Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा


  • 64
    Shares

    अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
    images

    काठमाडौं । नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ ।

    हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् ।

    उपचार केन्द्रमा सेवा लिन आएकी हरिपुर्वा–३, कि रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गरिन् । आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उनको अनुभव ताजै छ । “दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो”, उनले सुनाइन्, “उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।”

    अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उनको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उनले बताइन् । हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिए ।

    नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएकोे जानकारी दिए । केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतिया विन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उनको भनाइ छ । नगरका वयोवृद्ध आमा, बुबाले अब आँखाको ज्योति खोज्न भौतारिनु नपर्ने उनले दाबी गरे । सेवा सञ्चालन भएसँगै आँखाका बिरामीको आकर्षण बढेको नगर स्वास्थ्य शाखाले जनाएको हो ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १०:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij