२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकमा यातायात सेवा प्रभावित भएको छ।
बागमती प्रदेशका धेरै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको भटेडाँडा र गोदावरीको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ बन्द भएको छ। काभ्रेको रोशी गाउँपालिका–स्थित किम्तिबेँसीमा पहिरो जाँदा बिपी राजमार्गसमेत अवरुद्ध छ। उक्त सडकमा असोज ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
चितवनतर्फ नारायणगढ–मुग्लिन सडकमा अर्को सूचना जारी नभएसम्म रात्रिकालीन आवागमन रोकिएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र सञ्चालनमा छन्। धादिङको बेनीघाट र कृष्णभिर क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। रसुवाका मुख्य सडकहरू पनि बन्द छन् भने मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पहिरोका कारण यातायात प्रभावित भएको छ।
कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि बाढी–पहिरोले सडक सञ्जाल प्रभावित बनाएको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्गमा यातायात सञ्चालन हुन सकेको छैन। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा समेत रात्रिकालीन यातायातमा रोक लगाइएको छ।
सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै असोज १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन तथा पैदलयात्रामा रोक लगाइएको छ। दोलखा र सिन्धुपाल्चोकका सडकमा पनि रातको समयमा यात्रा गर्न रोक लगाइएको छ।
गण्डकी प्रदेशमा मनाङ र कास्कीका सडकमा समेत यात्रा प्रभावित भएको छ। मनाङको नासो गाउँपालिकास्थित खोत्रोमा पहिरो गएपछि चामे–बेँसीसहर सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। बेँसीसहर–खाङ्सार सडकमा असोज १२ गतेसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कास्कीका ग्रामीण सडकमा पनि असोज ११ गतेसम्म रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ।
बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। सडकको अवस्था हेरेर यात्रा गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न पनि अनुरोध गरिएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij