२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारी सञ्चारमाध्यम तथा संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत प्रस्तावित राजदूतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
समितिले उजुरीका लागि १० दिनको समय तोकेको छ । प्राप्त उजुरीमाथि छलफल गर्न समितिको बैठक असोज २० गते बिहान सवा ११ बजे बस्ने तय भएको छ ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई राजदूतमा सिफारिस गरेको छ ।
त्यस्तै जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) लिन पठाइनेछ । एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij