२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्मस् प्रालिले एक विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन भएको जानकारी दिएको हो ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेको छ ।
भदौको प्रदर्शन मिति सरेसँगै निर्माण युनिटले यो चलचित्र नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर कात्तिक २० गते दर्शनमा ल्याउने जनाएको छ । अचानक मिति सार्नु परेका कारण दर्शक तथा सम्बन्धित सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेल लगायतको पनि अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij