२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कुटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कुटनीतिक शाखा’ स्थापना गरेको छ ।
जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकोले जलवायु कुटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले शाखाले कुटनीतिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्यांक संकलनको कार्य समेत समानान्तर रुपमा गर्ने बताएका छन्।
उनकाअनुसार जलवायु कुटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ । प्रवक्ता क्षेत्रीले जलवायुजन्य विपद्को डेटा संकलनको लागि शाखाले नेपालमा रहेको जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने निकायहरुसँग समेत समन्वय गर्नेछ ।
जलवायु परिवर्तन र त्यसका प्रभावका विषयमा विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन शाखा स्थापना उनको भनाइ छ । उनले संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी उक्त शाखा खडा गरिएको पनि बताएका छन् ।
प्रवक्ता क्षेत्रीले यस शाखाले अन्तर्राष्ट्रिय मञ्चमा हुने जलवायु परिवर्तनसम्बन्धीका सम्मेलन तथा सभामा सहभागि हुँदा सरकारको कार्ययोजना र गृहकार्यमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij