२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार दिउँसो गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घटना मिन्डानाओ क्षेत्रको दक्षिण कोटाबाटो प्रान्तस्थित बाङ्गा नेसनल हाई स्कुलमा भएको हो ।
घटनापछि स्थानीय उद्धारकर्मी र रेडक्रसका स्वास्थ्य टोली विद्यालय परिसरमा पुगेका थिए । घटनामा मृत्यु हुने तथा घाइतेहरूको वास्तविक सङ्ख्या भने अझै स्पष्ट भइसकेको छैन । स्थानीय सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले फरक–फरक सङ्ख्या सार्वजनिक गरेका छन् । गोली चलाउने व्यक्तिको पहिचान पनि खुलाइएको छैन ।
दक्षिण कोटाबाटोका गभर्नर रेनाल्डो तामायोले पत्रकारहरूलाई दिएको जानकारीअनुसार घटनामा एक जनाको मृत्यु भएको छ भने चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक वा घाइतेमध्ये गोली चलाउने व्यक्ति पनि छन् कि छैनन् भन्नेबारे उनले केही बताएका छैनन् ।
यसैबिच, केही स्थानीय सञ्चारमाध्यमले अन्य सरकारी अधिकारीलाई उद्धृत गर्दै मृतक तथा घाइतेको सङ्ख्या यसभन्दा बढी रहेको जनाएका छन् । तर ती विवरणको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
नगरपालिकाका सबै विद्यालयमा कक्षा स्थगित
घटनापछि बाङ्गा नगरपालिकाका सबै तहका विद्यालयमा कक्षा स्थगित गरिएको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ । फिलिपिन्सको शिक्षा विभागले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीको सुरक्षा आफ्नो तत्कालीन प्राथमिकता भएको जनाएको छ ।
शिक्षा विभागले घटनाको वास्तविक विवरण पुष्टि गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको बताएको छ । साथै, घटनाबारे अपुष्ट सूचना तथा हल्ला फैलाउनबाट बच्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
फिलिपिन्स रेडक्रसले घटनापछि उद्धार तथा स्वास्थ्य उपचारका लागि मेडिकल टोली परिचालन गरेको जनाएको छ । प्रहरी टोलीले पनि विद्यालय परिसरमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्समा गोली काण्डको समस्या
फिलिपिन्समा बन्दुकसम्बन्धी हिंसा असामान्य घटना होइन । दक्षिण पूर्वी एसियाका अन्य धेरै देशको तुलनामा यहाँ बन्दुकको स्वामित्वको दर उच्च मानिन्छ । यद्यपि, विद्यालयमा गोली चलाउने घटना भने तुलनात्मक रूपमा दुर्लभ छन् ।
यसअघि जुन महिनामा पनि मध्य फिलिपिन्सको एक उच्च माध्यमिक विद्यालयमा विद्यार्थीले नै गोली चलाउँदा तीन विद्यार्थीको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए । अनुसन्धानकर्ताहरूले उक्त घटनाको पछाडि विद्यालयमा भएको दुर्व्यवहार अर्थात् बुलिङसम्बन्धी पुरानो रिसइबी रहेको हुन सक्ने बताएका थिए ।
शुक्रबार बाङ्गा नेसनल हाई स्कुलमा भएको घटनामा भने गोली चलाउने व्यक्तिको उद्देश्य र पहिचानबारे प्रहरीले अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धान जारी रहेकाले मृतक तथा घाइतेको सङ्ख्या, घटनाको कारण र गोली चलाउने व्यक्तिबारे थप विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने अधिकारीहरूले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij