२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ। आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन रहेको प्रवर्द्धक कम्पनीले जनाएको छ।
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार बाढी आउँदा आयोजनास्थलमा नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए। तीमध्ये ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन्।
बाँकी ४३९ जनाको खोजी कार्य जारी रहेको कम्पनीले जनाएको छ। बाढीका कारण आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङ क्षेत्रसम्म ठूला सवारीसाधन तथा ट्रकहरू पल्टिएको अवस्थामा भेटिएका छन्। सुरुङ, भूमिगत विद्युत्गृह तथा अन्य संरचनाभित्र मानिस पुरिएको हुनसक्ने आशंकामा भग्नावशेष र लेदो हटाउने काम भइरहेको छ।
खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन गरिएको छ। तालिमप्राप्त कुकुर र पर्वतारोही उद्धार टोलीसमेत खोजीमा खटिएका छन्।
बाढीले आयोजनास्थलसम्म पुग्ने सडक बगाएपछि हेलिकप्टरमार्फत मिनी एस्काभेटर, जेनेरेटर र ग्यास–कटिङ उपकरण पुर्याएर उद्धार तथा भग्नावशेष हटाउने काम भइरहेको कम्पनीले जनाएको छ। मैलुङस्थित क्याम्पमा जमेको लेदो हटाउने र पानी निकास गर्ने काम पनि जारी छ।
बाढीबाट निकालिएका शवलाई सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा पुर्याई पहिचान तथा सनाखतका लागि आफन्तलाई सहजीकरण भइरहेको छ। कम्पनीले मृतकका परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउनुका साथै सम्पर्कविहीनका परिवारलाई सूचना तथा मनोसामाजिक परामर्शको व्यवस्था मिलाएको जनाएको छ।
भौगोलिक विकटता, सञ्चार तथा आवासको अभाव र भूमिगत संरचनाभित्रको जोखिमका बीच उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ। बेपत्ताको खोजीलाई प्राथमिकतामा राख्दै गृह मन्त्रालय, ऊर्जा मन्त्रालय र ‘वार रुम’सँग समन्वय भइरहेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij