२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आगामी असोज ८ देखि १२ गतेसम्म भारी वर्षा, बाढी तथा पहिरोको जोखिम उच्च रहेको भन्दै अत्यावश्यक कामबाहेक लामो दूरी र रातिको यात्रा नगर्न आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वसूचनालाई आधार बनाउँदै महासङ्घले यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन अपिल गरेको हो ।
महासङ्घले सवारी सञ्चालन गर्नुअघि सम्बन्धित रुटको सडक तथा मौसमको अवस्था अनिवार्य रूपमा बुझ्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । जोखिमयुक्त सडकमा अवरोध हटाउन डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।
त्यस्तै, बाढी आउन सक्ने खोला–खहरे आसपास तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई पूर्वसूचनाअनुसार सुरक्षित स्थानमा सार्न र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई महासङ्घले आग्रह गरेको छ ।
महासङ्घका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिनेछ ।
महासङ्घले मौसम विभाग र प्राधिकरणबाट जारी हुने पूर्वानुमान तथा चेतावनी नियमित रूपमा हेर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij