२०८३ भाद्र ८ गते सोमवार
काठमाडौं । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पक्राउ परेका छन्।
पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि खोजीको सूचीमा रहेका यादव सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा उपस्थित भएका हुन्।
दिउँसो कार्यालयमा उपस्थित भएका यादवलाई अनुसन्धानका लागि आवश्यक म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोम ढकालले जानकारी दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा प्रतापपुर गाउँपालिका अध्यक्षमा निर्वाचित यादवविरुद्ध पोखरी निर्माणका क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा जाहेरी परेको थियो।
यादवका नाममा गत साउन २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जीविरुद्ध यादव उच्च अदालत पुगेका भए पनि अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलिदिएपछि उनी केही समयदेखि फरार रहँदै आएका थिए।
घटनाबारे थप अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij