२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । घाइते हुनेमा कटहरिया नगरपालिका–८, बलुवा टोलका २० वर्षीय राजगीर यादव रहेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक दुर्घटना भएको हो । निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । मोटरसाइकलमा पछाडि सवार राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित शिविल अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्देशको मृत्यु भएपछि राजगीरलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij