Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

बस आगजनी घटनामा छानबिन गर्न पूर्वाधार समितिको निर्देशन

बस आगजनी घटनामा छानबिन गर्न पूर्वाधार समितिको निर्देशन


  • 386
    Shares

    बस आगजनी घटनामा छानबिन गर्न पूर्वाधार समितिको निर्देशन
    images

    काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकको मृत्यु भएको घटनाबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न संसदीय समितिले निर्देशन दिएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेबिच भएको छलफलमा घटनाको वास्तविक कारण र परिस्थितिबारे गम्भीर अनुसन्धान गर्न निर्देशन दिइएको हो।

    सभापति गजुरेलले निष्पक्ष अनुसन्धान गरी घटनाको यथार्थ बाहिर ल्याउन र छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। छलफलमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। गजुरेलले ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ लैजान आवश्यक तयारी अघि बढाइएको जानकारी दिए।

    यस्तै, सडकमा खटिने ट्राफिक प्रहरीको सेवा प्रवाहलाई मर्यादित र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ। ट्राफिक प्रहरीको व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न निर्देशन दिइएको छ। सडकमा खटिने प्रहरीको मानसिक स्वास्थ्य तथा मनोवैज्ञानिक तयारीलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै ट्राफिक प्रहरीका लागि मनोवैज्ञानिक कक्षा र आवश्यक परामर्श कार्यक्रम सञ्चालन गर्न सभापति गजुरेलले निर्देशन दिएका छन्।

    छलफलमा एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनका चुनौतीबारे जानकारी गराएका थिए। उनका अनुसार उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् भने ट्राफिक व्यवस्थापनका लागि करिब १ हजार ३ सय प्रहरी परिचालनमा छन्। बढ्दो सवारी चाप र सीमित जनशक्तिबाट उत्पन्न चुनौती समाधान गर्न ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउँदै लैजानुपर्नेमा छलफलमा जोड दिइएको छ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १३:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij