२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । झापाको मेचीनगरस्थित एक बङ्गुर फार्ममा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ। ललितपुरबाट बेपत्ता भएका एक व्यक्तिको खोजी तथा अनुसन्धानका क्रममा प्रहरीले उत्खनन गर्दा उक्त कङ्काल फेला भेटिएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मणिखेल ९हाल महाङ्काल गाउँपालिका–१० का दिलनाथ बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि श्रीमती तुलसा बजगाईँले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन्।
अनुसन्धानका क्रममा दिलनाथसँगै उठबस रहेका म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भनिने गुप्तबहादुर सिंहमाथि शङ्का लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सिंहले देखाएको ठाउँको आधारमा प्रहरीले बुधबार मेचीनगर-७ भान्साखोलामा उत्खनन गरेको थियो। सिंहले स्थानीय जयप्रसाद तिवारीको जग्गा भाडामा लिएर बङ्गुर फार्म सञ्चालन गर्दै आएका थिए ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी बङ्गुर फार्मभित्र उत्खनन गर्दा मानव आकृतिको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
फेला परेको कङ्काल बेपत्ता दिलनाथ बजगाईँकै हो वा अरू कसैको भन्नेबारे यकिन हुन बाँकी छ। बरामद कङ्काललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने डीएनए पहिचानलगायतका परीक्षणका लागि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बङ्गुर फार्म सञ्चालक गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij