२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौंबाट बाहिरिने सवारीसाधन बल्खु क्षेत्रमा रोकिएका छन् ।
धादिङतर्फ राजमार्गका सात स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तीमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो । लगातारको वर्षाका कारण पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने काम प्रभावित भएको प्रहरीले जनाएको छ ।
राजमार्गको अवस्थालाई ध्यानमा राख्दै काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई उपत्यकामै होल्ड गरिएको छ । सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij