२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । दर्शकवृन्द, इन्द्रजात्राको अवसर पारेर पहिको युवा क्लवले काठमाडौं नयाँबजारस्थित पहिक्वः टोलमा विशेष सांस्कृतिक जात्रा आयोजना गरेको छ । नेवाः समुदायको मौलिक भाषा, संस्कृति, कला तथा सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित जात्रामा विभित्र परम्परागत नाच तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिइयो ।
क्लवका अनुसार २०८३ असोज ८ गते बिहीबार धिमे बाजाका साथै लाखे आजु नाच, पुलुकिसि, हल्चोक आकाश भैरव र सवा द्यः नाच प्रस्तुत गरिएको थियो । परम्परागत बाजागाजा र सांस्कृतिक विधिसहित प्रस्तुत गरिएका यी नाचले स्थानीय क्षेत्रमा इन्द्रजात्राको सांस्कृतिक रौनक थपेको थियो । त्यसैगरी, क्लवले २०८३ असोज ११ गते आईतबार पहिक्वः टोलमै महाकाली नाच प्रदर्शन गर्ने भएको छ । महाकाली नाच हेर्न स्थानीय बासिन्दा तथा संस्कृति र परम्पराप्रति रुचि राख्ने दर्शकहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
पहिको युवा क्लवले इन्द्रजात्राजस्तो मौलिक सांस्कृतिक पर्वका अवसरमा परम्परागत नाच, जात्रा तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ । नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति, परम्परा र सम्पदासँग जोड्दै त्यसको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुर्याउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्लवका अध्यक्ष सानुराजा महर्जनको भनाइ छ ।
नेवाः समुदाय भाषा, संस्कृति, कला, परम्परा र सम्पदाका दृष्टिले समृद्ध समुदायका रूपमा परिचित छ । पुस्तौँदेखि चलिआएका जात्रा, पर्व, नाच तथा सांस्कृतिक गतिविधिले नेवाः समुदायको मौलिक पहिचानलाई जीवन्त राख्दै आएका छन् । यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक परम्पराको संरक्षणसँगै स्थानीय समुदायबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत मजबुत बनाउने विश्वास क्लवका अध्यक्ष सानुराजा महर्जनले व्यक्त गरे । इन्द्रजात्राका अवसरमा आयोजना गरिएको विशेष सांस्कृतिक जात्राले नयाँ पुस्तामा मौलिक कला, संस्कृति र सम्पदाप्रति रुचि बढाउन सहयोग पुग्ने दावी अध्यक्ष महर्जनको रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij