Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

ओलीको प्रश्न : ‘अध्यक्ष हटाउनुपर्छ भन्ने को न्यायाधीश हो ?’

ओलीको प्रश्न : ‘अध्यक्ष हटाउनुपर्छ भन्ने को न्यायाधीश हो ?’


  • 456
    Shares

    ओलीको प्रश्न : ‘अध्यक्ष हटाउनुपर्छ भन्ने को न्यायाधीश हो ?’
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्ने नेताहरूमाथि प्रश्न उठाएका छन् ।

    सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असहमति र बहस कमिटीमै राख्नुपर्ने बताएका हुन् । नेतृत्व परिवर्तनको माग गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिने नेताहरूप्रति लक्षित गर्दै उनले ‘अध्यक्ष हटाउनुपर्छ’ भन्नेहरूलाई यस्तो निर्णय सुनाउने अधिकार कसले दिएको हो भन्ने प्रश्न गरे।

    ओलीले पार्टीभित्र विचार राख्ने, आलोचना गर्ने र सुझाव दिने अधिकार भए पनि सञ्चारमाध्यममा गएर पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदा पार्टीको प्रतिष्ठामा असर पर्ने बताए ।

    ‘पार्टीभित्रको बहस पार्टीभित्र र कमिटीभित्र छलफल हुनसक्छ। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ?’ ओलीले भने ।

    सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध अशोभनीय टिप्पणी गर्ने प्रवृत्तिप्रति पनि ओलीले असन्तुष्टि जनाए । यस्ता गतिविधिले पार्टीभित्रको अनुशासन कमजोर बनाउने र विपक्षीलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

    उनले एमालेको महाधिवेशनले लोकतान्त्रिक विधिबाट नीति, विधान र नेतृत्व चयन गरिसकेको स्मरण गराउँदै पार्टीभित्र अराजकता निम्त्याउने गतिविधि स्वीकार्य नहुने बताए । विचार र संगठनका हिसाबले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    बाहिरी राजनीतिक परिस्थितिबारे चर्चा गर्दै ओलीले एमालेमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको दाबी गरे । लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा उभिएकै कारण पार्टीमाथि चुनौती आएको उनको भनाइ थियो ।

    उनले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिने असन्तुष्टि र अनुशासनहीन गतिविधि अन्त्य गर्दै कार्यकर्तालाई जनस्तरमा पुगेर पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्न निर्देशनसमेत दिएका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १३:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij