२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । सुरक्षाकर्मीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) मा दुई प्रतिशत कोटा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी बुधबार संसदमा गराए ।
यससँगै सुरक्षाकर्मीले वैदेशिक रोजगारी, स्थानीय प्रभावित लगायतलाई जस्तै गरी आईपीओ निष्काशन सुनिश्चित हुनेछ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डसँग प्रारम्भिक छलफल चलाएको छ । मन्त्रिपरिषद्ले निर्णय गर्ने वा धितोपत्र बोर्डले नियमावलीमार्फत कार्यान्यवनमा लैजाने भन्ने दुई विकल्प ऊर्जा मन्त्रालय छलफल गर्दै छ ।
सुरक्षा निकायका निम्ति आईपीओमा दुई प्रतिशत सुनिश्चित गर्न विद्युत् नियमन आयोगले कार्यविधि तयार सुरु गरेको आयोगका अध्यक्ष रामप्रसाद धितालले जानकारी दिए ।
यसअघि धितोपत्र बोर्डसँग छलफल भएको र आयोगले कार्यविधि बनाएर सिफारिस गर्ने र त्यसका आधारमा बोर्डबाट नियम वा विनियममार्फत लागु हुने धिताल बताउँछन् ।
“यसअघि पनि छलफल भएको हो । बोर्डसँग पनि हामी छलफलमा छौं,” धितालले भने, “कार्यविधि बनाउन लागेका छौं । १५ दिनजति लाग्छ । त्यसपछि बोर्डले आफ्नो काम गर्छ ।”
आयोगको सिफारिसपछि धितोपत्र बोर्डले कार्यन्यवनमा लैजाने उनले बताए ।
प्रतिनिधिसभामा मन्त्री श्रेष्ठले जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा सुरक्षाकर्मीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढेको जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij