Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

आज दिनभरको २७ खबर एकै ठाउँमा (छोटकरीमा)

आज दिनभरको २७ खबर एकै ठाउँमा (छोटकरीमा)


  • 603
    Shares

    आज दिनभरको २७ खबर एकै ठाउँमा (छोटकरीमा)
    images

    १. वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती

    अविरल वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो । सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् । यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ । 

    २. राष्ट्रसंघमा प्रधानमन्त्री साहले भने–‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’

    प्रधानमन्त्री बालेन्द्र साहले नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण भोग्नुपरेको यो त्रासदी केवल नेपालको मात्र नभई सम्पूर्ण मानवताको साझा संकट भएको बताउनुभएको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री साहले अगस्ट २६ को बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउनु भयो ।

    ३. राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन

    राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रवार उहाँले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । उहाँको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुग्नुभएको थियो ।

    ४. रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

    रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रवार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उहाँको निवासमा भव्य स्वागत गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । 

    ५. यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

    संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र नेपालको विपद्लाई मुख्य बहसको विषय बनाएको भन्दै जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले यसलाई अत्यन्तै सकारात्मक कदमका रूपमा टिप्पणी गर्नुभएको छ । तथापि, राष्ट्रसंघको रोस्टमबाट व्यक्त विचार र अन्तर्राष्ट्रिय समुदायले देखाएको सहानुभूतिलाई वास्तविक नतिजामा बदल्न नेपालले घरभित्रै बलियो गृहकार्य र दीर्घकालीन रूपरेखा तयार गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभएको हो । 

    ६. यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

    संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र साहले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको छ । रोल... 
    रसुवा र भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा हालै आएको विनाशकारी बाढीको पृष्ठभूमिमा गरिएको उक्त सम्बोधनलाई जलवायु अभियन्ता तथा अन्तर्राष्ट्रिय जलवायु वार्ताका विज्ञ मञ्जित ढकालले विज्ञानमा आधारित, कुटनीतिक रूपमा परिपक्व र साना राष्ट्रहरूको साझा आवाजका रूपमा टिप्पणी गर्नुभएको हो । न्यूयोर्कमा सम्बोधनलगत्तै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विज्ञ ढकालले प्रधानमन्त्रीको मन्तव्य परम्परागत औपचारिकता र गुनासोमा मात्र सिमित नरही विश्वव्यापी संकट समाधानको स्पष्ट खाकासहित आएको बताउनु भयो । 
    महासभामा प्रधानमन्त्रिको सम्बोधन भैरहेको समयमा हलमा विभिन्न मुलुकका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहनुले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको गहिरो चासो र सद्भाव प्रष्ट पारेको ढकालले उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा विभिन्न बुँदामा विदेशी प्रतिनिधिहरूले समेत ताली बजाएर समर्थन जनाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले यसलाई अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालले पाएको ठूलो नैतिक समर्थनका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भू–राजनीतिक अखडा नबनाई ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको उहाँले औँल्याउनु भयो । 
    सम्बोधनका क्रममा प्रधानमन्त्रीले उठाउनुभएको ‘मिसाइल र रासायनिक मल’ को प्रसङ्गले विश्व व्यवस्थाको गम्भीर विरोधाभासलाई नङ्ग्याइदिएको विज्ञ ढकालले बताउनु भयो । संसारको कुनै पनि कुनामा ७२ घण्टाभित्र अत्याधुनिक मिसाइल र हतियार पु¥याउन सक्ने विश्व संयन्त्रले गरिब देशका किसानलाई बाली लगाउने बेला मल र इन्धन दिन नसक्नु अत्यन्तै लाजमर्दो अवस्था भएको सन्देश प्रधानमन्त्रीले दिनुभएको उहाँले प्रष्ट पार्नुभयो । युद्धका लागि चुस्त लजिस्टिक तयार गर्ने तर जीवनरक्षा र खाद्य सुरक्षाका लागि लजिस्टिक भत्काउने विश्व प्रवृत्तिका कारण नेपालजस्ता साना देशहरू नखाएको विषको शिकार हुनुपरेको यथार्थलाई यस सम्बोधनले अन्तर्राष्ट्रिय विमर्शको केन्द्रमा ल्याइदिएको उहाँको विश्लेषण थियो । 
    प्रधानमन्त्रीद्वारा प्रश्तुत ६ वटा ‘आर’ को अवधारणालाई जलवायु विज्ञ ढकालले विपद् व्यवस्थापन र न्यायको दीर्घकालीन सूत्रका रूपमा व्याख्या गर्नुभयो । विपद्पछिको तत्कालीन उद्धार, पुनस्र्थापना र पुनर्निर्माण मा नेपाल आफैँ अग्रसर रहेको अवस्थामा विपद्लाई स्थायी नियति बन्न नदिन विश्व समुदायले ऐतिहासिक जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता मा लगानी गर्नैपर्ने माग अत्यन्तै तर्कपूर्ण रहेको उहाँले स्पष्ट पार्नुभयो । जलवायुजन्य विपद्बाट भौतिक संरचना ध्वस्त भएका गरिब मुलुकलाई फेरि ऋणको भार बोकाउनुको सट्टा पर्याप्त अनुदान दिनुपर्ने अडानले विकासोन्मुख देशहरूको साझा भावना प्रतिनिधित्व गरेको उहाँले बताउनु भयो । 
    यसैगरी, नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना गर्न प्रधानमन्त्रीले राख्नुभएको प्रश्तावलाई विज्ञ ढकालले समयसापेक्ष र रणनीतिक कदमका रूपमा लिनुभयो । जलवायु परिवर्तनले सीमा र राहदानी नचिन्ने यथार्थ प्रश्तुत गर्दै उहाँले जोखिमपूर्ण हिमतालहरूको संयुक्त अनुगमन, पूर्वसूचना प्रणालीको विकास र विपद्का बेला सीमापार उद्धार तथा स्याटेलाइट डाटा आदानप्रदानका लागि यो त्रिदेशीय संयन्त्र अपरिहार्य रहेको बताउनु भयो । यद्यपि, दुई ठूला छिमेकीबीचको भू–राजनीतिक जटिलतालाई चिर्दै यसलाई प्राविधिक तहमा कार्यान्वयनमा लैजान नेपालले गहन कुटनीतिक पहलकदमी लिनुपर्ने चुनौतीसमेत उहाँले औँल्याउनु भयो । 
    विगतका जलवायु विपद्हरूको स्मरण गराउँदै ढकालले अन्तर्राष्ट्रिय समुदायमा विपद् आउँदा केही दिन समाचारको हेडलाइन बनाउने र पछि बिर्सने खतरनाक प्रवृत्ति हाबी भएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । पाकिस्तानको बाढी, लिबियाको आँधी र क्यारिबियनको हुरिकेनजस्तै नेपाल पनि अर्को एउटा तथ्यांक र उदाहरण मात्र बन्न नहुने चेतावनी दिँदै उहाँले विश्वको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिने वैज्ञानिक प्रतिवद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । घर जलिरहेका बेला परिवारलाई ५० वटा फाराम भराउनुको साटो आगो निभाउन लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले ‘हानि तथा नोक्शानी कोष’ लगायतका अन्तर्राष्ट्रिय संयन्त्रहरूलाई प्रशासनिक झन्झटबाट तत्काल मुक्त गरिनुपर्ने धारणा राख्नुभयो ।
    महासभाको साइडलाइनमा परराष्ट्रमन्त्रीको नेतृत्वमा भएका उच्चस्तरीय भेटवार्ताहरूले नेपालको पक्षमा थप अनुकूल वातावरण बनाएको जानकारी पनि ढकालले दिनुभयो । विशेषगरी ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणाअन्तर्गत हिमाल पग्लने समस्या र टापु राष्ट्रहरूमा समुन्द्रको सतह बढ्ने संकटलाई जोडेर नेपालले नयाँ कुटनीतिक मोर्चाको नेतृत्व गरेको उहाँले बताउनु भयो । अमेरिकी प्रतिनिधि सहित विभिन्न देशका मन्त्रीहरूसँगको द्विपक्षीय छलफलले मानवीय तथा जलवायु वित्त सहयोग परिचालनका लागि राम्रो आधार खडा गरेको उहाँको भनाइ थियो ।
    कोप–३१ सम्मेलन नेपालका लागि वास्तविक परीक्षाको घडी हुने बताउँदै विज्ञ ढकालले राष्ट्रसंघमा व्यक्त प्रतिवद्धतालाई नतिजामा बदल्न आन्तरिक तयारी तिब्र पार्नुपर्ने सुझाव दिनुभयो । प्रधानमन्त्री कार्यालय, परराष्ट्र, वन तथा वातावरण र कृषि मन्त्रालयबीच प्रभावकारी समन्वय गरी वैज्ञानिक तथ्य र कुटनीतिक चातुर्यसहितका ठोस प्रश्तावहरू अगाडि बढाउनसके मात्र यो ऐतिहासिक सम्बोधनको सार्थकता पुष्टि हुने विचार उहाँले व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

    ७. महिला कबड्डीमा नेपाल काँस्यमै सिमित 
    काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औं एशियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ ।
    टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८–२४ को फराकिलो अन्तरले पराजित भएको हो । यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औं संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो । यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन । 
    यसअघि समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले काँस्य पदक सुरक्षित गरेको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो । शुरुवाती पाँच मिनेटसम्म नेपाली खेलाडीले निकै चुनौती दिए । तर भारत ९–५ ले अगाडि नै रह्यो । यसपछि भने भारतीय खेलाडी हाबी हुन थाले । जसको कारण पहिलो हाफमा नेपाल दुई पल्ट अलआउट हुन पुग्यो । भारतले चार र नेपालले तीन बोनस अंक पाए । नेपालले एकपल्ट सुपर ट्याकल पनि ग¥यो । तर पनि नेपाली टोली १४ अंकले पछि रह्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्किने आशा थियो । तथापि नेपाली खेलाडी चल्न सकेनन् । यससँगै नेपालले ७ अंक मात्र जोड्न सक्यो । 
    भारतले भने थप १७ अंक जोड्दै सहज जितसँगै स्वर्ण पदकका लागि फाइनलमा स्थान बनायो । समूहचरणमा नेपालले कुल तीन खेलमध्ये दुई खेलमा जित निकालेको थियो । समूह ‘बी’ को नेपालले थाइल्याण्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले हराउँदा सेमिफाइनलको यात्रा पक्का गरेको हो । –न्युज एजेन्सी नेपाल

    ८. प्रधानमन्त्रीको यूएनजीए सम्बोधन जलवायु उत्थानशील नेपाल निर्माणको आधारशिला, कार्यान्वयनका लागि त्रिदेशीय सहकार्य अपरिहार्यः डा. महेश्वर ढकाल
    संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गर्नुभएको सम्बोधन नेपालको इतिहासमै प्रशंसनीय रहेको र यसले मुलुकलाई दीर्घकालमा जलवायु उत्थानशील (क्लाइमेट रेजिलेन्ट) बनाउन बलियो आधारशिला खडा गरेको विश्लेषण गरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले प्रधानमन्त्रीको सम्बोधन केवल एउटा औपचारिक भाषण मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्पष्ट अडान, विज्ञानमा आधारित चेतावनी र भावी कार्यदिशाको मार्गदर्शक सिद्धान्त भएको बताउनुभएको छ । न्युयोर्कबाट न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता डा. ढकालले भोटेकोशी विपद्को घाउलाई विश्वसामु राखेर प्रधानमन्त्रीले शुरु गर्नुभएको कुटनीतिक बहसलाई अब आगामी जलवायु सम्मेलन (कोप–३१) सम्म जोडेर नतिजामा बदल्नुपर्नेमा जोड दिनुभएको छ ।
    प्रधानमन्त्रीको सम्बोधनको विश्लेषण गर्दै डा. ढकालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति, मानवता र समृद्धिको आदर्शवादी कुरा गरिरहँदा विश्व व्यवस्थाको विरोधाभासलाई प्रधानमन्त्रीले अत्यन्तै कलात्मक र सांकेतिक रूपमा उजागर गरेको बताउनु भयो ।
    सम्बोधनमा उठाइएको रासायनिक मल र हतियारको दृष्टान्तलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “संसारभर युद्धका हतियार र मिसाइलहरू सहजै पुग्ने तर गरिब किसानका लागि मल र इन्धन नपुग्ने विश्व व्यवस्थाको विद्रूप यथार्थलाई प्रधानमन्त्रीज्यूले सांकेतिक रूपमा प्रहार गर्नुभएको छ । यदि विश्व समुदाय शान्ति र मानवताप्रति साँच्चै इमानदार छ भने शब्दमा होइन, व्यवहारमै ऐक्यबद्धता देखाउनुपर्छ भन्ने सन्देश उहाँले अन्तर्राष्ट्रिय समुदायले प्रत्यक्ष अनुभूति गर्ने गरी राख्नुभएको छ ।”
    जलवायु न्यायलाई विज्ञान र वित्तसँग जोडेर प्रस्तुत गरिनुले नेपालको कुटनीतिक उचाइ बढाएको उहाँको ठहर छ । पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा देखिन थालेको विपद्को चरित्र अन्तरदेशीय प्रकृतिको रहेको स्पष्ट पार्दै डा. ढकालले गत वर्ष केरुङ र यस वर्ष भोटेकोशीमा घटेको घटनाले तल्लो तटीय क्षेत्रसम्म भयानक असर पारेको औँल्याउनु भयो । हिमालमा हिउँ पग्लने तथा हिमताल फुट्ने र समुन्द्रमा सतह बढ्ने दुवै समस्या उस्तै प्रकृतिका सुस्त गतिको विपद् (स्लो अनसेट इम्प्याक्ट) भएको उल्लेख गर्दै उहाँले ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणालाई क्षेत्रीय र विश्वव्यापी साझेदारीमा लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो । 
    प्रधानमन्त्रीले चीन र भारतसँग मिलेर जलवायु उत्थानशीलता संयन्त्र बनाउन राख्नुभएको प्रश्ताव समयसापेक्ष रहेको बताउँदै उहाँले भन्नुभयो, “हिमाली विपद्ले कुनै प्रशासनिक वा राजनीतिक सीमा चिन्दैन। त्यसैले नेपाल, भारत र चीन मात्र नभई भुटान, बंगलादेश र पाकिस्तानसहितको यो समग्र क्षेत्रलाई सुरक्षित बनाउन एउटा संयुक्त संयन्त्र अपरिहार्य भइसकेको छ । यसमा नेपालले नेतृत्वदायी भुमिका खेल्नुपर्छ र त्यसका लागि इसिमोडजस्ता संस्थाहरूको अनुभवसमेत उपयोग गर्न सकिन्छ ।”
    महासभाको सम्बोधनपछि नेपालले तत्काल तीनवटा रणनीतिक काम थाल्नुपर्ने कार्यदिशा डा. ढकालले अगाडि सार्नुभएको छ । पहिलो कामका रूपमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किए र अस्ट्रेलिया सरकारको संयुक्त अध्यक्षतामा टर्किएको अन्ताल्या शहरमा आयोजना हुने ३१ औँ जलवायु सम्मेलनको तयारीलाई प्रधानमन्त्रीको सम्बोधनकै जगमा उभ्याउनुपर्ने उहाँको भनाइ छ । कोप सम्मेलनमा नेपालले आफ्नै पेभिलियन राखेर भोटेकोशी विपद्का श्रव्यदृश्य सामग्री अन्तर्राष्ट्रिय जगतलाई देखाउने, मन्त्रालयहरू, नागरिक समाज र निजी क्षेत्रलाई समेटेर एकीकृत आवाज निर्माण गर्ने र वार्ताकारहरूलाई प्रभावकारी बनाउने गृहकार्य तत्काल सुरु गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
    दोस्रो कामका रूपमा आन्तरिक बजेट र राष्ट्रिय योजना प्रणालीलाई जलवायु उत्थानशीलतासँग तादात्म्य गराउनुपर्ने डा. ढकालले बताउनु भयो । कोपमा जाने तयारी मात्र नभई देशभित्र खाद्य सुरक्षा, जल सुरक्षा, स्वास्थ्य सुरक्षा र समग्र पूर्वाधारलाई जलवायु संकट धान्न सक्ने गरी रूपान्तरण गर्न नीतिगत बहस हुनुपर्ने उहाँको सुझाव छ ।  तेस्रो काममा  बदलिँदो अन्तर्राष्ट्रिय भू–राजनीतिको जटिलताबीच नेपालले चाल्नुपर्ने कुटनीतिक कदमलाई उहाँले औँल्याउनुभयो। संयुक्त राज्य अमेरिकाजस्ता ठूला शक्ति राष्ट्रहरू जलवायु दायित्वबाट पछि हटेको र विश्वका विकास बजेटहरू रक्षा तथा हतियारमा रूपान्तरण भइरहेको विषम परिस्थितिमा नेपालले अतिरिक्त जलवायु वित्त र प्रविधि भित्र्याउन निकै सुझबुझपूर्ण र रणनीतिक कूटनीति अपनाउनुपर्ने उहाँको विश्लेषण छ ।
    राष्ट्रसंघका महासचिवले ‘विश्वको छानो खसेको’ भनी दिएको अभिव्यक्ति तथा ‘हानि तथा नोक्सानी कोष’ का कार्यकारी निर्देशक इब्राहिम चेख डिओङले नेपालको घटनालाई द्रुत प्रतिकार्यको नमूना मान्न सकिने भनी दिएको बयानलाई नेपालले ठूलो अवसरका रूपमा लिनुपर्ने डा. ढकालले बताउनु भयो ।
    अन्तर्राष्ट्रिय जगतले देखाएको यो सहानुभूतिलाई शब्दमा मात्र सिीमत राख्न नहुने बताउनुभयो, “विदेशी राष्ट्रप्रमुखहरूले व्यक्त गरेको ऐक्यबद्धतालाई अब हामीले प्रविधि, जलवायु वित्त र क्षमता अभिवृद्धिका रूपान्तरणकारी परियोजनामा बदल्नुपर्छ । न्यूयोर्कमा परराष्ट्रमन्त्रीज्यूले गर्नुभएको उच्चस्तरीय द्विपक्षीय भेटघाट र आगामी दिनमा फिजीमा हुने प्रिकोप बैठकले यसका लागि ठोस आधार तयार पार्नेछ ।”
    तेस्रो काम अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका मागहरूको विश्वसनीयता जोगाउन देशभित्रको काम सबैभन्दा प्रभावकारी हुनुपर्ने डा. ढकालको धारणा  छ । अन्तर्राष्ट्रिय समुदायमा जतिसुकै चर्को आवाज उठाए पनि यदि घरभित्रै पारदर्शी बजेटिङ, पीडित बस्तीको न्यायोचित पुनस्र्थापना, रणनीतिक सडक र जलविद्युतको दीर्घकालीन सुरक्षा गर्न नसकिए सम्बोधन भाषणमै सीमित हुने जोखिम रहने उहाँले औँल्याउनुभयो। भोटेकोशी र त्रिशूलीका पीडित समुदायलाई न्याय दिन सरकारले आफ्ना नीति र स्रोतलाई इमानदारीपूर्वक परिचालन गर्नुपर्ने बताउँदै उहाँले वायु प्रदूषण, जैविक विविधताको ह्रास र जलवायु संकटको त्रिपक्षीय समस्याविरुद्ध नेपालले देश भित्र र अन्तर्राष्ट्रिय मन्चमा युद्धस्तरमा काम गर्नुपर्ने ढीला गर्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    ९.पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो विशाल पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध
    पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रोल... 
    सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि सयौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्याधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ । स्थानीय प्रशासनकाअनुसार लामो समयदेखिको वर्षाका कारण कमजोर बनेको जमिन र भिरालो भूगोलका कारण पहिरो खसेको हो । बाढीको उच्च जोखिम झेलिसकेको सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्गको पुनःस्थापना थप चुनौतीपूर्ण बनेको छ । सडक अवरुद्ध भएसँगै काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो मार्गमा सवारी साधनहरूको लामो लाइन लागेको छ । प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्र भएकाले यस भेगमा थप पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन प्रशासनले शतर्क गराएको छ । –न्युज एजेन्सी नेपाल

    १०. जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
    जनकपुरधामका गुठी जग्गामा दशकौँदेखि बसोवास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन् । रोल... 
    आफूहरूले पुख्र्यौली सम्पतीसरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । जनकपुरका विभिन्न स्थानमा २०२५ सालदेखि नै बसोवास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका छन् । स्थानीयले गुठी संस्थान ऐन, २०२५ र २०३३ को प्रावधानअनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाब दिइएको आरोप लगाएका छन् । आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । पीडित पक्षले स–साना बालबालिका बोकेर प्लास्टिकको छानोमुनि बस्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै राज्यले यसको मानवीय पाटो हेर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए आम हडताल र चक्काजामसम्मका कडा कदम चाल्ने चेतावनी दिएका छन् । संघर्ष समितिका सचिव वचनदेव मण्डलले गुठीले आतंक गरिरहेको बताउँदै उनीहरुको विरोधमा उत्रिएको बताउनु भयो । 
    बाइट...वचनदेव मण्डल, सचिव, गुठी कुटी घर जग्गा व्यवस्थापन माहासंघर्ष समिति, धनुषा 
    यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठी जग्गाको विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पार्नुभयो । स्थानीयको समस्या समाधानका लागि गठित नौ सदस्यीय उच्चस्तरीय समितिमा आफ्ना मागहरू समावेश गर्ने प्रतिवद्धता जनाउनु भयो । 
    बाइट...मनोजकुमार साह, नगर प्रमुख, जनकपुर धाम उपमहानगरपालिका
    समितिले नापी, मालपोत र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूसँग समन्वय गरी जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्ने र स्वबासीको अधिकार नखोसिने गरी व्यवस्थापन गर्न पहल गर्ने विश्वास दिलाएको छ । जग्गाको वैधानिकता र स्वामित्वको विषयमा रहेको द्विविधाले गर्दा जनकपुरमा गुठी जग्गाको समस्या अझै जटिल बनेको छ । –न्युज एजेन्सी नेपाल

    ११. गद्दी बैठक अगाडि उभ्याइए पवित्र रथ, बत्तीले सजिए सम्पदा, पानीले पखालेको ढुङ्गे चोकमा ऐनाजस्तै टल्कियो कान्तिपुरको सौन्दर्य (फोटो फिचर)
    जहाँ लाखौँ भक्तजनको जयजयकार, लाखे नाचको घन्किएको धिमे बाजा, पुलुकिसीको दौडधुप र सुगन्ध फैलिनेछ, त्यही वसन्तपुर आजको रात भने गहिरो ध्यानमग्न शान्तिमा डुब्यो । पूर्वसन्ध्यामा खिचिएका यी दृश्यहरूमा वसन्तपुर कुनै अन्तर्राष्ट्रिय खुला कला संग्रहालयभन्दा कम देखिँदैन । वर्षाको पानीले सडक र पेटीहरू पखालेको छ । बन्द पसलहरू, किनारमा लामवद्ध सजाइएका बिरुवाका गमलाहरू र ऐतिहासिक ल्याम्प पोस्टहरूले वातावरणलाई निकै रोमान्टिक र पवित्र बनाएका छन् । इन्द्रजात्राको प्रमुख आकर्षण भनेकै राष्ट्रका जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हो । सेतो नियोक्लासिकल शैलीको गद्दी बैठक भवनको ठीक अगाडि तीनवटै काठका विशाल रथहरू लामवद्ध तम्तयार राखिएका छन् । मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै रथहरूलाई वाटरप्रुफ त्रिपाल र प्लास्टिकले ओढाइएको छ भने काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले सुरक्षाका लागि रातो–सेतो कोन तथा डोरीको घेरा हालेका छन् । काठका ठुल्ठूला पाङ्ग्राहरूमा तेल लगाइएको छ र तानेर लगिने बाक्ला डोरीहरू बाँधिएका छन् । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित विशाल श्वेत भैरवको मुखाकृति वर्षको आठ दिन मात्रै सर्वसाधारणको दर्शनका लागि खोलिने गर्दछ । पूर्वसन्ध्यामै भैरवको मुखौटोलाई रंगरोगन गरी ताजा सयपत्री, मखमली फूलका विशाल मालाहरू र हरिया केराका थामले सुसज्जित गरिएको छ । उता नजिकै रहेको भय र न्यायका देवता मानिने कालभैरवको मूर्ति अगाडि पनि रातको समयमा घ्युका दीप प्रज्वलन गरिएको छ । विगतका वर्षहरूभन्दा यसपालिको इन्द्रजात्राको पूर्वसन्ध्या अझ व्यवस्थित र चिटिक्क देखिएको छ । काठमाडौं महानगरपालिकाले जुद्ध सडक (न्यूरोड) देखि वसन्तपुरसम्मको सडकलाई सवारीमुक्त पदमार्ग बनाउँदै परम्परागत ढुङ्गा बिछ्याएको छ । सडकमा झुण्डिएका अव्यवस्थित तारहरू हटाइएका छन् । पसलका सटरहरू माथि एकैनासका सुनौलो प्रकाश दिने बत्तीका लडीहरू जडान गरिएका छन्, जसको परावर्तन वर्षाको भिजेको सडकमा पर्दा सिंगो सडक नै सुनको नदीझैँ चम्किएको भान हुन्छ । इन्द्रजात्रा केवल काठमाडौंको नेवार समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालको राष्ट्रिय गौरवको जात्रा हो । स्वर्गका राजा इन्द्र आफ्नी आमा बसुन्धरालाई पारिजातको फूल टिप्न धर्तीमा आउँदा चोर सम्झेर बाँधिएको र पछि वर्षा तथा शीतका रूपमा आशीर्वाद दिएको पौराणिक कथा यस जात्रासँग जोडिएको छ । वसन्तपुरको यो पूर्वसन्ध्याको शान्त झिलिमिलीले भोलि आउने उल्लासमय जनलहरको भव्य स्वागत गरिरहेको छ । सम्पदा, कला, वर्षा र प्रकाशको यो अनुपम संगमले काठमाडौं किन संसारकै अद्वितीय सांस्कृतिक सहर हो भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको छ । –न्युज एजेन्सी नेपाल
    तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल

    १२. कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा
    पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । रोल... 
    गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भासिने त्रास बढेको हो । गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्रयाक निर्माण गरिएको थियो । निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सडक पनि सुरक्षित नरहेको विज्ञहरूले औंल्याएका छन् । निर्माण भइसकेको ट्रयाकको तल्लो तटीय क्षेत्रबाट त्रिशूली नदीले जमिन कटान जारी राखेकाले सडकको जग कमजोर बन्दै गएको छ । हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडक खण्ड अवरुद्ध हुँदै आएको छ । कृष्णभीरको भौगोलिक अवस्था आफैंमा निकै कमजोर र संवेदनशील मानिन्छ । त्यसमाथि नदीको कटानले निरन्तरता पाएकाले तत्काल दिगो समाधान नखोजिए पुनः सडक सम्पर्क विच्छेद हुने जोखिम उच्च छ । सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत अवस्थाको अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको कार्य चुनौतीपूर्ण बनेको छ । राजमार्गको यो खण्ड मुलुकको राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफलाइन भएकाले यसको संरक्षणमा गम्भीरता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । वैकल्पिक मार्ग सुरक्षित नहुँदा हजारौं यात्रु र ढुवानी सेवा प्रत्यक्ष प्रभावित भइरहेका छन् । हाल भइरहेको कटानले नयाँ ट्रयाक नै बगाउने सम्भावना बढेपछि अबको रणनीति के हुने भन्ने प्रश्न स्थानीय र सरोकारवालाहरूले उठाएका छन् । –न्युज एजेन्सी नेपाल
    १३. कुरिनटारमा त्रिशूलीको कटानः पृथ्वी राजमार्गको सडक खण्ड भासिएपछि जोखिम बढ्यो
    पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको आधारभुत भाग कटान गर्दा सडक भासिएको छ । रोल... 
    राजमार्गको ७५ किलोमिटर ४०० मिटरको दूरीमा रहेको यो खण्डमा ठूला चिरा परेपछि सवारी साधनको आवागमन उच्च जोखिममा परेको हो । केही समयअघि सामान्य रूपमा ब्यारिकेड लगाइएको सडक खण्डमा अहिले कटानका कारण ठूलो क्षति पुगेको छ । शुरुवाती चरणमा सानो समस्या देखिएको उक्त स्थानमा पछिल्लो समय त्रिशूली नदीले निरन्तर कटान जारी राखेपछि सडकको स्वरूप नै बदलिएको छ । हाल सो स्थानमा सडकको ठूलो भाग भासिएर चर्किएको अवस्थामा छ, जसले गर्दा सवारी साधनहरूको आवतजावतमा थप चुनौती थपिएको छ । सडक सुरक्षाका लागि राखिएका भौतिक अवरोधहरूले समेत कटानलाई रोक्न नसकेपछि सडकको जग कमजोर बनेको छ । सम्बन्धित प्राविधिक टोलीले उक्त सडक खण्डको निरीक्षण गरिरहेको छ । कटानको दर र सडक भासिने क्रम नरोकिएमा राजमार्गको मुख्य यातायात प्रणाली नै अवरुद्ध हुन सक्ने खतरा देखिएको छ । स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले उक्त स्थानमा सावधानीपूर्वक सवारी चलाउन चालकहरूलाई आग्रह गरेका छन् । –न्युज एजेन्सी नेपाल

    १४. कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा
    अविरल वर्षाका कारण कान्ति राजमार्गमा विभिन्न तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रोल... 
    सडकको उचित निकास नहुँदा पहाडी भिरालोबाट बगेको पानी सिधै सडकमा पस्दा सडकको पिच उप्किने र ग्याबिन पर्खालसमेत जोखिममा पर्ने देखिएको हो । कान्ति राजमार्गमा देखिएको पछिल्लो सडक अवरोधले स्थानीयवासी र यात्रुलाई सास्ती दिएको छ । सडक निर्माणका क्रममा आवश्यक पर्ने पानी निकासको दिगो प्रवन्ध नहुँदा सामान्य वर्षामा समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको हो । सडकको माथिल्लो भागबाट आएको भलपानी नाली हुँदै सुरक्षित स्थानमा लैजानुको साटो सडकको पिचमै बग्न दिइएको छ । सडक किनारमा रहेका ग्याबिन पर्खालहरू पानीको तिब्र बहावका कारण कमजोर बनेका छन् । सडक सुरक्षाका लागि अपनाउनुपर्ने प्राविधिक मापदण्डहरू पालना नहुँदा र समयमा मर्मतसम्भार नहुँदा कान्ति राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ । –न्युज एजेन्सी नेपाल

    १५. काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)
    काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । रोल... 
    उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तिब्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालको हिमाली तथा पहाडी भूभाग नजिक अवस्थित छ । यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आगामी २४ घण्टासम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । विपद् व्यवस्थापन विज्ञहरूले पहाडी भेगमा पहिरो र उपत्यका तथा तराईका होचा भूभागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू साथमा राख्न सुझाव दिएका छन् । –न्युज एजेन्सी नेपाल
    तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

    १६. एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित ग¥यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल
    जापानमा जारी एशियन गेम अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ । रोल... 
    श्रीलङ्कालाई ९ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो । टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ । श्रीलङ्काविरुद्धको खेल नेपाली खेलाडीका लागि चुनौतीपूर्ण थियो । दुई महिनाअघि बीच गेममा व्यहोरेको पराजयका कारण टोली केही दबाबमा देखिए पनि कप्तान मानमती बिष्टको नेतृत्वमा रहेको टोलीले उत्कृष्ट डिफेन्स र रेडिङमार्फत जित सम्भव बनाएको हो । टोलीका लागि यो विजय विगतमा भारतमा गरिएको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताको परिणाम भएको कप्तान बिष्टले बताउनु भयो । 
    ‘हामीले पदक गुमाउनुहुँदैन भन्ने ठुलो चुनौती महसुस गरेका थियौँ । शुरुमा केही नर्भस देखिए पनि खेल अवधिभर टोलीको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सक्यौँ ।’ कप्तान बिष्टले भन्नुभयो । 
    विगतका खेलहरूमा १३ अङ्कले पछि परेको अवस्थालाई उल्टाउँदै विजय प्राप्त गरेको अनुभवले खेलाडीको मनोबल उच्च बनाएको छ । नेपाली टोलीले अब आफ्नो ध्यान आगामी खेलहरूमा केन्द्रित गरेको छ । स्वर्ण वा रजत पदकको लक्ष्यसहित अघि बढेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कप्तान बिष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी सङ्घको सहयोगले नै आफूहरूलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रिन मद्दत पुगेको बताउनु भयो । उहाँले अन्य विधाका नेपाली खेलाडीहरूलाई पनि अन्तिम समयसम्म नहारिकन प्रतिष्पर्धा गर्न हौसला प्रदान गर्नुभयो । –न्युज एजेन्सी नेपाल

    १७. अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह
    देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । रोल...
    मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र शतर्कता अपनाउन सरकारले नागरिकहरूमा आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण बुटवल लगायत देशभरका विभिन्न क्षेत्रमा रहेका मुख्य राजमार्ग र सडक सञ्जालमा अवरोध सिर्जना भएको छ । विशेष गरी पुराना बुटवलका सडक खण्ड र पहाडी मार्गहरूमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न र शतर्क रहन आह्वान गरेको हो । मौसमविद्हरूकाअनुसार मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेकाले वर्षाको मात्रा अझै बढ्न सक्ने आँकलन गरिएको छ । तिनाउ नदी लगायत स्थानीय खोलानालाको जलसतह बढ्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई उच्च शतर्कता अपनाउन भनिएको छ । सडक विभागले राजमार्गमा पहिरो खस्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । लामो दूरीका सवारी चालकहरूलाई यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ । प्रशासनले स्थानीय तह र सुरक्षा निकायलाई उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देश गरेको छ । –न्युज एजेन्सी नेपाल

    १८. ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’ः डा. रोजनाथ पाण्डे
    संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले जलवायु संकट र भोटेकोशी विपद्बारे राख्नुभएको ऐतिहासिक धारणालाई संघीय संसदले आफ्नो मुख्य ‘निर्देशक सिद्धान्त’ बनाएर अघि बढ्ने भएको छ । रसुवा–भोटेकोशी विपद् अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य–सचिव तथा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सिमित नरहने भन्दै त्यसलाई कार्यान्वयनयोग्य राष्ट्रिय कार्ययोजनामा रूपान्तरण गर्न संसद्ले गृहकार्य तिब्र पारेको बताउनुभएको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सचिव डा. पाण्डेले भोटेकोशी–त्रिशूलीको बाढीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो । 
    उहाँले संयुक्त राष्ट्र संघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै भन्नुभयो, ‘राष्ट्रसंघका महासचिवले चार वर्षअघि नेपाल आएर ‘विश्वको छानो खस्दैछ’ भन्नुभएको थियो, आज त्यो त्रासदी हाम्रै आँखाअगाडि प्रमाणित भएको छ । हाम्रो कुनै गल्तीबिना हामीमाथि भएको यो घोर अन्यायलाई प्रधानमन्त्रीज्यूले विश्वमञ्चमा अत्यन्त व्यवस्थित र बुलन्द ढंगले स्थापित गर्नुभएको छ ।”
    गत असोज ५ गते प्रतिनिधि सभाले सत्तापक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा तीन महिने कार्यादेशसहित गठन गरेको विशेष समितिले विपद्का ९ वटा क्षेत्रमा मिहिन अध्ययन थालेको जानकारी डा. पाण्डेले दिनुभयो । 
    समितिले केवल औपचारिक प्रतिवेदन मात्र नबुझाएर दीर्घकालीन पुनर्निर्माण र कुटनीतिको स्पष्ट खाका कोर्ने दाबी गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले महासभामा उठाउनुभएको ६ वटा ‘आर’ र जलवायु न्यायको सन्देश नै हाम्रो समितिको ‘गाइडिङ प्रिन्सिपल’ (निर्देशक सिद्धान्त) हो । उहाँले देखाएको राजनीतिक र कूटनीतिक दिशानिर्देशलाई हामी फिल्डमै पुगेर, पीडित जनताको आँसु र वैज्ञानिक तथ्यसँग जोडेर इम्पिरिकल डेटा (प्रमाणमा आधारित तथ्य) मा अनुवाद गर्दैछौँ ।”
    हिमाली क्षेत्रमा निम्तिएको यो संकट कुनै एउटा भूगोल वा देशको मात्र सीमाभित्र नरहेको स्पष्ट पार्दै डा. पाण्डेले यसलाई क्षेत्रीय विपद्का रूपमा व्याख्या गर्नुभयो । भारतको उत्तराखण्डदेखि सिक्किम र भूटानसम्मको हिमाली श्रृङ्खलामा विपद्को तिब्रता र आवृत्ति डरलाग्दो गरी बढेको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “हामीले तुलनात्मक रूपमा सुरक्षित ठानेको भोटेकोशी–त्रिशूली क्षेत्रमै यति भयानक विपत्ति आयो भने अन्यत्रको अवस्था झन् कति संवेदनशील होला ? यो नितान्त सीमापार  मुद्दा हो । त्यसैले प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको नेपाल, भारत र चीनबीचको त्रिदेशीय संयन्त्र र संयुक्त परियोजनालाई अब तत्काल कुटनीतिक वार्ताको टेबलमा पु¥याउनुपर्छ, नेपाल एक्लैले लडेर यो संकट जित्न सकिँदैन ।”
    यसैगरी, अन्तर्राष्ट्रिय जलवायु वित्तको प्राप्तिमा देखिएको प्रशासनिक झन्झटप्रति कडा आक्रोश व्यक्त गर्दै डा. पाण्डेले यसलाई दया वा दानको नजरबाट नहेर्न चेतावनी दिनुभयो ।
    कोष परिचालनमा देखिएका जटिल प्रक्रिया तत्काल खारेज हुनुपर्ने माग गर्दै उहाँले भन्नुभयो, “जलवायु वित्त भनेको कुनै धनी दाताले गरिबलाई दिने भिक्षा होइन, यो त हामी सबैको अस्तित्व जोगाउन अनिवार्य गरिएको सुरक्षा उपाय  हो । तर दुर्भाग्यवश अन्तर्राष्ट्रिय कोषहरूमा यति धेरै प्रक्रियागत झन्झट  खडा गरिएका छन् कि पीडितले राहत पाउन वर्षौँ कुर्नुपर्छ । घर जलिरहेका बेला फाराम भराउने यो अमानवीय व्यवस्था अब खारेज हुनैपर्छ ।”
    विगतका कोप सम्मेलनहरूमा नेपालका मुद्दा राजनीतिक वक्तव्यबाजीमै हराउने गरेको तीतो अनुभव स्मरण गराउँदै राष्ट्रिय सभाको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ का सचिवसमेत रहनुभएका डा. पाण्डेले आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने ३१ औँ जलवायु सम्मेलनमा नेपाल बिल्कुलै नयाँ रणनीतिसहित प्रश्तुत हुने दाबी गर्नुभयो ।
    उहाँले दृढताका साथ भन्नुभयो, “विगतका कोपहरूमा हाम्रा कुराहरू राजनीतिक नाराका रूपमा मात्र उठे, तर तिनलाई स्थापित गर्ने वैज्ञानिक प्रमाण हामीसँग पुगेन । अब हामी खाली हात र खोक्रा नारा लिएर कोपमा जाँदैनौँ । संसद्को यो विशेष समितिले तयार पारेको प्रमाण र वैज्ञानिक तथ्यांकसहितको श्वेतपत्र लिएर नेपाल टर्किए पुग्नेछ । तथ्यमा आधारित भएर दाबी प्रश्तुत गर्दा मात्र हामीले विश्वबाट वास्तविक जलवायु न्याय र क्षतिपूर्ति लिन सक्छौँ ।” –न्युज एजेन्सी नेपाल

    १९. चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण
    चीनले बिहीवार उत्तरपश्चिमी चीनको सान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइटहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । बेइजिङ समयअनुसार४ः४६ बजे प्रक्षेपण गरिएको ‘याओगान–४० ०४’ समूहका उपग्रहहरूले आफ्नो पूर्व निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । चीनको अन्तरिक्ष अन्वेषणका लागि यो एक महत्वपूर्ण कदम मानिएको छ । संशोधित ‘लङ मार्च–६’ क्यारियर रकेटको सहायताले ती उपग्रहहरूलाई अन्तरिक्षमा पठाइएको हो । चिनियाँ अन्तरिक्ष निकायकाअनुसार यी उपग्रहहरूको मुख्य उद्देश्य इलेक्ट्रोम्याग्नेटिक वातावरणको पहिचान र सोसँग सम्बन्धित प्राविधिक परीक्षणहरू सञ्चालन गर्नु रहेको छ । यो प्रक्षेपण ‘लङ मार्च’ क्यारियर रकेट श्रृंखलाको ६७० औं मिसन हो । यसले चीनको अन्तरिक्ष प्रविधिमा हासिल गरिरहेको निरन्तर प्रगतिलाई पुनः एकपटक पुष्टि गरेको छ । केही वर्षयता चीनले पृथ्वीको अवलोकन तथा वातावरण अनुसन्धानका लागि दर्जनौं रिमोट सेन्सिङ स्याटेलाइटहरू प्रक्षेपण गरिसकेको छ । 
    विशेषज्ञहरूकाअनुसार याओगान श्रृंखलाका यी उपग्रहहरूले वातावरणीय तथ्याङ्क संकलनमा सघाउ पु¥याउनेछन्, जसले भविष्यमा वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रक्षेपणका क्रममा सबै प्राविधिक प्रक्रियाहरू सामान्य रूपमा सम्पन्न भएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २०. टर्कीको सानलिउर्फामा ५.४ म्याग्निच्युडको भूकम्पः मानवीय क्षति नभएको पुष्टि
    टर्कीको दक्षिणपूर्वी प्रान्त सानलिउर्फालाई केन्द्रबिन्दु बनाएर बिहीवार ५.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार भूकम्पको केन्द्रबिन्दु सानलिउर्फाको काराकोप्रु जिल्ला रहेको छ भने यो जमिनको ७.३ किलोमिटर गहिराइमा मापन गरिएको छ । भूकम्पको धक्का सानलिउर्फाका अतिरिक्त छिमेकी प्रान्तहरू आदियामान र गाजियन्टेपमा समेत महशुस गरिएको थियो । भूकम्पको झड्कासँगै स्थानीय बासिन्दाहरू त्रासित बनेका थिए । निजी प्रसारक एनटिभीका अनुसार भूकम्पपछि मानिसहरू घरबाहिर सडकमा निस्किएका थिए । स्थानीय प्रशासनले नागरिकहरूलाई संयमित रहन आग्रह गरेको छ । सानलिउर्फाका गभर्नर हसन सिल्दाकले टेलिभिजनमार्फत बोल्दै हाल घटनास्थलमा क्षतिसम्बन्धी मूल्यांकन भइरहेको बताएका छन् । 
    हालसम्म कुनैपनि गम्भीर भौतिक क्षति वा हताहतीको खबर नआएको भए तापनि विपद् व्यवस्थापन टोलीले प्रभावित क्षेत्रमा खोजी र निगरानी जारी राखेको छ । टर्की भौगोलिक रूपमा सक्रिय भूगर्भीय फल्ट लाइनमा अवस्थित रहेकाले यहाँ पटक–पटक भूकम्पको जोखिम रहँदै आएको छ । 
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २१. दिल्ली नजिकै गुडिरहेको बसमा आगलागीः ९ यात्रुको मृत्यु
    भारतको राजधानी दिल्ली नजिकैको यमुना एक्सप्रेसवेमा बिहीवार बिहान गुडिरहेको एक निजी यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । ग्रेटर नोएडा क्षेत्रमा भएको यस दुर्घटनामा परी ज्यान गुमाउनेमा ८ पुरुष र १ महिला रहेका छन् । स्थानीय प्रहरीका अनुसार दिल्लीबाट उत्तर प्रदेशको महोबा जिल्लातर्फ गइरहेको ‘स्लिपर’ बसमा बुधबार मध्यरातपछि एक्कासी आगलागी भएको हो । बसमा करिव ३५ जना यात्रु सवार रहेको बताइएको छ । एक्कासी बसभित्र आगोको मुस्लो देखिन थालेपछि यात्रुहरूबीच भागदौड र त्रासको वातावरण सिर्जना भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आगोको चपेटाबाट बच्न केही यात्रुहरू गुडिरहेको बसबाटै हाम्फालेका थिए । घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले आगलागीको नियन्त्रण र घाइतेहरूको उद्धार कार्य गरेको थियो । घटनामा परी ज्यान गुमाउनेहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
    आगलागीको यकिन कारण तत्काल खुल्न सकेको छैन । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै फोरेन्सिक टोलीलाई घटनास्थलमा बोलाइएको छ । टोलीले आगलागीको स्रोत र कारण पत्ता लगाउन प्रमाणहरू संकलन गरिरहेको छ । प्रारम्भिक अनुमानअनुसार प्राविधिक गडबडी वा सर्ट सर्किट आगलागीको कारण हुन सक्ने आशंका गरिएको छ, तर आधिकारिक पुष्टि भने अनुसन्धानपछि मात्र हुने बताइएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २२. पाकिस्तानको जवाफी हवाई आक्रमणः अफगान भूमिमा लक्षित कारबाही
    पाकिस्तानले बिहीवार अफगानिस्तानको भूभागमा रहेका ड्रोन लन्च साइटहरूलाई लक्षित गरी ‘प्रिसिजन एरियल’ र ‘ड्रोन स्ट्राइक’ गरेको छ । इस्लामावादले यस कदमलाई आफ्नो आत्मरक्षाको अधिकार भन्दै गत सेप्टेम्बर २३ मा पाकिस्तानी सीमामा भएका ड्रोन घुसपैठको जवाफी कारबाहीको रूपमा अथ्र्याएको छ । पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री अताउल्लाह तरारले बिहीवार बिहान सामाजिक सञ्जालमार्फत उक्त कारबाहीको पुष्टि गर्नुभएको हो । मन्त्री तरारका अनुसार, सेप्टेम्बर २३ मा पाकिस्तानी आकाशमा प्रवेश गरेका ड्रोनहरूलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले पहिचान गरी निस्तेज पारेको थियो । सोही घटनाको जवाफमा ‘स्वयं–रक्षा’ का लागि अफगानिस्तानका १० वटा सैन्य साइटहरूमा आक्रमण गरिएको उहाँको दाबी छ । मन्त्री तरारले प्रस्ट पार्नुभएको छ की आक्रमण केवल सैन्य उद्देश्यले र पूर्व–पहिचान गरिएका स्थानहरूमा मात्र केन्द्रित थियो । उहाँले अफगान सरकारलाई आफ्नो भूमि पाकिस्तान विरुद्ध हुने कुनैपनि शत्रुतापूर्ण गतिविधि रोक्न कडा चेतावनी समेत दिनुभयो । यता, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सैन्य कारबाहीको पुष्टि गर्नुभयो । टोलो न्युजकाअनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे दक्षिणी अफगानिस्तानको कान्दाहार सहरको नवौं जिल्लामा उक्त आक्रमण भएको थियो । मुजाहिदले आक्रमण मरुभूमि क्षेत्रमा भएको र हालसम्म कुनै मानवीय क्षति वा भौतिक सम्पत्तिको नोक्शानी नभएको जानकारी दिएका छन् । दुई छिमेकी राष्ट्रबीचको यस घटनाले सीमा सुरक्षा र दुई देशबीचको कुटनीतिक सम्बन्धमा नयाँ चुनौती थपेको छ । अफगानिस्तानले पाकिस्तानी दाबीबारे विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ, जबकि पाकिस्तानले सीमा सुरक्षामा कुनै सम्झौता नगर्ने अडान कायम राखेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २३. युद्धको चपेटामा गाजाको कृषिः तीन वर्षमा ९७ प्रतिशत जमिन उत्पादनविहीन
    प्यालेस्टाइनबीच तीन वर्षदेखि जारी द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र पूर्ण रूपमा धराशायी बनेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदनअनुसार गाजाको कुल कृषियोग्य जमिनमध्ये हाल केवल ३ प्रतिशत हिस्सा मात्र उत्पादनका लागि सुरक्षित र पहुँचयोग्य रहेको छ । युद्धपूर्व गाजाको अर्थतन्त्रको करिव १० प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र अहिले आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ । युद्ध शुरु हुनुअघि गाजा १५ हजार २ सय हेक्टर जमिनमा तरकारी र ७ हजार ७ सय हेक्टरमा विभिन्न रुखजन्य बाली लगाउँदै आत्मनिर्भरताको बाटोमा थियो । तर द्वन्द्वको तीन वर्षमा उक्त कृषि भूमि खुम्चिएर ४ सय ४८ हेक्टरमा सीमित भएको छ।्ल्लकृषि विज्ञ मोहम्मद अबु शमालाकाअनुसार आधारभूत कृषि सामग्री, पानी, बिजुली र इन्धनको चर्को अभावले यो क्षेत्र थप संकटमा परेको हो । सैन्य नियन्त्रण र ‘येलो लाइन’ भनिने सैन्य सीमा रेखाका कारण किसानहरूले आफ्नो पुख्र्यौली जग्गामा जानसमेत पाएका छैनन् । सुरक्षा जोखिम र कृषि रसायनको अभावमा उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको स्थानीय किसान मोहम्मद हसौनाले बताउनु भयो । यो द्वन्द्वले कृषिमा निर्भर करिव ५ लाख ६० हजारभन्दा बढी मानिसको जीविकोपार्जन खोसेको छ । हमास प्रशासनले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा ३ अर्ब ४९ करोड अमेरिकी डलर बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । जग्गाको पहुँच गुम्नु र दैनिक रूपमा हुने गोलाबारीले गाजाको खाद्य सुरक्षा व्यवस्था आगामी वर्षहरूका लागि समेत अनिश्चित बनेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २४. वेस्ट बैंकमा सवारी साधनले ठक्कर दिँदा अमेरिकी राजदुतका छोरा गम्भीर घाइते
    वेस्ट बैंकको रुट ४४३ मा एक सवारी साधनले ठक्कर दिँदा इजरायलका लागि अमेरिकी राजदुत यिचिएल लेइटरका छोरा नेरिया लेइटर गम्भीर घाइते भएका छन् । सैन्य रिजर्भिस्टका रूपमा कार्यरत लेइटर ड्युटीमा खटिएका बेला उक्त घटना भएको हो । इजरायली सुरक्षा अधिकारीहरूले यसलाई ‘कार–रमिङ’ आक्रमणका रूपमा व्याख्या गरेका छन् । प्रहरीकाअनुसार एक प्यालेस्टिनी चालकले चेकपोष्ट नजिकै खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी हुत्याएपछि सो घटना भएको थियो । लगत्तै जवाफी कारबाहीमा सुरक्षाकर्मीले ती चालकलाई गोली हानी मारेका छन्।्ल्लगम्भीर घाइते अवस्थामा रहेका नेरिया लेइटरलाई जेरुसेलमको सारि जेदेक अस्पतालमा भर्ना गरिएको छ । राजदुत यिचिएल लेइटरले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना छोराको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै ‘चमत्कारको आवश्यकता’ रहेको बताएका छन् । नेरियाका दाजु मोसे यदिद्या लेइटरको सन् २०२३ नोभेम्बरमा गाजामा सैन्य सेवाकै क्रममा मृत्यु भएको थियो । घटनापछि इजरायली सेनाले वेस्ट बैंकमा थप सुरक्षा सक्रियता बढाएको छ । इजरायली सैन्य प्रमुख इयाल जमिरले स्थितिको मूल्यांकन गर्दै ९८ औं डिभिजनलाई वेस्ट बैंकमा परिचालन गर्ने आदेश दिएका छन् । सेनाले यस कदमलाई कमाण्ड र नियन्त्रणलाई मजबुत बनाउने र रक्षात्मक तथा आक्रामक क्षमता अभिवृद्धि गर्ने रणनीतिक निर्णय भनेको छ । अक्टोबर २०२३ मा गाजामा युद्ध शुरु भएयता वेस्ट बैंकमा हिंसाका घटनाहरू निकै बढेका छन् । इजरायली सेनाको छापा, प्यालेस्टिनी पक्षबाट हुने आक्रमण र बसोबासीहरूको हिंसात्मक गतिविधिले यस क्षेत्रको सुरक्षा अवस्थालाई निकै चुनौतीपूर्ण बनाएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २५. समुन्द्री सतहको बढ्दो जोखिमबाट विश्वलाई जोगाउन गुटेरेसको अपिलः उत्सर्जन कटौती नै अन्तिम विकल्प
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समुन्द्री सतहको बढ्दो स्तरलाई मानव सभ्यताका लागि गम्भीर संकटको संज्ञा दिँदै यसको मूल कारण न्युनिकरणका लागि तत्काल ठोस कदम चाल्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । उहाँले सन् २०३५ सम्ममा विश्वव्यापी कार्बन उत्सर्जन ६० प्रतिशतले घटाउनुपर्नेमा जोड दिनुभएको हो । बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिन तत्काल उत्सर्जनको गति घटाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नवीकरणीय ऊर्जाको प्रयोगलाई तीन गुणा बढाउन र ऊर्जा दक्षतालाई दोब्बर बनाउन विकसित राष्ट्रहरूलाई आग्रह गर्नुभयो । ‘जी–२० राष्ट्रहरूले नेतृत्व लिनुपर्छ र टर्कीमा हुने कोप–३१ जलवायु सम्मेलनले प्रभावकारी नतिजा दिनैपर्छ ।’ उहाँल भन्नुभयो ।
    हाल करिव ७७ करोड मानिसहरू समुन्द्री तटको उच्च ज्वारभाटाको रेखाबाट ५ मिटरभन्दा कम उचाइमा बसोबास गरिरहेका छन् । यदि समयमै अनुकूलन र न्युनिकरणका उपायहरू अवलम्बन नगर्ने हो भने, सन् २१०० सम्ममा तटीय शहर र समुदायहरूले भोग्ने जोखिम दश गुणाले बढ्ने चेतावनी गुटेरेसले दिनुभएको छ । समुन्द्री सतहको वृद्धिले अर्थतन्त्र, व्यापार, पूर्वाधार र खाद्य प्रणालीमाथि नै प्रहार गरिरहेको छ ।
    सन् २०२४ मा समुन्द्री सतहको वृद्धि झन्डै ६ मिलिमिटर पुगेको छ, जुन अहिलेसम्मकै उच्च वार्षिक वृद्धि हो । इन्टरगभनमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) काअनुसार सर्वोत्तम अवस्थामा पनि शताब्दीको अन्त्यसम्ममा समुद्री सतह आधा मिटर बढ्ने निश्चित जस्तै छ । उत्सर्जनमा कटौती नभए यो वृद्धि एक मिटरसम्म पुग्न सक्ने आकलन गरिएको छ । 
    गुटेरेसले बढ्दो समुन्द्री सतहले कुनै राष्ट्रको भूमि डुबानमा परे पनि उनीहरूको राज्यको अस्तित्व र अधिकार समाप्त नहुने कानूनी पक्षमाथि पनि जोड दिनुभयो । 
    उहाँले भन्नुभयो, ‘समुन्द्री सतहको वृद्धि मिलिमिटरमा मापिन्छ, तर यसको क्षति करोडौँ मानिसको जीवन, उनीहरूको संस्कृति र भविष्यसँग जोडिएको छ । विश्वले अब ढिला नगरी यो संकटको जवाफ दिनुपर्छ ।’
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २६. पुराना दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा मधेस केन्द्रित राजनीति अघि बढ्न सक्दैनः रामकुमार शर्मा
    जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताउनुभएको छ । रोल...
    शुक्रवार काठमाडौंमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेशवादी दलहरु विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा लागेको आरोप लगाउनु भयो । नेताहरुको केन्द्रिकृत सोच र अहंकारको कारण मधेश प्रदेशको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले मधेस, थरुहट तथा उत्पीडित समुदायको राजनीतिलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले गत वर्र्षको जेन–जी आन्दोलनपछि संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेसी शक्तिहरूबीच एकताका लागि पटक–पटक प्रयास भएपनि केही नेतृत्वको हठ, अहंकार र पदप्रतिको आसक्तिका कारण एकता हुन नसकेको बताउनु भयो । त्यसको परिणामस्वरुप गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस केन्द्रित दलहरूले शुन्यतामा झरेको उहाँको भनाइ छ । उहाँले दलहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै पुरानो नेतृत्वले मार्गदर्शक सल्लाहकारको भुमिका निर्वाह गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । मधेसी नेताहरुमाथि लागेको भ्रष्टाचार तथा अनियमितताको आरोपले समेत मधेसलाई नैकित बल मिल्न नसकेको उहाँको दाबी छ ।
    उहाँले भन्नुभयो, ‘जेन–जी मुभमेन्ट लगत्तै संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध सबै मधेशीहरु बीच एकताको धेरै प्रयासहरु भए । तर केही नेतृत्व वर्गको हठ, अहंकार र पदप्रतिको आसक्तिले तात्कालिन समयमा एकीकरण सम्भव भएन र चुनावमा पनि न मोर्चाबन्दी रह्यो न एकल चुनाव चिन्ह प्रयोग गरेर चुनावमा भाग लिए । परिणामस्वरुप गत चुनावमा मधेस केन्द्रित सबै राजनीतिक दलहरुको लज्जास्पद हार भयो, अस्तित्व माथि नै प्रश्न उठ्न थाल्यो । निर्वाचनको परिणाम पछि दबाब स्वरुप सबै मधेश केन्द्रित दलहरुले एकीकरण र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको अभियान नै चल्यो । तर शुन्यतामा पुगेपछि पनि केही नेतृत्वकर्ताले जनभावना र समयको पदचापलाई अनुभूति गर्न चाहेनन् र फेरि एकचोटी एकीकरणको प्रयास विफल भयो । यस्तो अवस्थामा केही दलका नेतृत्वकर्ता एवं प्रायः सबै पार्टीका दोस्रो–तेस्रो पुस्ताका नेताहरु र केही नागरिक समाजका अगुवा तथा बुद्धिजीवीहरुले बारम्बार संयुक्त रुपमा बसी के निष्कर्ष निकाले भने अबको समयमा कुनै एउटा पुरानो पार्टीको नेतृत्वमा, पुराना टेस्टेड नेताहरुको नेतृत्वमा मधेस, थरुहट वा उत्पीडितहरुको राजनीति अगाडि बढाउन सकिने अवस्था छैन । समाजमा युवा पुस्ताको नेतृत्वले अगाडि बढ्नुपर्ने र पुराना नेताहरु मार्गदर्शक, सल्लाहकार र अभिभावकको रुपमा सहयोग गर्नुपर्ने हुन्छ । तसर्थ पुराना नेताहरुले गरेका राम्रा कामहरुको कदर गर्दै एउटा साझा शक्तिशाली राजनीतिक संगठन निर्माणको औचित्य र आवश्यकता महसुस गरी यो अभियान सञ्चालन गर्ने र सबैलाई स्वीकार गर्न कठिन नहुने सक्षम, इमानदार र योग्य युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै समय सापेक्ष मुद्दा, एजेण्डा, सिद्धान्त र आफ्नो मौलिक विचारको आधारमा भूराजनीतिलाई सन्तुलित राखि अगाडि बढ्नुपर्ने हाम्रो ठोस निष्कर्ष छ ।’
    बाइट...रामकुमार शर्मा, केन्द्रीय अभियान्ता, हुंकार मधेश अभियान
    उहाँले मधेसको राजनीतिलाई एकतावद्ध बनाई पुनर्जागरण गर्नु हुंकार अभियानको लक्ष्य रहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल


    २७. वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
    विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिएको छ । रोल....
    शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो । अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्ताहरुलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताउनु भयो । उहाँले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताउनु भयो । उहाँले मधेश केन्द्रित राजनीतिक दलहरुसँग एउटै दल बनाएर अघि बढ्न आफूहरुले राखेको प्रश्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको बताउनुभयो । राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनस्र्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा मान्छेहरुले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्न थालेका छन् । आज कुनैपनि बाआमाले आफ्ना छोराछोरी राजनीतिमा लागोस् भन्ने चाहँदैन ।जब कि राजनीतिको बारेमा प्लेटोले के भनेको छ भने कि राजनीति गर्ने मान्छे दर्शनशास्त्री हुनुपर्छ ।  कि त दर्शन शास्त्री नै नेता बन्न आउनुपर्छ । राजनीतिमा लाग्ने मान्छे त्यस समाजको सबैभन्दा ज्ञानी व्यक्ति हुनुपर्छ भन्ने मान्यता छ । हाम्रो समाजमा सबैभन्दा ज्ञानी व्यक्ति नेता छैन । आजको दिनमा हाम्रो समाजमा नेता कस्तो छ ? मैले अघि नै भने ब्याक बेन्चरहरु नेता बन्न आएको छ । त त्यसले गर्दा खेरि राजनीतिको त्यो जुन सबैभन्दा विद्वान व्यक्ति आएर राजनीति गर्नुपर्छ भन्ने जुन मान्यता थियो त्यो नभएको हुनाले राजनीति ट्रयाकबाट आउट भएको छ । राजनीति ट्रयाकमा छैन । राजनीतिप्रति जनतामा वितृष्णा पैदा भएको छ । राजनीति गर्ने नेतालाई हेर्न बित्तिकै आदरले शिर निहुरिनु पर्छ । त्यस्तो खालको नेता हुनुपर्छ नेता । हामी यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौँ ।’
    बाइट....केशव झा, युवा नेता
    उहाँले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - २०:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij