२०८३ भाद्र ८ गते सोमवार
१. साल्ट ट्रेडिङको दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सिमित छैनः अध्यक्ष श्रेष्ठ
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पु¥याउँदै आएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१÷२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो । सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन आपूर्ति गरी नागरिकको मानसिक एवं शारीरिक स्वास्थ्य समस्या न्यूनीकरणमा साल्ट ट्रेडिङले जिम्मेवार भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
२. सार्वजनिक प्रशासन फाइलसँग खेल्ने कोठा मात्र होइन, नागरिकको जीवनसँग जोडिएको विषय होः रामेश्वर खनाल
पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उहाँले सो धारणा राख्नुभएको हो । नेपाल प्रशासन सङ्घद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा खनालले प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्नुभयो । उहाँले राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी र मलेसिया जान बाध्य भएको टिप्पणी गर्नुभयो ।
३. समृद्ध नेपाल निर्माणका लागि राज्य र समाजबीचको सहकार्य अनिवार्यः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको घनिष्ठ सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०८१÷२०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्नुभएको हो । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा कर्तव्य भएको बताउनु भयो ।
४. सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै
सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठह¥याउने गरी कानूनी प्रक्रिया अगाडि बढाएको छ । सोमवार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस सम्बन्धी जानकारी दिनुभएको हो । मन्त्री वाग्लेकाअनुसार बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको हो ।
५. शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको एमाले उपनेता अर्यालको आरोप
नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पछिल्लो समय घटेका जघन्य र अमानवीय घटनाहरूले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताउनुभएको हो । अर्यालले ३ वर्षीया नाबालिकामाथि भएको बलात्कार जस्तो जघन्य अपराध र सिराहा लगायतका जिल्लामा घटेका क्रूर घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो । निर्मला पन्त हत्याकाण्डको स्मरण गर्दै उपनेता अर्यालले उक्त घटनामा चरम राजनीतिकरण भएको र प्रमाणहरू नष्ट गरिएका कारण अपराधी अझै कानूनी दायरामा आउन नसकेको उल्लेख गर्नुभयो ।
६. वन्यजन्तु संरक्षणको भार किसानले मात्र बोक्न मिल्दैनः कार्यदल संयोजक क्षेत्री
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ का संयोजक ओम क्षेत्रीले सह–अस्तित्वको नाममा वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमवार बसेको बैठकमा बोल्दै संयोजक क्षेत्रीले वन्यजन्तु र मानवबीचको सह–अस्तित्वलाई वैज्ञानिक र व्यावहारिक ढंगले परिभाषित गरिनुपर्नेमा जोड दिनुभएको हो ।
७. वन्यजन्तु र छाडा चौपाया व्यवस्थापनमा ठोस कदम चाल्न सांसद ताहिर अलि भाटको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले वन्यजन्तु तथा छाडा चौपायाका कारण सिर्जित समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सांसद भाटले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो । उहाँले बाघलाई ट्रान्समिटर जडान गर्ने र हात्तीको आवतजावत ट्रयाक गर्ने जस्ता कार्यले संरक्षणमा मद्दत पुग्ने बताउँदै सो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वन्यजन्तुले पु¥याएको धनजनको क्षतिका कारण जनतामा तिब्र आक्रोश रहेको र यसले जनप्रतिनिधिहरूलाई जनदबाब झेल्नुपरेको उहाँको भनाइ छ ।
८. मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा एकीकृत योजना बनाउन सत्तारुढ सांसदहरूको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्वलाई दिगो र प्रभावकारी रूपमा व्यवस्थापन गर्न एकीकृत कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले बाँदरको समस्या मात्र नभई हात्ती, चितुवा, बँदेल र निलगाई जस्ता वन्यजन्तुले पु¥याइरहेको क्षतिको सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा सांसद ज्ञानेन्द्र सिंह महताले वन्यजन्तु व्यवस्थापनका लागि छुट्टाछुट्टै कार्यदल बनाउनुको साटो सबै वन्यजन्तुलाई समेट्ने गरी एकीकृत ढाँचा तयार पार्नुपर्ने बताउनु भयो ।
९.मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्यालाई न्युनिकरण गर्न स्थानीय स्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत प्रदान गरिने राहत रकममा गरिएको उल्लेख्य वृद्धिको चर्चा गर्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभएको हो । प्रवक्ता डा. ढकालकाअनुसार वि.सं. २०६७ सालदेखि वन्यजन्तुबाट हुने क्षतिका लागि राहत दिने प्रक्रियाको औपचारिक शुरुवात गरिएको हो ।
१०. मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि पूर्वसुरक्षाकर्मी परिचालन गर्न सांसद ढकालको प्रश्ताव
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान माग गर्नुभएको छ । सोमवार आयोजित कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस समस्यालाई सरकारको उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो । विज्ञ टोलीले बाँदर, बँदेल, हात्ती र नीलगाई लगायतका वन्यजन्तुबाट हुने क्षति र त्यसको समाधानका उपायबारे तयार पारेको विस्तृत प्रतिवेदनलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै उहाँले यसको शिघ्र कार्यान्वयनमा जोड दिनुभयो ।
११. मधेसमा बालबालिका असुरक्षित रहेको भन्दै सांसद भण्डारीले गराइन् सदनको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले मधेस प्रदेशमा बालबालिकाको सुरक्षा र समग्र सामाजिक सुरक्षाको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै सदनको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले भौतिक पूर्वाधार र सडक विकासलाई मात्र प्राथमिकता दिने तर विकासको मुख्य आधार मानिएका बालबालिकाको सुरक्षामा ध्यान नदिने प्रवृत्तिको आलोचना गर्नुभयो । उहाँले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरी र सप्तरीमा दुई वर्षीया बालिकाको निर्मम हत्या भएको घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै यी घटनाहरूले बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको बताउनु भयो ।
१२. बैंकिङ क्षेत्रका समस्या समाधानका लागि ‘बाफिया’ संशोधन गर्न सांसद अधिकारीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सामान्य प्रकृतिका समस्या वा ऋण असुलीका विषयलाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोडेर पदमा बस्न नमिल्ने बनाइनु असान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
१३. पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले अदालत सामान्यतया पार्टीका आन्तरिक मामिलामा प्रवेश नगर्ने र हालैको फैसलालाई पनि पूर्णपाठ वा प्रक्रियागत सुधारको अर्थमा बुझ्नुपर्ने टिप्पणी गर्नुभएको हो । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्ने बताउनु भयो ।
१४. पर्यटन ऐन र आरोहीका समस्याबारे संसदीय समितिमा सरोकारवालाको ध्यानाकर्षण
पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूले प्रश्तावित पर्यटन ऐन, आरोहीहरूको वृत्तिविकास र पर्वतारोहण क्षेत्रमा देखिएका प्रशासनिक जटिलताबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमवार बसेको बैठकमा नेपाल पर्वतारोहण संघ, आरोही संघ र पर्वतारोहण सञ्चालक संघका प्रतिनिधिहरूले हिमाल आरोहण र यससँग जोडिएका श्रमिकहरूको समस्या सम्बोधन गर्न माग गरेका हुन् ।
१५. नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने
नेपाली काँग्रेसले भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ । सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अर्थतन्त्रमा महिलाहरूको योगदानलाई कदर गर्दै उनीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । पार्टीको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितितले उपसमितिका संयोजक खगेन्द्र आचार्यकाअनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा ६० देखि ७० प्रतिशत हिस्सा महिला उद्यमीहरूको रहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रमको खाका तयार पारिएको हो ।
१६. गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायताका लागि सहकार्य सम्झौता
गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले आगामी दिनमा थप संगठित रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रेडक्रस र एनआरएनएको कार्य प्रकृतिमा समानता रहेको उल्लेख गर्नुभयो । संघको तीन मुख्य स्तम्भमध्ये मानवीय सहायता र परोपकार एक रहेको चर्चा गर्दै उहाँले यो सम्झौताले सेवाका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
१७. खर्क नीतिको अभावमा अर्बौंको निर्यात सम्भावना खेर गइरहेको विज्ञको दाबी
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष एवं खर्क विषय विज्ञ धनप्रसाद लामिछानेले स्पष्ट खर्क नीतिको अभावमा नेपालले पशुपालन र कच्चा पदार्थ उत्पादनबाट प्राप्त गर्नसक्ने अर्बौंको आम्दानी गुमाउँदै गएको बताउनुभएको छ । सोमवार संघीय संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘खर्क नीति’ सम्बन्धमा भएको छलफलमा बोल्दै लामिछानेले नेपालको उच्च हिमाली भेगमा रहेका खर्क र चरन क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा मुलुकले ठुलो आर्थिक नोक्शानी व्यहोर्नुपरेको उल्लेख गर्नुभएको हो ।
१८. अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा
अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो । हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छाउने कार्यलाई तिब्रता दिएको छ ।
१९. अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी आवश्यक तयारी गरिएको छ । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा यो सहमति जुटेको हो । समितिको बैठकमा सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन १ गतेको मिति तय गरिएको जानकारी दिनुभयो ।
२०. ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोड्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमवार विषय विज्ञ धनप्रसाद लामिछानेसँग भएको छलफलमा सांसदहरूले खर्क नीतिलाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोड्नुपर्ने बताएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले खर्कलाई केवल पशुपालनमा मात्र सिमित नगरी जडिबुटी र पर्यटनसँग समेत एकीकृत रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विद्यमान ‘खर्क ऐन २०६८’ मा सुधारको खाँचो रहेको उल्लेख गर्नुभयो ।
२१. अनुपम भटट्राई–न्युज एजेन्सी नेपाल
जब पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिन्छन्, उनका ओठबाट पटक–पटक वर्ग संघर्ष, उत्पीडित समुदायको मुक्ति, क्रान्तिकारी पुनर्गठन र सत्ताको मोह त्याग्ने भावुक उद्घोषहरू प्रतिध्वनित हुन्छन् । राजधानीमा आईतवार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै फेरि एक पटक उनले दाबी गरे–‘केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । अब सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुनुहुँदैन, यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्छ ।’
२२. ‘आधुनिक प्रशासनका लागि प्रविधिसँगै नैतिकता र इमान्दारी अपरिहार्य’ः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रशासन र व्यवस्थापनका लागि प्रविधि मात्र पर्याप्त नहुने बताउँदै नैतिकता, आचरण र इमान्दारी अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र विश्वव्यापीकरणका कारण विश्वमा प्रविधिको विकास र परिवर्तनको गति तिब्र भएको बताउनु भयो । उहाँले बदलिँदो समयअनुसार प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासहरूलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रविधिमा जतिसुकै परिवर्तन आए पनि आधारभूत मानवीय मूल्यहरूको महत्त्व सदैव अक्षुण्ण रहने उहाँको भनाइ छ ।
२३. एशियाबाट युरोपसम्मको पौडीः ३८ औँ बोस्फोरस अन्तरमहाद्वीपीय प्रतियोगिता सम्पन्न
टर्कीको इस्तानबुलस्थित बोस्फोरस जलक्षेत्रमा आईतवार ३८ औँ बोस्फोरस अन्तरमहाद्वीपीय पौडी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । दुई महादेशलाई जोड्ने यस ऐतिहासिक प्रतिष्पर्धामा ६० भन्दा बढी देशका २ हजार भन्दा बढी पौडीबाजहरूले सहभागिता जनाएका थिए । आईतवार बिहान १० बजे इस्तानबुलको एशियाली क्षेत्रमा पर्ने कानलिकाबाट शुरु भएको यो प्रतियोगितामा सहभागीहरूले करिब ६.५ किलोमिटरको दूरी पार गर्दै युरोपेली किनारमा पुगेका थिए ।
२४. तान्जानियामा २,११५ मेगावाट क्षमताको जुलियस न्यरेरे जलविद्युत आयोजनाको उद्घाटन
तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले २,११५ मेगावाट क्षमताको बहुप्रतिक्षित जुलियस न्यरेरे जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको छ । तटीय क्षेत्रको रुफिजी जिल्लामा अवस्थित यस आयोजनाले मुलुकको विद्युत आपूर्तिलाई सुदृढ बनाउँदै औद्योगिक र आर्थिक विकासलाई तिब्रता दिने अपेक्षा गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति हसनले यस आयोजनाबाट उत्पादित विद्युत्ले उत्पादनमूलक उद्योग, व्यापार, खानी, आधुनिक कृषि, सार्वजनिक सेवा, लगानी र रोजगारीका क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
२५. दक्षिणी थाइल्याण्डमा श्रृंखलावद्ध आक्रमणपछि सैन्य उच्च शतर्कता, नाराथिवाटमा कफ्र्यु जारी
थाइल्याण्डको दक्षिणी सीमावर्ती प्रान्तहरूमा श्रृंखलावद्ध हिंसात्मक आक्रमणका घटनाहरू भएपछि थाइल्याण्डको ‘फोर्थ आर्मी रिजन’ले सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार शनिवार राति ८ बजेदेखि नाराथिवाट, याला र पट्टानी प्रान्तका विभिन्न स्थानमा आगजनी र विस्फोटका घटनाहरू भएका हुन् । अज्ञात समूहद्वारा गरिएका यी आक्रमणहरूमा प्रशासनिक कार्यालयहरूमा आगजनी गर्ने, सवारी साधनका टायर जलाउने तथा विद्युतका पोल र पसलहरूमा विस्फोट गराउने जस्ता गतिविधिहरू संलग्न छन् ।
२६. बेइजिङमा ह्युमनोइड रोबोटद्वारा ४०० मिटर दौडको विश्व कीर्तिमान भङ्ग
चीनको बेइजिङमा आयोजित दोस्रो ‘विश्व ह्युमनोइड रोबोट गेम्स’ को प्रारम्भिक चरणमा एक रोबोटले ४०० मिटर दौडको मानव विश्व कीर्तिमानलाई उछिनेको छ । ‘तिआनगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले ४०० मिटरको निर्धारित दूरी मात्र ३९.७० सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । यो समय पुरुषतर्फको ४०० मिटर दौडमा कायम रहेको मानव विश्व कीर्तिमान (४३.०३ सेकेन्ड) भन्दा निकै कम हो । उक्त प्रतियोगितामा सहभागी अन्य रोबोटहरूलाई पछि पार्दै तिआनगोङ अल्ट्राले सो सफलता प्राप्त गरेको हो । ह्युमनोइड रोबोटको यस गतिले प्रविधिको क्षेत्रमा नयाँ आयाम थपेको ठानिएको छ ।
२७. शक्तिशाली चक्रवातका कारण बाल्टिक देशहरूमा दुई जनाको मृत्यु, विद्युत र यातायात सेवा अवरुद्ध
बाल्टिक क्षेत्रका तीन राष्ट्रहरू– लाटभिया, लिथुआनिया र एस्टोनियामा आएको शक्तिशाली चक्रवातका कारण दुई जनाको मृत्यु भएको छ । भीषण हावाहुरी, मुसलधारे वर्षा र गर्जनसहितको आँधीले यस क्षेत्रमा ठूलो भौतिक क्षति पु¥याउनुका साथै जनजीवन प्रभावित तुल्याएको छ । मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार लाटभियामा सन् २००५ यताकै यो सबैभन्दा विनाशकारी आँधी हो । लाटभियाको राज्य अग्नि नियन्त्रण तथा उद्धार सेवाकाअनुसार जेलगाभामा एउटा भवनको केही हिस्सा भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
२८. कर्मचारी र बजेट अभावले काम गर्न समस्या छः लगानी बोर्ड
लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताउनुभएको छ । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले बोर्डमा आयोजना अध्ययन तथा विकासको जिम्मेवारी बढ्दै गएपनि आवश्यक जनशक्ति र अध्ययन बजेटको अभाव रहेको जानकारी दिनुभएको हो । सिंहकाअनुसार बोर्डमा प्राविधिकतर्फ एक सहसचिव, एक प्रमुख जिल्ला इन्जिनियर (सीडीई) र तीन इन्जिनियर तथा प्रशासनतर्फ सीमित कर्मचारीले ठूलो कार्यक्षेत्र सम्हालिरहेका छन् ।
२९. कानून निर्माण तथा कार्यान्वयनमा सरोकारवालाहरुको सुझाव अति आवश्यक छः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कानून निर्माण तथा कार्यान्वयनमा सरोकारवालाहरुको सुझाव अति आवश्यक रहेको बताउनुभएको छ । सोमवार विधायन व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुको सुझावलाई विधेयकमा समेट्ने प्रतिवद्धता पनि जनाउनु भयो । सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप विशिष्टीकृत र कार्यान्वयनयोग्य बनाउन सहयोग गर्ने उहाँको भनाई छ ।
३०. देशको पूर्वाधार विकासका १५ वर्षको मास्टर प्लान चाहिन्छः परिसंघ अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १५ वर्षको मास्टर प्लान आवश्यक रहेको बताउनुभएको छ । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थल तथा अन्य कनेक्टिभिटी पूर्वाधार लगायतका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभएको हो । उहाँले आयोजना छनोट र बजेट विनियोजनसँगै आयोजना तयारी तथा समयमै निर्माण सम्पन्न गर्ने विषयमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।
३१. निजी क्षेत्रलाई विश्वासमा लिएर पूर्वाधार विकास गर्नुपर्छ, कर्मचारीतन्त्र अझै निजी क्षेत्रमैत्री छैनः चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलार्य विश्वासमा लिएर मात्रै मुलुकको पूर्वाधार विकास र आर्थिक वृद्धि गर्न सकिने बताउनुभएको छ । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उहाँले पूर्वाधारको विकासको लागी निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर सरकार अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारको पुँजीगत खर्चलाई पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारसँग जोड्नुपर्ने बताउनु भयो ।
३३. लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भिर भएनः सांसद स्वाँर
नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वारले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उहाँले लगानीमैत्री वातावरण बनाउन सरकार गम्भिर हुनुपर्ने बताउनुभएको हो । उहाँले उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले विभिन्न निकाय धाउनुपर्ने तथा अनावश्यक झन्झट र कमिसनको समस्या झेल्नुपरेको दाबी गर्नुभयो । नेपालमा प्रभावकारी ‘एकद्वार प्रणाली’ नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भइरहेको उहाँको भनाई छ । लगानी गर्न आउने उद्योगीलाई विभिन्न निकायका ढोका–ढोका धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
३४. सांसदहरुको प्रश्न– पशुमा लाग्ने संक्रामक रोग कानून अभावले नियन्त्रण गर्न नसकिएको हो ?
सांसदहरूले पशुमा लाग्ने संक्रामक रोग नियन्त्रण गर्न नसक्नुको कारण खोज्नुपर्ने बताएका छन् । विधायन व्यवस्थापन समितिमा सोमवार संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कानूनी अभावको कारण नभई सरकारको कार्यक्षमतामा देखिएको कमजोरीको कारण रोग नियन्त्रणमा समस्या देखिएको बताएका हुन् । पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि प्रश्तावित कानून आवश्यक भएपनि रोग नियन्त्रण हुन नसक्नुको मुख्य कारण कानूनको अभाव मात्रै नभएको उनीहरुको भनाई छ । उनीहरुले कानून कार्यान्वयन संयन्त्र, जनशक्ति र स्रोत–साधनका विषयमा पनि प्रश्न उठाएका छन् ।
३५. सांसदहरुको प्रश्न– हाइड्रोमा मात्रै निजी लगानी किन ?
सांसदहरूले नेपालमा निजी क्षेत्रको लगानी हाइड्रोपावरमा मात्रै भएकोमा असन्तुष्टी जनाएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा सांसदहरुले निजी लगानी अन्य सेक्टरमा पनि बढाउनुपर्नेमा जोड दिएका हुन् । सांसदहरूले नेपालमा निजी क्षेत्रको लगानी हाइड्रोपावरमा मात्रै केन्द्रित भएको र अन्य पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित हुन नसकेको बताए । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले हाइड्रोपावर क्षेत्रमा मात्रै ७२ प्रतिशतभन्दा बढी निजी कम्पनी आकर्षित हुनुको कारण खोज्नुपर्ने बताउनु भयो ।
३६. एमाले सचिव अर्यालको प्रश्न–सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना सञ्चालन गर्ने मात्रै हो ?
नेकपा (एमाले)की सचिव एवं संसदीइ दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाउनु भयो । के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हा ? उहाँको प्रश्न छ । उहाँले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताउनु भयो ।
३७. गरिमा चौधरी हत्या प्रकरणः घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले दोषिमाथि हदैसम्मको कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाउनु भयो । उहाँले बालिकाको जीवन सालिक ठड्याएर फिर्ता नआउने भन्दै यस्ता घटनामा राहत र सहमतिपत्रभन्दा कानूनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनु भयो ।
३८. चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो
प्रतिनिधि सभाले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । सभाको सोमवारको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।
३९. जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिवमाथि मात्र प्रहार नगरियोस्ः मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले डोजर प्रहार गरिव र निमुखाको आवासमा मात्र नभई सबैमाथि समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उल्लेख समेत गर्नुभयो । सांसद झाले जनकपुरको ९ सय ५० बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिनुभयो ।
४०. प्रधानमन्त्री साहको मुस्ताङ भ्रमबारे संसदलाई जानकारी गराउन अध्यक्ष राईको माग
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताउनु भयो । मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई के खान जानुभएको हो ? अध्यक्ष राईले प्रश्न गर्नुभयो ।
४१. बलात्कारपछि हत्याः विद्यमान कानून संशोधन गर्न शाहीको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गर्नुभयो । नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताउनुभयो । उहाँले भदौ र असोजभरी विदेशबाट स्याउ आयात हुन नदिन कृषिमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।
४२. बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण
नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराएको हो । उहाँका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाउनुभयो ।
४३. भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसान आन्दोलित
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण्मा तथा ठगी अन्त्य गर्न माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत, जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी नियन्त्रण गर्न नसक्दा आफूहरुले न्युनतम बजार मूल्य समेत पाउन नसकेको एक कुखुरापालक किसानले गुनासो गर्नुभयो ।
४४. भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कारर हत्याका घटनाको स्मरण गर्दै यस्ता अपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताउनुभयो । उहाँले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
४५. संसदको रेकर्डबाट रास्वपा सांसद राना र एमाले नेता बादलका ७ शब्द हटाइए
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका चार वटा शब्दहरु संसदको अभिलेखबाट हटाइएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो । सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।
४६. समाजमा मौलाएको दण्डहीनताका लागि राजनीतिक दल र समग्र राज्य प्रणाली जिम्मेवारः समीक्षा बास्कोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले समाजमा मौलाएको दण्डहीनताका लागि राजनीतिक दल र समग्र राज्य प्रणाली जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि अपराधका घटनामा राजनीतिक स्वार्थ हाबी हुँदा पीडितले न्याय नपाएको उहाँको टिप्पणी छ । उहाँले राजनीति दल र नेताको दोहोरो चरित्रका कारण २०६२ सालदेखिका यौन हिंसामा परेका हजारौँ पीडित अझै न्यायको प्रतीक्षामा रहेको बताउनु भयो । हामीले समग्र प्रणालीमा विश्वास गर्यौँ कि व्यक्तिवादमा ?
४७. सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला
श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताउनु भयो । उहाँले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गर्नुभयो ।
४८. सरकारको कृषि नीति र बजेटबीच विरोधाभास छः सांसद सुब्बा
नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मुलुकको बजेटको आकार बढ्दै गएपनि सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेको आरोप लगाउनुभयो । उहाँकाअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रमा करिब १८ दशमलव ४ प्रतिशतले कटौती गरिएको छ । सांसद सुब्बाले नेपालको आधाभन्दा बढी जनशक्ति कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेको भएपनि सरकारले निरन्तर उपेक्षा गरिरहेको बताउनु भयो ।
४९. स्वच्छ खानेपानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि सरकारले व्यापार गर्न खोज्योः दुलाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हनन गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सामेवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले खानेपानीमाथि व्यवसाय गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले मुहानबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टमार्फत पानी तानेर नागरिकले उपभोग गर्दै आएकोमा विद्युत सेवामा नयाँ भ्याट व्यवस्था लागू गर्दा त्यसको प्रत्यक्ष प्रभाव नागरिकमा परिरहेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij