२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको छ ।
कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीलगायत सबै गतिविधि तत्काल प्रभावबाट स्थगित गरिएको जनाएको हो ।
कलेजले हालको शैक्षिक तथा संस्थागत अवस्थालाई ध्यानमा राख्दै प्रथम वर्षका आवासीय चिकित्सकलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक अनुरोधसमेत गरिसकेको जनाएको छ ।
यसैबीच, कलेजले सम्बन्धित चिकित्सकहरूलाई सूचना जारी भएको १२ घण्टाभित्र छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको छ । उनीहरूलाई कलेजको सम्पूर्ण सम्पत्ति प्रशासन वा छात्रावास कार्यालयमा बुझाई व्यक्तिगत सामानसमेत हटाउन भनिएको छ ।
कलेज प्रशासन तथा प्रधानाचार्य कार्यालयले अर्को सूचना जारी नभएसम्म निर्णय कार्यान्वयनमा रहने जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij