२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भेगमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यस्तोमा सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तह र सुरक्षा निकायसम्मले पनि पूर्वतयारी तीव्र बनाएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म भारी वर्षा हुने सम्भावना छ । असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार ठुलो वर्षाको जोखिम देखिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली नेपालतर्फ प्रवेश गर्दा वर्षा बढ्न सक्ने विभिन्न मौसम मोडलले देखाएको बताइएको हो ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै सुदूरपश्चिमका जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायले उद्धार तथा राहतका लागि आवश्यक तयारी अघि बढाएका छन्। बाजुरामा बाढी तथा पहिरोको जोखिममा रहेका १३० भन्दा बढी बस्तीका नागरिकलाई सचेत गराइएको छ। मार्तडी–साफेबगर सडकखण्डमा रातिको आवागमन रोक्ने विषयमा समेत छलफल भइरहेको प्रशासनले जनाएको छ।
दार्चुलामा व्याँस गाउँपालिका–४ मडगाउँका जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। नदी तटीय क्षेत्र र बजारमा निगरानी बढाइएको छ भने सम्भावित सडक अवरोधलाई ध्यानमा राख्दै खाद्यान्न मौज्दात गर्न भनिएको छ।
कैलाली र कञ्चनपुरमा कर्णाली, मोहना लगायत नदीको बहाव निगरानी गरी जोखिमयुक्त बस्तीलाई समयमै सूचना दिने तयारी गरिएको छ। पहाडी जिल्लामा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने भएकाले स्काभेटर तथा उद्धार टोली तयारी अवस्थामा राखिएको छ।
प्रदेशको मनसुन पूर्वतयारी योजनाअनुसार सुदूरपश्चिमका करिब ७ हजार ६ सय ३ घरधुरीका ३२ हजार २ सय २७ जना मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको सूचना पछ्याउँदै सतर्क रहन आग्रह गरेको छ। जोखिम बढेमा रेडियो, एसएमएस, माइकिङ तथा स्थानीय समुदायमार्फत तत्काल सूचना प्रवाह गर्ने तयारीसमेत गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij