२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ प्रतिनिधिले जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सुझाव दिएका छन् ।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालले भोगिरहेको विपद् तथा जलवायु संकटलाई महासभामा प्राथमिकताका साथ उठाउन प्रधानमन्त्री शाहलाई आग्रह गरेका हुन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनीहरूले खोज, उद्धार र पुनर्स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सुझाव दिएका छन् ।
साथै, जलवायुजन्य विपद्बापत नेपालले माग गरेको २ करोड अमेरिकी डलरको ‘हानि तथा क्षति’ दाबी सम्बोधनका लागि पहल गर्न तथा बाढी प्रभावितको पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र अन्तरदेशीय पूर्वसूचना प्रणालीका लागि अन्तर्राष्ट्रिय अनुदान जुटाउन आग्रह गरिएको छ ।
अधिकारकर्मीहरूले नेपालले विगतमा उठाउँदै आएका जलवायु न्यायका मुद्दा तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई महासभामा प्रस्तुत गर्न र स्वदेशमा पनि विपद् जोखिम न्यूनीकरण तथा पुनर्स्थापनाको विस्तृत कार्ययोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij