Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

ओलीले सुनाए अध्यक्ष पद नछाड्ने निष्कर्ष

ओलीले सुनाए अध्यक्ष पद नछाड्ने निष्कर्ष


  • 512
    Shares

    ओलीले सुनाए अध्यक्ष पद नछाड्ने निष्कर्ष
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाएका छन्। 

    सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मार्फत उनले सङ्कटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू मैदान छाडी नभाग्ने प्रस्ट पारेका हुन्।

    प्रतिवेदनको आठौँ बुँदामा आफूमाथि भइरहेका चौतर्फी आक्रमण र आलोचनाको चर्चा गर्दै ओलीले नीति, कार्यशैली, उम्मेदवार छनोट र निर्णय प्रक्रियामा पार्टीभित्र हुने आलोचना सुन्न आफू सधैँ तयार रहेको बताएका छन्। 

    आलोचनाका नाममा स्वास्थ्य, उमेर, शरीर र विगतको सङ्घर्षलाई जोडेर विरोधीले चलाएको चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

    आफू आत्मसमर्पणको नभई आत्मसमीक्षाको पक्षमा रहेको बताउँदै ओलीले पार्टी इतिहासमा २०२७ सालको झापा आन्दोलन र २०७५ सालको पार्टी विभाजनजस्ता असाधारण र बाध्यात्मक परिस्थितिमा मात्र पुनर्गठन भएको नजिर प्रस्तुत गरे। अहिलेको अवस्थामा नेतृत्व विस्थापनको कुनै औचित्य र सान्दर्भिकता नरहेको उनको ठम्याइ छ।

    प्रतिवेदनको दशौँ बुँदामा रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको बहसलाई व्याख्या गर्दै ओलीले पद खाली गर्ने आकस्मिक र मनमौजी कदमलाई नेतृत्व हस्तान्तरण भन्न नसकिने जिकिर गरेका छन्।

    एमालेको इतिहास जरा र नयाँ पुस्ता पालुवा भएको बताउँदै उनले उमेर कम हुनु आफैँमा योग्यता र बढी हुनु अयोग्यता नभएको तर्क गरेका छन्। अनुभव र ऊर्जाको संयोजनबाट मात्रै पार्टी चल्ने उल्लेख गर्दै उनले पुस्तान्तरणलाई विभाजनको नभई निरन्तरताको कडी बनाउनुपर्ने निष्कर्षका साथ नेतृत्व छाड्ने सम्भावनालाई पूर्ण रूपमा खारेज गरिदिएका छन्।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १५:५४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij