२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक सुरक्षाका लागि निर्माण गरिएको ग्याबियन वाल भासिएको छ । लगातारको वर्षाका कारण पुरानो सडकको नदीतर्फको ग्याबियन वाल केही तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
ग्याबियन वाल भासिएपछि त्यसको असर केही समयअघि सञ्चालनमा ल्याइएको नयाँ ट्र्याकमा समेत पर्न सक्ने जोखिम देखिएको छ । नयाँ ट्र्याकभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको र यसले नयाँ ट्र्याकलाई असर गर्न सक्ने डीएसपी दाहालले बताए ।
सडक विभागले पनि कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको पुष्टि गरेको छ । विभागका अनुसार हाल सञ्चालनमा रहेको सडकमाथिको स्लोपमा भने कुनै समस्या देखिएको छैन । सडकको अवस्था प्रोजेक्ट टिमले निरन्तर निगरानी गरिरहेको विभागले जनाएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतले नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियनको भाग नै भासिएर खसेकाले सडक अत्यन्त जोखिमपूर्ण बनेको बताएका छन् । उनले कृष्णभिर हुँदै यात्रा नगर्नसमेत यात्रुलाई आग्रह गरेका छन् ।
गत १० र १४ भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग लामो समय अवरुद्ध भएको थियो । कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij