२०८३ आश्विन ६ गते मंगलवार
१. सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वश्व गुमाएकी विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज हुनुभएको छ ।
उनलाई पति राजकुमारले मिर्गौला दान गरेका हुन् र उनी पनि पत्नीसँगै डिस्चार्ज भएका छन् । बाढीले घरबार मात्रै होइन, वर्षौंसम्म थोपा–थोपा जोडेर उपचारका लागि जम्मा पारेको पैसासमेत बढीले बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारीको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली काँग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गर्नुभएको थियो ।
२. संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री साह
प्रधानमन्त्री बालेन्द्र साहले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिष्पर्धी प्रतिष्पर्र्धात्मक बहुदलीय लोकतन्त्रको वाचा गरेको बताउनु भयो । मानव अधिकार र कानूनी राज्य शर्तहरु नभइ राष्ट्रिय जीवनको आधार भएको बताउनु भयो । संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्ने जिकिर गर्नुभयो ।
३. संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शितल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताउनु भयो । उहाँले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले विपत्तिपछिको पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
४. संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल ¥याली
संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल ¥याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल ¥याली, मानवताका लागि एकता’ नारासहित आयोजित ¥यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ¥यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको ¥याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार हुँदै पुनः विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो। ¥याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो ।
५. संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिवार वागमती प्रदेश सरकारद्वारा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा बुझ्न नहुने बताउनु भयो ।
६. शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः साह
प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताउनु भयो । उहाँले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उहाँको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताउनु भयो ।
७. शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुसँगको संवाद प्रधानमन्त्री बालेन्द्र साहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनु भयो । वर्तमान सरकार जेन–जी आन्दोलनको जगमा बनेको भएपनि बीचमै आन्दोलन अपहरण गरेर मुलुकलाई विध्वंशको बाटोतर्फ लैजाने काम गर्नेहरुको सरकार बनेको आरोप लगाउनु भयो ।
८. मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह
प्रधानमन्त्री बालेन्द्र साहले मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताउनुभएको हो । उहाँले विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्नेकुरामा सरकार सचेत रहेको बताउनु भयो । साहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताउनु भयो ।
९.बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भुमिका लिनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ ? यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ ? भन्नेकुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनु भयो । भाषण गरेर फर्किने मात्रै नभइ कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
१०. प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन नेकपा एमाले तयार रहेको बताउनुभएको छ । शनिवार संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिक्रियावादीहरुले खुट्टा बजारे भन्दै नडराउन आग्रह गर्दै मनोबल दरो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले फेरि पञ्जा लडाउँदा अग्रगामी शक्तिहरुकै विजय हुने दाबी गर्नुभयो । प्रतिगमनको जित क्षणिक हुने भन्दै सत्यको नै जित हुने बताउनु भयो । आफूहरुमाथि झुटो कुरा फैल्याएर भ्रम फिँजाइएको भन्दै उहाँले सत्यको बाटोमा सधैँ अग्रसर रहने बताउनु भयो ।
११. नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन–भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले शक्ति राष्ट्रहरूले गर्ने अत्याधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनिकरण तथा संरक्षणका लागि शक्ति राष्ट्रहरूले गर्ने खर्च र उनीहरूले गर्ने विकासको स्तरबीचको सम्बन्धबारे प्रश्न उठाउनु भयो । उहाँले जलवायु परिवर्तनको असरमा वर्गीयता समेत प्रकट भएको बताउनु भयो । हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउन इसिमोड जस्ता संस्थाको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
१२. नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील क्षेत्रमा रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकहरूको बीचमा रहेको उल्लेख गर्नुभयो । नेपालको जनसङ्ख्या करिव तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसङ्ख्या निकै ठूलो रहेको उल्लेख गर्दै उहाँले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
१३. धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने कोशिस भइरहेको छः संयोजक दाहाल
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिस भइरहेको आरोप लगाउनुभएको छ । शनिवार संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले यतिबेला संविधान दिवस मनाउनुको अर्थ संविधानका मूलभूत सिद्धान्त, मूल्य–मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकारसम्पन्न तुल्याउनु रहेको जिकिर गर्नुभयो ।
१४. टुँडिखेलमा मनाइयो संविधान दिवस
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ । काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो । संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा संघीय राजधानी काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो ।
१५. जेन–जी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्ः ओली
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत वर्ष कत्लेआम नरहत्याको योजना रचना गरिएको बताउनु भयो । २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको जिकिर गर्नुभयो । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताउनु भयो । काँक्रा आफूले खाएर बियाँ आफूहरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको बताउनु भयो । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताउनु भयो ।
१६. जलवायु संकट समाधानमा शक्ति राष्ट्रले अझै प्रभावकारी कदम चालेनन्ः भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले नेपालले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) लगायतका मञ्चमा जलवायु परिवर्तनमा नेपालको न्युन योगदान भएपनि त्यसको असर अन्यायपूर्ण रूपमा भोग्नुपरेको विषय उठाउँदै आए पनि समस्या समाधानका लागि अपेक्षित प्रगति हुन नसकेको बताउनुभएको हो ।
१७. गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताउनु भयो । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त भएको आरोप लगाउनु भयो ।
१८. खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ ः मुख्यमन्त्री थापा
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ । खेलाडीको समस्या आफूले बुझेको उल्लेख गर्दै उहाँले प्रदेशका सबै क्षेत्रमा खेलाडी उत्पादन र उनीहरूलाई व्यवस्थित रूपमा खेल क्षेत्रमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताउनुभएको हो । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
१९. केपी ओली सरशैय्यामाथि ढलेको छैन, अझै खडा छः ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिय कमिटीको बैठकबाट एमालेले के गर्छ भन्ने संकल्पसहित अघि बढ्ने बताउनु भयो । सञ्चारमाध्यमहरुमा पार्टी फुटाउने, अध्यक्ष अमुक व्यक्ति बन्ने भन्दै प्रचार गरिएको भएपनि त्यो सफल नहुने बताउनु भयो । उहाँले विरोधीले खुट्टा तानेर एमालेलाई केही फरक नपर्ने बताउनु भयो । धेरै बाँणको वर्षा भएपछि भीष्म पितामह महाभारतको युद्धमा बाँण शैय्यामा ढलेको भएपनि आफू अझै खडा रहेकाले दृढताका साथ अघि बढ्ने बताउनु भयो । ७४ वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लड्नुभएको स्मरण गर्दै उहाँले आफू कलम लिएर युद्धमा रहेको जिकिर गर्नुभयो ।
२०. एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी
नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताउनुभएको छ । शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उहाँले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताउनुभएको हो । ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले पदकको आशा बढेको बताउनु भयो । मलेसियामा हालै भएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै ऐरीले एसियन गेम्सका लागि टोलीका अधिकांश खेलाडी फर्ममा रहेको बताउनु भयो । कुशल भुर्तेल र आसिफ शेखले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको उहाँको भनाइ छ । क्रिकेटतर्फ नेपालले यसअघि एशियन गेम्समा पदक जित्न नसकेको भएपनि यसपटक इतिहास बनाउन सकिने ऐरीले बताउनु भयो ।
२१. एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन बलियो बनेर आउँछः अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठकपछि नकपा एमाले झनै सुदृढ एकताका साथ अघि बढ्ने दाबी गर्नुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असोजको ५ देखि ७ गतेसम्म एमालेको केन्द्रिय कमिटी बैठक रहेको र केन्द्रिय कमिटीको बैठकले सबै प्रकारका समस्याहरु समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले केन्द्रिय कमिटी बैठकले पार्टीलाइ सुदृढ एकताको सूत्रमा बाँध्ने दाबी गर्दै अझ सक्रिय र उच्च मनोबलका साथ पार्टी अघि बढ्ने जिकिर गर्नुभयो ।
२२. एमाले अहिले पनि संविधान संशोधनको पक्षमा छः ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ । शनिवार संविधान दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधान जनताले प्राप्त गर्ने अधिकारको सन्दर्भमा मौलिक हकको सन्दर्भमा उत्कृष्ट संविधान रहेको जिकिर गर्नुभयो । भएका कमी कमजोरी हटाइ अझ अग्रगामी बनाउने दिशामा संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनु भयो । देश अघि बढाउन, देशको समग्र पक्ष अघि बढाउनका लागि संविधान संशोधन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सभा वर्तमान संविधानको पक्षमा रहे पनि प्रतिनिधि सभा विपक्षमा रहेको संकेत ओलीको छ । संविधान घाँडो भएको कुरा बहुमतको दुरुपयोग गरेर कार्यकारी अधिकार भन्दै जथाभावी संविधान भन्दा विपरितका कामहरूबाट देखिएको स्पष्ट पार्नुभयो ।
२३. आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उहाँले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताउनुभएको हो । नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको बताउनु भयो । अर्थशास्त्री तथा विज्ञहरूले व्यापार घाटाको समस्या समाधानका लागि अन्तरनिर्भर अर्थतन्त्रमा जोड दिने गरेको भएपनि अन्तरनिर्भर हुनुअघि आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाइ छ ।
२४. इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु
इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्––टु–एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको शिलान्यास बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा गरिएको हो । इण्डोनेसियाको सार्वभौम सम्पती कोष दानान्तारा र सरकारको सहकार्यमा निर्माण हुने परियोजनामा चिनियाँ वातावरणीय कम्पनी झेजियाङ वेमिङ इन्भाइरोन्मेन्ट प्रोटेक्सन कम्पनी लिमिटेडको प्रविधि प्रयोग गरिनेछ । परियोजनामा करिव २.८ ट्रिलियन इण्डोनेसियाली (१५ करोड ७८ लाख अमेरिकी डलर) लगानी हुने बताइएको छ ।
२५. ग्रिनल्याण्डको सुरक्षा नियन्त्रण अमेरिकालाई दिने सम्झौता भएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको सुरक्षा तथा अन्य आवश्यकतासम्बन्धी विषयमा अमेरिकालाई स्थायी नियन्त्रण दिने गरी डेनमार्क र ग्रिनल्याण्डसँग सम्झौता भएको दाबी गर्नुभएको छ । ट्रम्पले शुक्रवार सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले दिएको निर्देशनअनुसार डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिसँगको सहकार्यमा अमेरिकाले ग्रिनल्याण्डमा आवश्यक कदम चाल्न सधैँ पूर्ण क्षमता सुनिश्चित गर्ने सम्झौता गरेको बताउनुभएको हो ।
२६. जापानको ‘विषालु ग्यास टापु’को इतिहास लुकाउन नहुने आवाज
जापानको सेतो अन्तर्देशीय सागरमा रहेको ओकुनोसिमा टापु आज जंगली खरायोका कारण ‘¥याबिट आइल्यान्ड’ अर्थात ‘खरायोको टापु’का रूपमा परिचित छ । तर करिव ०.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सानो टापुले युद्धकालमा जापानको रासायनिक हतियार उत्पादनको गम्भीर इतिहास बोकेको छ । दोस्रो विश्वयुद्धका बेला ओकुनोसिमा इम्पेरियल जापानी सेनाले विषालु ग्यास उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा प्रयोग गरेको थियो । त्यहाँ उत्पादन गरिएका रासायनिक हतियार चीनका युद्धभूमिमा पु¥याएर प्रयोग गरिएको र त्यसबाट सैनिक तथा सर्वसाधारण ठूलो संख्यामा प्रभावित भएको इतिहास छ ।
२७. जेलमा रहेका पीकेके नेता ओजालानलाई निःशस्त्रीकरण प्रक्रियाको प्राविधिक समन्वयको जिम्मेवारी
जेलमा रहेका कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेता अब्दुल्लाह ओजालानलाई पीकेकेको निशस्त्रीकरण र विघटन प्रक्रियाको अनुगमन गर्ने प्राविधिक समन्वयकर्ताको भूमिका दिइने टर्कीका एक वरिष्ठ अधिकारीले बताएका छन् । टर्कीका राष्ट्रपतीय प्रमुख सल्लाहकार मेहमेत उचुमले बिहीबार अंकारामा पत्रकारहरूसँग कुरा गर्दै ओजालानलाई हालै गठन गरिएको राज्यस्तरीय उपसमितिमा सहभागी गराइने जानकारी दिएका हुन् । निजी प्रसारक एनटीभीकाअनुसार उक्त संयन्त्र सरकारको ‘टेरर–फ्री टर्किए’ प्रक्रियाअन्तर्गत गठन गरिएको हो । यो प्रक्रिया पीकेकेका लडाकुको निशस्त्रीकरण तथा पुनःएकीकरणसम्बन्धी कानूनी व्यवस्थासँग जोडिएको छ ।
२८. पाकिस्तानको उत्तरपश्चिममा मस्जिदमा आत्मघाती विस्फोट, ७ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक मस्जिदमा शुक्रवार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । प्रहरी र उद्धारकर्मीका अनुसार कोहाट जिल्लास्थित प्रहरी आवासीय परिसरमा रहेको मस्जिदलाई लक्षित गरी आक्रमण भएको हो । खैबर पख्तुनख्वा प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन मस्जिदमा ठोक्काएर विस्फोट गराइएको जनाएको छ । विस्फोटपछि सशस्त्र आतंककारी र सुरक्षा निकायबीच गोली हानाहान जारी रहेको प्रहरीले जनाएको छ । उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार मृतक तथा घाइतेलाई नजिकैको अस्पताल पु¥याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
२९. सोमालियामा दीर्घकालीन खाद्य सुरक्षा र उत्थानशीलतामा लगानी गर्न डब्ल्यूएफपीको आह्वान
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले सोमालियामा दीर्घकालीन उत्थानशीलता, खाद्य सुरक्षा र पोषणलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ । डब्ल्यूएफपीले सोमालिया सरकार, दाता राष्ट्र तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अल्पकालीन आपत्कालीन राहतभन्दा दीर्घकालीन समाधानमा जोड दिन आग्रह गरेको हो । पूर्वी तथा दक्षिणी अफ्रिकाका लागि डब्ल्यूएफपीका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले जलवायु परिवर्तन र आन्तरिक द्वन्द्वका कारण थपिँदै गएको जोखिमसँग जुध्न स्थानीय समुदायको उत्थानशीलता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
३०. होर्मुज जलडमरूमध्यको युद्धमा सेना नपठाउने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले होर्मुज जलडमरूमध्यमा भइरहेको युद्धमा संलग्न हुन दक्षिण कोरियाले सेना वा सैन्य साधन नपठाउने स्पष्ट पार्नुभएको छ । शुक्रवार बोल्दै राष्ट्रपति लीले दक्षिण कोरियाको सैन्य संलग्नताको नीति परिवर्तन नहुने बताउनु भयो । उहाँले भन्नुभयो, “युद्धमा संलग्न हुने गरी सेना पठाइने छैन। हामी त्यसरी सेना तैनाथ गर्ने वा सैन्य साधन पठाउने छैनौँ । अहिलेसम्म हामीले यही सिद्धान्त अपनाएका छौँ र भविष्यमा पनि यो सिद्धान्त परिवर्तन हुनेछैन ।”
३१. ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छः पुर्वअर्थमन्त्री डा. खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताउनुभएको छ । काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताउनु भयो । पूर्वगभर्नरसमेत रहनुभएका उहाँले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रुपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताउनु भयो ।
३२. नेपाली संसदीय प्रणालीबाट दायाँबायाँ हुनु हुँदैनः वरिष्ठ अधिवक्ता केसी
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न नहुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले संविधान संसोधनमार्फत संसदीय व्यवस्थालाई अझ परिस्कृत बनाउनुपर्ने बताउनु भयो । हाल नेपालको संविधानले अपनाएको संसदीय प्रणालीमा विभिन्न मुलुकका शासन प्रणालीका विशेषता मिसिएको उहाँको भनाई छ । नेपालको संविधानले ‘प्योर पार्लियामेन्ट सिस्टम’ नअपनाएको दाबी गर्दै उहाँले ब्रिटिश मोडेलको संसदीय प्रणालीतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार नेपालको वर्तमान संसदीय व्यवस्थामा फ्रेन्च र जर्मन मोडेलका केही प्रावधानसमेत समावेश गरिएको छ ।
३३. राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभएको छ । काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र बैकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागिएको आरोप लगाउनुभएको हो । उहाँले गभर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउनेगरि सरकारले कानुन बनाउन लागेको बताउनु भयो । यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उहाँको भनाई छ । उहाँले नियामक निकायण्लाई कमजोर बनाउन लाग्न नहुनेमा जोड दिनुभयो । पाँच वर्षको गभर्नरको कार्यकाल विश्वव्यापी अभ्यास रहेको र यो केन्द्रिय बैंकको संस्थागत स्वायत्ततासँग जोडिएको उहाँको भनाई छ ।
३४. रास्वपा संविधानको स्टेकहोल्डर हो ः रास्वपा सांसद न्यौपाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गर्नुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया नरोक्न दबाब दिएको उहाँले बताउनु भयो । उहाँले रास्वपाको उदय नै संविधान कार्यान्वयन र संविधानका मूल्य–मान्यतालाई नागरिक तहसम्म पु¥याउने उद्देश्यले भएको दाबी गर्नुभयो । पुराना राजनीतिक दलहरूले संविधानको मर्मअनुसार प्रणाली कार्यान्वयन नगरेको उहाँको आरोप छ ।
३५. संघीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोसम्म पु¥याएको छः देवकोटा
संघियताविद् खिमलाल देवकोटाले संघीयताले राज्य संयन्त्रलाई जनताको घरदैलोसम्म पु¥याएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले संघीयता संवैधानिक विकेन्द्रीकरणको महत्वपूर्ण आधार भएको बताउनुभएको हो । उहाँले नेपालको संविधानले तीन तहको राज्य संयन्त्रको व्यवस्था गरेर शक्ति बाँडफाँट गरेको बताउनु भयो । दूरदराजका नागरिकले सरकारको अनुभुति गर्नको लागी संघियता अतिआवश्यक रहेको उहाँको भनाई छ । उहाँले नेपालको संविधानको महत्वपूर्ण उपलब्धिका रूपमा समावेशितालाई पनि औँल्याउनुभयो ।
३६. संविधानका आधारभुत संरचनाहरूमाथि नै प्रहार भइरहेको छः वरिष्ठ अधिवक्ता भट्टराई
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानका आधारभूत संरचनाहरूमाथि नै सरकारबाट प्रहार भईरहेको आरोप लगाउनुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले संविधानलाई आफू अनुकुल चलाउने नभई सरकार संविधान अनुकुल चल्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी राज्यको चरित्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यी संविधानका आधारभुत संरचना भएको बताउनु भयो । नेपालको संविधान संशोधन गर्न सकिने भएपनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी राज्य जस्ता आधारभूत संरचना परिवर्तन गर्न नमिल्ने उहाँको भनाई छ । उहाँकाअनुसार संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित विभिन्न विषयमा संशोधन गर्न सकिने ठाउँ छन् ।
३७. सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित ग¥योः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गरेको बताउनुभएको छ । काठमाडौंमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको कर्जा प्रवाहको करिब ६७ प्रतिशत हिस्सा सम्पती धितोमा आधारित रहेको बताउनु भयो । यसले बैंक तथा वित्तीय संस्थालाई परियोजनाको सम्भाव्यता तथा जोखिम मूल्यांकनमा आधारित कर्जा प्रवाह गर्न निरुत्साहित गर्ने उहाँको भनाइ छ । सम्पतीको ब्याकअपमा कर्जा दिन पाएपछि बैकहरुले पनि इनोभेसनमा रिक्स लिएर लगानी गर्न हिच्किच्याउने गरेको बताउनु भयो । उहाँले नेपालको वित्तीय प्रणालीलाई धितोमा आधारित कर्जाबाट परियोजना आधारित वित्तपोषणतर्फ लैजानुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij