२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । नेपाल ट्रेक्स एन्ड टुर्सका प्रबन्ध निर्देशक शरण अधिकारी थाइल्यान्डमा आइतबार आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘Responsible & Sustainable Tourism’ विधामा सम्मानित भएका छन्।
जिम्मेवार तथा दिगो पर्यटन प्रवर्द्धन, पर्यावरणमैत्री पर्यटन अभ्यास र नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न पुर्याएको योगदानको कदरस्वरूप अधिकारीलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा पर्यटन, व्यवसाय, सामाजिक सेवा, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपालको पर्यटन विकासलाई दिगो, जिम्मेवार र वातावरणमैत्री बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। पर्यटनबाट आर्थिक लाभसँगै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिन सके मात्रै दीर्घकालीन पर्यटन विकास सम्भव हुने उनको भनाइ थियो।
सापकोटाले नेपाल र थाइल्यान्डबीच पर्यटन सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिँदै थाई पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यमा आकर्षित गर्न प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको बताए। लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, पोखरा, चितवन र सगरमाथालगायत गन्तव्यलाई दिगो पर्यटनको अवधारणासँग जोडेर प्रवर्द्धन गर्न सके नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ बलियो स्थान बनाउन सक्ने उनले बताए।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले शरण अधिकारीको सम्मानले जिम्मेवार र दिगो पर्यटनका क्षेत्रमा नेपाली पर्यटन व्यवसायीले पुर्याउँदै आएको योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले वातावरण संरक्षण, स्थानीय समुदायको सहभागिता र पर्यटन विकासबीच सन्तुलन कायम गर्दै अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो। अधिकारीलाई प्राप्त सम्मानले नेपालको जिम्मेवार तथा दिगो पर्यटन अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij