२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो, लेदो र सडक भासिने क्रमका कारण देशभर १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले शुक्रबार बिहान १० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको हो ।
सबैभन्दा बढी बागमती प्रदेशमा १० वटा सडकखण्ड प्रभावित भएका छन् । रसुवाको बारा घुम्ती–रसुवागढी, त्रिशूली–बेत्रावती–रसुवागढी र मैलुङ–स्याफ्रुबेंसी सडक तथा धादिङको गजुरी–२ फुर्केखोलामा बाढीका कारण भदौ १० गतेदेखि नै सडक अवरुद्ध छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–७ कृष्णभिर र तिङराङखानीमा पहिरो तथा चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिएपछि यातायात रोकिएको छ । यस्तै, कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो तथा मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा लेदोका कारण सडक अवरुद्ध भएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी–७ चारसयवेशी र रोशी–८ गिम्दीवेशीमा पनि पहिरोका कारण आवागमन बन्द छ ।
कोशी प्रदेशमा ओखलढुंगाको मानेभञ्ज्याङ–६ भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्ग तथा सुनसरीको बराहक्षेत्र–१ गुप्तबराहमा पहिरो खस्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेशमा गुल्मीको कालिगण्डकी करिडोर र रोल्पाको घोराही–थवाङ सहिदमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको मन्त्रालयले जनाएको छ ।
वर्षा जारी रहेकाले अवरुद्ध सडकखण्डमा थप क्षति हुन सक्ने भन्दै सम्बन्धित निकायले सडकको अवस्था निगरानी गरिरहेका छन् । यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै आवागमन गर्न आग्रह गरिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij