२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । रसुवाको टुम्मुरेमा भोटेकोसी बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका धामी २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार दार्चुलाको लेकम गाउँपालिका–३, लालीस्थित आर्यघाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
दार्चुलाको लेकम गाउँपालिका–४ का धामी नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। बाढीपछि उनको खोजी जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।
धामीको अन्त्येष्टिमा नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति राजकुमार थापासहितको टोली सहभागी भएको थियो। सैनिक टोलीले उनलाई सलामीसमेत अर्पण गरेको परिवारले जनाएको छ।
यसअघि धामीका छोराले डीएनए परीक्षणका लागि रगतको नमुना दिएका थिए। डीएनए रिपोर्ट आउन अझै समय लाग्ने भएपछि परिवारले कुशको शव बनाएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij