२०८३ भाद्र ८ गते सोमवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ अन्तिम समयमा स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको शपथ कार्यक्रम मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि रोकिएको हो ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा शपथका लागि समय माग गरेका थिए । सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले बिहान ११ बजेको समय तय गरेको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णालीमा नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । यी मन्त्रालय अझै मन्त्रीविहीन छन् ।
एमालेबाट भने एक साताअघि नै तीन मन्त्री नियुक्त भइसकेका छन् । तर, मुख्यमन्त्री शाहीले आफ्नै दलभित्रको विवाद समाधान गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहे पनि अन्तिम निर्णय हुन सकेन ।
नेकपाभित्र साबिक समाजवादी धारले समेत मन्त्रीमा भाग खोजेपछि विवाद थप चुलिएको नेताहरूले बताएका छन् । पार्टीभित्र आकांक्षी धेरै हुँदा मन्त्री छनोटमा समस्या भएको नेकपा नेताहरूको भनाइ छ ।
मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको २८ दिन बितिसक्दा पनि कर्णाली सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij