Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

संसद्‍मा उठ्यो यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा

संसद्‍मा उठ्यो यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा


  • 78
    Shares

    संसद्‍मा उठ्यो यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा
    images

    काठमाडौं ।  संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्। 
    प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक, सुन्य र विशेष समयमा बोल्ने सांसदहरूले  त्रिपुरेश्वरमा सवारी चालक अर्जुन दोङ तामाङले गरेको आत्मदाहको घटना र सडकका खाल्डाखुल्डी तथा अव्यावहारिक नियमन प्रणालीबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, रास्वपाका सचेतक प्रकाशचन्द्र परियार, सांसदहरू क्रान्तिशिखा धिताल, आशिका तामाङ, आरेन राई र यज्ञमणि न्यौपाने लगायतले यातायात क्षेत्रमा देखिएको अराजकतालाई राज्यको असफलताका रूपमा चित्रण गरे।

    सांसदहरूले ट्राफिक प्रहरीको नियमनकारी भूमिका सहयोगी भन्दा दमनकारी बन्दै गएकोमा चिन्ता व्यक्त गरे । सांसद धिताल र तामाङले ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध मर्यादित हुनुपर्ने र बडी क्यामेराको व्यवस्था गर्नुपर्ने माग गरे।

    सांसद तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ मा रहेको झन्झटिलो व्यवस्थाको आलोचना गरिन्। जरिवाना चित्त नबुझे महानिर्देशकलाई भेट्न काठमाडौँ धाउनुपर्ने नियमले मजदुरहरूलाई प्रताडित बनाएको उनको भनाइ छ।

    प्रमुख सचेतक दुलालले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने र चालकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरे।

    सांसद रचना खत्री खतिवडा र आरेन राईले आत्मदाहको घटनालाई गम्भीर मनोसामाजिक समस्याका रूपमा व्याख्या गरे। खतिवडाले आफ्नो व्यक्तिगत पीडालाई जोड्दै अब कुनै पनि आमाले आफ्नो सन्तान गुमाउन नपर्ने वातावरण बनाउन सरकारलाई खबरदारी गरिन्। राईले युवा पुस्तामा बढ्दो निराशाको कारण खोज्न सरकार असफल भएको आरोप लगाए।

    रास्वपा सांसद यज्ञमणि न्यौपानेले सरकारका काममा न्यायालयको अनावश्यक हस्तक्षेप बढेको भन्दै आक्रोश पोखे। उनले अराजक स्वतन्त्र न्यायालयले देशलाई सही बाटोमा लैजान नसक्ने भन्दै न्यायाधीशहरूको सम्पत्ति छानबिन र न्यायिक पुनर्संरचनाको माग गरे। ‘यदि सरकारले गर्न खोजेको सुशासनमा न्यायालय बाधक बन्छ भने त्यो बाधकलाई पन्छाउने आँट सरकारले गर्नुपर्छ,’ उनले भने।

    कांग्रेस सांसद सिता थपलिया (उर्मिला) ले लोकतन्त्रमा सरकारले असहज प्रश्न र आलोचना सहने तागत राख्नुपर्ने बताइन्। उनले साइबर कानुनको आडमा विचारलाई बन्दी बनाउने काम नगर्न सरकारलाई चेतावनी दिइन्। साथै, धादिङ र गोरखालाई जोड्ने त्रिशूली नदीको पुल २८ दिनदेखि बगेको विषयमा सरकारको उदासिनताप्रति उनले आक्रोश पोखिन्।

    रास्वपा सचेतक प्रकाशचन्द्र परियारले दसैँको यात्रालाई व्यवस्थित बनाउन सरकारलाई तीनबुँदे माग गरे। उनले खाल्डाखुल्डी पुरेर, भाडादर नियन्त्रण गरेर र अग्रिम टिकट बुकिङलाई पारदर्शी बनाएर मात्रै नागरिकले दसैँमा सुरक्षित यात्रा गर्न सक्ने बताए। 
    ‘आगलागीपछि कुवा खन्ने शैली नबदल्ने हो भने बालेन सरकारको के अर्थ ?’ भन्दै उनले व्यङ्ग्य गरे।

    सांसद टीका संग्रौला (ज्वाला) ले बुढीगंगा जलविद्युत आयोजनाको दुर्दशाबारे सरकारलाई प्रश्न गरिन्। ‘२९ वर्षदेखि कागजमै सीमित आयोजना कहिले बन्छ ?’ भन्दै उनले सुदूरपश्चिमका जनतालाई अन्धकारमा राख्ने सरकारको कार्यशैलीप्रति कडा आक्रोश पोखिन्।
    नागरिकले सडक, न्याय, रोजगारी र सुरक्षामा राज्यको उपस्थिति खोजिरहेका छन्। सरकारले अब मूकदर्शक बनेर होइन, यस्ता गम्भीर प्रश्नहरूको जवाफ दिँदै ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्ने खाँचो सांसदहरूले औँल्याएका छन्।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij