Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन


  • 512
    Shares

    कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन
    images

    काठमाडौं । जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ।

    बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ।

    निरन्तरको वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए। यद्यपि इन्द्रसरोवरमा हाल जलसतह सामान्य अवस्थामा रहेको जानकारी दिँदै उनले आज एक हजार ५२२.२५ मिटरमा जलसतह रहेको बताए। कार्यालयका तर्फबाट जलसतह एक हजार ५२७ मिटर भएका अवस्थामा पहिलो चेतावनीयुक्त साइरन बजाइने उनले जानकारी दिए।

    जलसतह एक हजार ५२८ पुगेका अवस्थामा दोस्रो चेतावनीसहित केही लामो साइरन बज्ने जानकारी दिँदै उनले त्यसभन्दा माथि जलसतह भएका अवस्थामा निरन्तर लामो समयसम्म साइरन बजाइने जानकारी दिए। साइरनको सङ्केतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने उनले बताए।

    सम्भाव्य बाढीको जोखिमलाई दृष्टिगत गरी बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले जलाशय क्षेत्रको स्थलगत रूपमा अवलोकन गर्दै सरोकारवालासँग छलफलसमेत गरेको थियो।

    भारी वर्षाको प्रक्षेपण भएका अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ। मकवानपुरको हेटौँडा र आसपासमा बिहानदेखि निरन्तर पानी परिरहेको छ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १५:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij