२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार दिशाहीन बन्दै गएको दाबी गरेको छ।
पार्टीको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारको पछिल्लो कार्यशैलीको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालिएको हो। पार्टीको बैठकमा राजनीतिक प्रतिवेदनसँगै आगामी निर्वाचन, संगठन निर्माण र भावी कार्यक्रमबारे पनि छलफल भइरहेको छ।
महतोले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल भएको दाबी गर्दै गिरीबन्धु, ललिता निवास, सहकारी ठगी तथा सुन प्रकरणलगायत विषयको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। सरकार विरोधीलाई लक्षित गर्ने र प्रतिशोधको राजनीति गर्ने दिशामा अघि बढेको उनको आरोप छ।
उनले प्रधानमन्त्री शाहले संघीयता कार्यान्वयन, प्रहरी समायोजन तथा निजामती सेवा ऐन ल्याउने विषयमा गरेका प्रतिबद्धता पूरा नभएको दाबी गरेका छन्। संविधान संशोधनका लागि कार्यदल गठन भए पनि व्यवहारमा प्रशासनिक तथा कर्मचारीतन्त्रमाथिको केन्द्रीकृत नियन्त्रण कायमै रहेको महतोको भनाइ छ।
त्यस्तै, आर्थिक क्षेत्रमा स्पष्ट नीति नहुँदा व्यापार–व्यवसाय प्रभावित भएको, बेरोजगारी बढेको र युवा पलायन तीव्र भएको महतोले दाबी गरेका छन्। थरुहट तथा मधेस आन्दोलनका क्रममा भएका घटनाबारे गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत सरकार हिच्किचाएको उनको आरोप छ।
महतोले नेपाली कांग्रेस, नेकपा एमाले, कम्युनिस्ट पार्टीहरू तथा मधेस केन्द्रित दलहरूको समेत आलोचना गरेका छन्। उनका अनुसार पुराना दलप्रति निराश भएका नागरिकले सुशासन र डेलिभरीको नाराका कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरे पनि सत्तामा पुगेपछि उक्त पार्टीमा संस्थागत परिपक्वताको अभाव देखिएको छ।
महतोले रास्वपामा व्यक्तिपूजा र वैचारिक अस्पष्टता देखिन थालेको दाबी गर्दै पार्टी पनि पुरानै राजनीतिक अभ्यासतर्फ फर्किन थालेको आरोप लगाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij