२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर सडक हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
ललितपुरको च्यासलस्थित पुललाई बाढीले छोएपछि ट्राफिक प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न अनुरोध गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार खोला–नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रमा निगरानी बढाइएको छ । नदी तथा खोला किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन हटाउनसमेत भनिएको उनले बताए ।
च्यासल पुललगायत जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गरिएको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव थप बढ्न सक्ने भएकाले करिडोर तथा नदी किनारका सडकमा अनावश्यक आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । उक्त प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले आगामी दिनमा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij