२०८३ भाद्र ८ गते सोमवार
काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले गस्तीका क्रममा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा शनिबार ती बन्दुक फेला पारेको जनाएको छ।
इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार शनिबार दिउँसो करिब १ बजे प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा पाँच जनाको प्रहरी टोली विशेष प्रहरी गस्तीका लागि आरुघाट गाउँपालिका–७ चुरुङ सल्लेरीतर्फ परिचालन भएको थियो।
सोही क्रममा आरुघाट गाउँपालिका–६ चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाहरूले छोपेर राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको हो।
प्रहरीका अनुसार बरामद भएका पाँच थान भरुवा बन्दुकमध्ये एउटा बन्दुक भाँचिएको अवस्थामा रहेको छ भने चार वटा बन्दुक खिया लागेको अवस्थामा फेला परेका छन्।
प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखेको जनाएको छ। जंगलमा हाँगाले छोपेर राखिएको अवस्थामा बन्दुक फेला परेकाले घटनाको प्रकृति तथा त्यसको सम्बन्धमा थप तथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय आरुघाटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।हालसम्म घटनामा कुनै व्यक्ति पक्राउ परेको वा बन्दुकका सम्बन्धमा कसैको संलग्नता पुष्टि भएको जानकारी प्रहरीले दिएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij