२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा बारम्बार हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा प्राविधिक अध्ययन अघि बढाएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा अध्ययन भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार कृष्णभिरभित्रबाट सुरुङ निर्माण गर्ने वा भिरको अगाडितर्फ पिल्लरमाथि सडक लैजाने भायोडक्ट निर्माण गर्ने विकल्पबारे अध्ययन भइरहेको छ। प्राविधिक अध्ययन सुरु भइसकेको र करिब दुई महिनाभित्र प्रतिवेदन तयार हुने उनले बताए।
प्राविधिक प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ।
कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित हुँदै आएको छ। पछिल्लो पटक भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीको प्रभावले सडकको केही भाग भत्किएपछि भदौ १४ गते कृष्णभिर खण्डमा थप समस्या देखिएको थियो।
हाल तत्कालीन समाधानका रूपमा भत्किएको सडकको माथिल्लो भागबाट ट्र्याक खोलेर सवारीसाधन सञ्चालन गरिएको छ।
यसैबीच विभागले फिस्लिङ र बेनिघाटतर्फ वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको छ। फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम सुरु भइसकेको महानिर्देशक जैशीले जानकारी दिए।
वैकल्पिक सडक निर्माण भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा पहिरो वा अन्य कारणले अवरोध भए वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij