२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं सीआईबीको हिरासतमा छन् ।
केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनी ठगेको आरोपमा उनीसँगै दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी पनि पक्राउ परेकी छन् ।
रोमछापको सुनापति गाउँपालिका–१ घर भएका कांग्रेस नेता चौलागाईं आसोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका हुन् । वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्रमार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौलागाईं र बालिका सिवकोटीले रकम असुल गरेका हुन् । सिवाकोटी पत्रकार हुन् ।
उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमार्फत मन्त्रिपरिषद्बाट निर्णय गराएर पठाउँछौँ भनेर पीडिहरूलाई विश्वासमा पारेका थिए । त्यसपछि पीडितहरू इजरायलमा जाँदा कमाइ हुने एक महिनाको तलब बराबरको रकम दिन राजी भएका थिए ।
रकम उठाएर पीडितहरूले बालिका सिवाकोटीलाई बुझाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट २ करोड ५० लाख रकम असुल गरेको भेटिएको छ । शिवाकोटीले आफूले उठाएको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । प्रहरीसँगको बयानमा उनले भनेकी छन्, ‘डेढ करोड रुपैयाँ भरत चौलागाईंलाई गौशालामा भेटेर बुझाएको हुँ ।’
भदौ १८ मा रकम बुझेर चौलागाईं कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि रामेछाप पुगे । चौलागाईं रामेछापको जिल्ला सभापतिका दाबेदार हुन् । रकम बुझाएपछि काम हुन्छ भनिए पनि ढिलो भएसँगै पीडितहरू आक्रोशित भए । मन्त्रिपरिषद्बाट पनि त्यसबारे निर्णय नभएको बुझेपछि पीडितहरूले सिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौँ नजिकैको एउटा रिसोर्टमा लगेर राखेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले बताए ।
त्यसपछि सिवाकोटीले चौलागाईंलाई सम्पर्क गरेर काम छिटो टुंग्यादिन आग्रह गरिन् । चौलागाईंले उनलाई फोनमा जवाफ दिए, ‘मैले कुमार बेनसँग कुरा गरेको छु, काम चाँडै हुन्छ ।’ सो अडियो पीडितहरूले सीआईबीमा बुझाएका छन् ।
आरोपीहरूले कुमार बेनलाई ‘मिलाएका छौं’ भनेर आश्वास्थ पारेपछि १५६ जना पीडितले रकम दिन सहमति गरेका थिए । तर आरोपी चौलागाईंले रकम लिएको कुरा अस्वीकार गरेका छन् । आफू जग्गाको काम गर्ने हुनाले ऋणबापत सिवाकोटीसँग केही रकम लिएको अनुसन्धान अधिकृतहरूसँग चौलागाईंले बताएका छन् ।
चौलागाई र सिवाकोटीलाई दोस्रो पटक काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । उनले भने, ‘बयानलगायत काम हुँदै छ, अनुसन्धान टुंगिएको अवस्था छैन ।’
जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ।
इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौँको बसन्तपुर क्षेत्रमा पुगेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij