Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बागमतीमा भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

बागमतीमा भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह


  • 295
    Shares

    बागमतीमा भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

    प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ। मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको उच्च जोखिम रहेको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बताइएको छ। नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

    त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुपन्छी, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार प्रदेश सरकारले मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १६:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij