत अनुसन्धान अघि बढाएको छ । सेप्टेम्बर १७ मा जारी गरिएको आदेशअनुसार सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू मातहतका १३१ वटा कोषहरूलाई खारेजी प्रक्रियामा लगिएको छ । आधिकारिक तथ्याङ्कअनुसार यसबाट ४ लाख ५५ हजार ७५८ लगानीकर्ता प्रभावित भएका छन् । 

    १३. द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

    संयुक्त राष्ट्रसंघको महासभा सत्रको अवसरमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र इरानी राष्ट्रपति मसूद पेजेस्कियानबीच न्यूयोर्कमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा दुई छिमेकी मुलुकका शिर्ष नेताहरूले आपसी ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने र तनावग्रस्त क्षेत्रीय परिदृश्यमा शान्ति तथा कुटनीतिक संवादलाई प्राथमिकता दिने दृढ प्रतिवद्धता व्यक्त गरेका छन् । दुई देशबीचको रणनीतिक तथा मैत्रीपूर्ण साझेदारीलाई थप गति दिने उद्देश्यले आयोजित सो साइडलाइन बैठकमा क्षेत्रीय सुरक्षा र आपसी हितका साझा विषयहरूमा गहन समीक्षा भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । 

    १४. विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा

    अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलहरूले विश्वमै अग्रणी स्थान ओगटेका छन् । विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शिर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये आठवटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् । ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहन सफल भएको छ ।

    १५. संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत मुख्य निकाय युएनआरडब्ल्युएको कार्यक्षमता र भविष्य संकटमा रहेको भन्दै तत्काल राजनीतिक र आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा उनले युद्धका कारण संस्थाले भोग्नुपरेको मानवीय क्षति र इजरायलबाट भइरहेका अवरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता युएनआरडब्ल्युएले अभूतपूर्व चुनौती र क्षति व्यहोरिरहेको महासचिव गुटेरेसले बताउनु भयो । युद्धको यो अवधिमा संस्थाका करिव ४०० जना कर्मचारीले ज्यान गुमाएका छन् भने कैयौं कार्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।

    १६. सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प

    उत्तरी सुडानको अल–गोलिड इलाकामा पर्ने साल्नाराती गाउँका बासिन्दाहरूले बढ्दो गर्मी छल्न आधुनिक कङ्क्रिटका घरभन्दा आफ्ना पुर्खाले सिकाएको माटोको घरलाई नै बढी प्राथमिकता दिइरहेका छन् । अत्यधिक तापक्रम सहन सक्ने क्षमता र स्थानीय स्तरमै उपलब्ध निर्माण सामग्रीका कारण यी परम्परागत घरहरू यस क्षेत्रमा अझै पनि उत्तिकै लोकप्रिय छन्। । साल्नारातीका वासिन्दाकाअनुसार यी घरहरू निर्माण गर्न निकै सरल छ । यहाँका बासिन्दाले माटोका बाक्लो भित्ता र खजुरका रुखका काण्ड तथा पातहरू प्रयोग गरेर छानो बनाउने गर्छन् ।

    १७. किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

    देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन सुझाव दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो । उहाँले विशेष गरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गर्नुभयो ।

    १८. पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने

    नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ । मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ । पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

    प्रकाशित मिति :आश्विन १० २०८३ शनिवार - १८:२७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij