२०८३ भाद्र ४ गते बिहिवार
१. हदबन्दी र भूमिसम्बन्धी पुराना मुद्दा टुङ्ग्याउन विशेष अभियान आवश्यक, नयाँ सरकारले गर्छ भन्ने आशा छः अख्तियार प्रमुख राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमिसम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्ग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताउनुभएको हो ।
२. स्थानीय तहमा भ्रष्टाचार बढ्योः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गर्नुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गर्नुभएको हो ।
३. सुशासन कायम गर्ने कार्यमा राजनीतिक हस्तक्षेप हुँदैनः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनैपनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह–पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो ।
४. संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त छैनः रवि लामिछाने
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो ।
५. वैदेशिक सहायता र सरकारी खर्चमा पारदर्शिता आवश्यकः वर्षमान पुन
नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहनुभएका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्नुभएको हो ।
६. विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया
महालेखा परीक्षक तोयम रायाले मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानूनी स्पष्टता आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले सरकारी निकाय र संस्थाहरुमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारीको स्पष्ट किटान नहुँदा बेरुजु फस्र्यौटमा समस्या देखिएको उल्लेख गर्नुभएको हो ।
७. विधि र प्रक्रिया पालना भए अख्तियारको आवश्यकता पर्दैनः प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको मुख्य दायित्व सरकारको भएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले सरकारका तीनै तहले प्रचलित ऐन, नियम र कानूनको पूर्ण पालना गरे भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै निकायको समेत आवश्यकता नपर्ने उल्लेख गर्नुभयो ।
८. राहदानी प्रकरणमा कैफियत देखिएकाले नै मुद्दा चलाइएको होः अख्तियार प्रमुख राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी (पासपोर्ट) प्रकरणमा पर्याप्त कैफियत देखिएकाले नै आयोगले मुद्दा दर्ता गरेको स्पष्ट पार्नुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो जानकारी दिनुभएको हो ।
९.रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवद्र्धन गर्ने सरकारको नीति
कृषि, वन तथा पर्यावरण मन्त्रालयले माटोको स्वास्थ्य रक्षा र दिगो उत्पादनका लागि रासायनिक मलको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक र जैविक मल प्रवर्धन गर्ने नीति अघि सारेको छ । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बिहीवार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा यसबारे स्पष्ट पार्नुभएको हो ।
१०. राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति विघटन, दुई नयाँ उपसमिति गठन
सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो ।
११. मन्त्रीपरिषद् र समितिका निर्णयमाथि अनुसन्धान गर्न आयोगको हात बाँधिएको छः प्रमुअ आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयका सम्बन्धमा विद्यमान कानुनी अस्पष्टता हटाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नीतिगत निर्णयको व्याख्या र आयोगको क्षेत्राधिकारका विषयमा कानुनी सुधारको आवश्यकता औँल्याउनुभएको हो ।
१२. भ्रष्टाचारजन्य बदनियत र प्रशासनिक त्रुटीबिच स्पष्ट सीमाङ्कन आवश्यकः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रणालीगत सुधार र कानूनी स्पष्टतामा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले भ्रष्टाचारजन्य बदनियत र सामान्य प्रशासनिक त्रुटीबिच स्पष्ट भिन्नता छुट्ट्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । मन्त्री गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक स्वतन्त्रता र कानूनी अधिकार क्षेत्रको सरकारले पूर्ण सम्मान गर्ने बताउनु भयो ।
१३. बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र आर्थिक क्षेत्रको संरचनागत सुधारमा उच्च प्राथमिकताका साथ लागिपरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले मुलुकको लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न ऐनहरू परिमार्जन र खारेजीको प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा नियुक्त हुने पदाधिकारीहरूको योग्यताको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
१४. प्रशासनिक अक्षमताका कारण वैदेशिक अनुदान शोधभर्ना नहुँदा राज्यकोषमा भार परेको भन्दै सांसद पराजुलीद्वारा ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशासनिक ढिलासुस्ती र कमजोर लेखा प्रणालीका कारण वैदेशिक सहायताका आयोजनाहरूको शोधभर्ना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले सरकारी अक्षमताका कारण वैदेशिक अनुदानबापतको रकम प्राप्त हुन नसक्दा राष्ट्रिय ढुकुटीमा अनावश्यक दबाब परेको बताउनुभएको हो ।
१५. नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले मुलुकका ठूला भ्रष्टाचार प्रकरणहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिकाप्रति प्रश्न उठाउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शाहीले गिरीबन्धु टी–स्टेट, तारागाउँ रिजेन्सी (हायात) होटलको जग्गा, नेपाल आयल निगमको जग्गा खरिद र कोभिड–१९ को समयमा भएको ओम्नी समूहको घोटालामा अहिलेसम्म मुद्दा नचलाइएको भन्दै आपत्ति जनाउनु भयो ।
१६. ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली आवश्यकः उद्योगी
नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र सुरक्षा जोखिम न्युनिकरण गर्न सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन आवश्यक रहेको बताउनुभएको हो ।
१७. कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नीतिगत निर्णयको स्पष्ट परिभाषा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप निष्पक्ष र शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले राजनीतिक हस्तक्षेप र स्पष्ट कानूनी व्यवस्थाको अभावमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभएको हो ।
१८. एलपीजी ग्यास व्यवस्थापन र सिलिण्डर ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिनुभएको हो । सभापति अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्ने विषयमा विशेष जोड दिनुभयो ।
१९. उपभोक्ताका समस्या समाधान र ग्यास आपूर्तिलाई व्यवस्थित बनाउन सांसदहरूको जोड
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उपभोक्ताले भोग्नुपरेका विविध समस्या र ग्यास आपूर्तिको अस्तव्यस्तताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको समितिको बैठकमा सांसदहरूले सहरी क्षेत्रमा घरभाडामा बस्नेहरूले भोग्नुपरेका सास्तीदेखि बजारमा देखिने ग्यासको कृत्रिम अभावसम्मका विषयमा चर्चा गरेका हुन् ।
२०. अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालमा डिजिटल भुक्तानी सहज बनाउन मास्टरकार्ड र मोकोबीच सहकार्य
नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन मास्टरकार्डले नेपालमा आफ्नो ‘पे लोकल’ सेवा शुरु गरेको छ ।यस पहलका लागि मास्टरकार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्युआर भुक्तानी प्लेटफर्म ‘मोको’ सँग सहकार्य गरेको हो । यस नवीन सेवाअन्तर्गत, विदेशी पर्यटकहरूले अब आफ्नो मास्टरकार्डलाई ‘मोको ट्राभल एप’मा आवद्ध गरी नेपालभरका ‘नेपालपे’ र ‘फोनपे’ क्युआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन् ।
२१. अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको हो । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गर्नुभयो ।
२२. अख्तियारले पद होइन, अपराध हेरेर कारबाही गर्नुपर्छः उपनेता अर्याल
नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सचिव पद्या अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभाव र डरबाट मुक्त राख्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएकी अर्यालले अख्तियारजस्तो विशिष्ट संवैधानिक निकायलाई कार्यकारीको मातहत राख्न खोज्नु गलत भएको बताउनुभएको हो ।
२३. अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको हो । सांसद सिंहले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार संस्थागत भएको उल्लेख गर्दै जनसरोकारका सरकारी निकायहरूको आलोचना गर्नुभयो ।
२४. अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल
नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता र सुशासन कायम गर्ने सवालमा राज्यका प्रमुख अङ्गहरू उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मुख्य सचेतक दुलालले आयोगको स्वायत्तताप्रति आफ्नो दल पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले संवैधानिक निकायहरूलाई सक्षम र स्वतन्त्र बनाउन संसदीय समिति सधैँ सक्रिय रहने बताउनु भयो ।
२५. अख्तियारको डरले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखियोः कानूनमन्त्री
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ को समस्या देखिएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण इमानदार कर्मचारीहरू समेत निर्णय लिन डराउने स्थिति सिर्जना भएको बताउनुभएको हो । मन्त्री गौतमले भ्रष्टाचार गर्नेहरू डराउनुपर्ने भएपनि वर्तमान अवस्थामा कर्मचारीतन्त्रले काम नगरिदिँदा सरकार कतिपय अवस्थामा ‘अनिर्णयको बन्दी’ बन्नुपरेको उल्लेख गर्नुभयो ।
२६. अख्तियारको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि सांसद न्यौपानेको प्रश्नः ‘चयनमुखी अभियोजनले न्यायको उपहास भयो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा आयोगको ध्यानाकर्षण गराउनुभएको हो ।
२७. ४० हजार उजुरीमा न्युन मुद्दा दर्ता हुनु गम्भीर विषय, प्रक्रिया मिलाएर गरिने भ्रष्टाचार चुनौतीपूर्णः सांसद पोखरेल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले मुलुकमा व्याप्त भ्रष्टाचारको अवस्था भयावह रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पोखरेलले भ्रष्टाचार नियन्त्रणका लागि केवल भाषण मात्र नभई ठोस परिणामको आवश्यकता रहेकोमा जोड दिनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारितामाथि प्रश्न उठाउनु भयो । सांसद पोखरेलले नागरिक समाजले चौतर्फी भ्रष्टाचार देख्नु र आयोगमा उजुरीको सङ्ख्या ४० हजार पुग्नुले मुलुकको बिग्रँदो अवस्थालाई पुष्टि गर्ने बताउनु भयो ।
२८. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानविरुद्ध ‘भीषण आर्थिक युद्ध’ को घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गर्नुभएको छ । बुधवार एक वक्तव्य जारी गर्दै ट्रम्पले इरानले सम्झौताका लागि दिइएको अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै यस्तो कदम चालेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले यस अभियानलाई अभूतपूर्वस्तरको आर्थिक युद्ध र एक्लोपनको संज्ञा दिनुभयो ।
२९. आफ्नो कार्यकालभित्रै अमेरिकाबाट युद्धकालीन सैन्य कमान्ड फिर्ता लिने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो कार्यकालभित्रै संयुक्त राज्य अमेरिकाबाट युद्धकालीन सैन्य परिचालन नियन्त्रण (ओपिसीओएन) फिर्ता लिने सरकारी योजनालाई पुनः पुष्टि गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले सन् २०३० मा आफ्नो कार्यकाल समाप्त हुनुअघि नै दक्षिण कोरियाली सेनाको युद्धकालीन कमान्ड पुनः प्राप्त गर्ने लक्ष्य दोहो¥याउनुभएको हो ।
३०. उत्तर कोरियाली नेता किमसँग यसै वर्ष पुनः भेटवार्ता गर्ने राष्ट्रपति ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग यसै वर्षको अन्त्यसम्ममा पुनः भेटवार्ता गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले किमसँगको भेटका बारेमा सोधिएको प्रश्नको जवाफमा आफू उनीसँग भेट्न इच्छुक रहेको बताउनुभएको हो । सो अवसरमा उहाँले उत्तर कोरियाली नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको उल्लेख गर्नुभयो ।
३१. क्यानडामाथि लगाइने ५० प्रतिशत भन्सार शुल्क तीन दिनका लागि स्थगन गर्ने ट्रम्पको घोषण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको जानकारी दिनुभएको छ । बुधवारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि रोकिएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडा र अमेरिकाबीच एक सम्झौता भएको उल्लेख गर्दै आवश्यक कागजातहरूलाई अन्तिम रूप दिन बाँकी रहेकाले सो अवधिभरका लागि शुल्क स्थगन गरिएको बताउनु भयो ।
३२. गाजा सहरको प्रहरी मुख्यालयमा इजरायली हवाई आक्रमण, ९ जनाको मृत्यु
इजरायली वायुसेनाले गाजा सहरस्थित हमासद्वारा सञ्चालित प्रहरी मुख्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा एक महिलासहित कम्तीमा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी प्रहरीले जारी गरेको संक्षिप्त विज्ञप्तिअनुसार इजरायली विमानले नगरपालिकाको प्रहरी मुख्यालयलाई निशाना बनाउँदा मानवीय क्षति भएको हो । चिकित्सा स्रोतका अनुसार आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि गाजा सहरका अस्पतालहरूमा भर्ना गरिएको छ ।
३३. गाजामा हिंसा भड्काउने इजरायली मन्त्रीको अभिव्यक्तिको संयुक्त राष्ट्र संघद्वारा निन्दा
संयुक्त राष्ट्र संघले इजरायली चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको पछिल्लो अभिव्यक्तिको निन्दा गरेको छ । गाजामा नियतवश मानिसहरूको हत्या गर्न उक्साउने खालको टिप्पणी दिएको भन्दै राष्ट्र संघले आपत्ति जनाएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले बेन–गभिरको भनाइलाई ’भयावह, अपमानजनक, अमानवीय र खतरनाक’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,‘हामी यस्ता अभिव्यक्तिको बिना सर्त निन्दा गर्दछौँ ।
३४. चीनद्वारा चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणको तयारी तिब्र
चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई उपयुक्त समयमा प्रक्षेपण गर्ने तयारी पूरा गरेको छ । चीनको म्यान्ड स्पेस एजेन्सीका अनुसार यस मिसनका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् । एजेन्सीले दिएको जानकारीअनुसार चाङ ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई बुधवार दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो गरी स्थानान्तरण गरिएको छ ।
३५. दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास कटौतीबारे ट्रम्पको सामाजिक सञ्जालबाट थाहा पाएको दक्षिण कोरियाली विदेशमन्त्रीको स्वीकारोक्ति
दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यासमा गरिएको कटौतीबारे आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामाजिक सञ्जालमार्फत जानकारी पाएको खुलासा गर्नुभएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यस सम्बन्धमा सियोललाई वासिङ्टनबाट कुनै पूर्वजानकारी प्राप्त भएको थिएन । संसदको परराष्ट्र तथा एकीकरण समितिको बैठकमा बोल्दै मन्त्री चो ले राष्ट्रपति ट्रम्पको पोस्टबारे दक्षिण कोरियाली सरकारका साथै अमेरिकी सरकारी अधिकारीहरू समेत अनभिज्ञ रहेको बताउनु भयो ।
३६. द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावबारे इराकी नेताहरू र इरानी संसदका सभामुखबीच छलफल
इराकका शिर्ष नेताहरूले बुधवार भ्रमणमा रहेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावका विषयमा छलफल गर्नुभएको छ । इराकी प्रधानमन्त्री अली अल–जैदीसँगको भेटमा प्रधानमन्त्री जैदीले इराक र इरानबीचको ऐतिहासिक, भौगोलिक र धार्मिक सम्बन्धको गहिराइलाई विशेष जोड दिनुभयो । प्रधानमन्त्रीको सञ्चार सचिवालयकाअनुसार उहाँले विशेषगरी इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको युद्धमा इरानले इराकलाई पु¥याएको सहयोगको उच्च प्रशंसा गर्नुभएको थियो ।
३७. भारतको कोलकातास्थित एक होटलमा भीषण आगलागीः एक बालकसहित ९ जनाको मृत्यु
भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित एक होटलमा बुधवार बिहान भीषण आगलागी हुँदा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ । मध्य कोलकाताको न्यु मार्केट नजिकै रहेको मिर्जा गालिब स्ट्रिट (फ्री स्कुल स्ट्रिट) स्थित होटलमा भएको उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । अधिकारीहरूकाअनुसार व्यस्त र घना बस्ती रहेको उक्त क्षेत्रमा अवस्थित होटलमा आगलागी भएपछि भवनभित्र धुवाँ भरिएको थियो ।
३८. भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
भारतको मध्य प्रदेश राज्यमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । मध्य प्रदेशको भिण्ड जिल्लास्थित ७१९ नम्बरको राष्ट्रिय राजमार्गमा एउटा यात्रुवाहक सवारीसाधन विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । स्थानीय प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
३९. म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री बार्सिलोनामा आवद्ध
स्पेनिस क्लव एफसी बार्सिलोनाले इङ्लिस क्लव म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर रोड्री हर्नान्डेजलाई अनुवन्ध गरेको छ । बार्सिलोनाले रोड्रीसँग सन् २०३० जुन महिनासम्मका लागि सम्झौता भएको आधिकारिक घोषणा गरेको हो । ला लिगाको वर्तमान विजेता बार्सिलोनाले ३० वर्षीय रोड्रीलाई भित्र्याउन म्यानचेस्टर सिटीसँग केही सातादेखि वार्ता गरिरहेको थियो।
४०. एनजीओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छः सांसद रानामगर
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उहाँले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत वहन गरिरहेको बताउनु भयो । उहाँले अरुलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो ।
४१. खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका आरोप लगाउनुभएको छ । बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उहाँले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गर्नुभएको हो । प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमासीसम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए–नगराएकोबारे समितिमा जानकारी गराउन पनि उहाँले समिति सभापतिलाई आग्रह गर्नुभयो ।
४२. नेपालले अब नयाँ पोलिटिकल एड्भेन्चर थेग्न सक्दैनः गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक िवमोचन कार्यक्रममा उहाँले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोेले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताउनु भयो ।
४३. बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करण घोषणा, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार
बाह्रखरी मिडियाले ‘बाह्रखरी कथा प्रतियोगिता’को आठौँ संस्करणको घोषणा गरेको छ । बिहीवार पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताका लागि विश्वका जुनसुकै स्थानमा रहेका नेपालीले नेपाली भाषामा कथा पठाउन सक्नेछन् । प्रतियोगिताका लागि असोज ३ गतेभित्र कथा पठाउन सकिने बाह्रखरी डिजिटल न्युजका कार्यकारी सम्पादक बलराम पाण्डेले जानकारी दिनुभयो । बाह्रखरी मिडियाका कर्मचारी तथा परिवारका सदस्यले भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
४४. वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताउनुभएको छ । सार्वजानिक लेखा समितिको बिहीवार बसेको वैठकमा उहाँले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताउनुभएको हो । वैदेशिक सहायता घट्दै गएपछि वैकल्पिक रूपमा निजी पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । उहाँकाअनुसार नेपालले पहिलो बजेटदेखि नै राजश्वले नपुग्ने खर्च वैदेशिक सहायता तथा ऋणमार्फत पूर्ति गर्दै आएको छ ।
४५. वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनका लागि प्रयोग गरियोः खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाउनुभएको छ । बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग हुने वैदेशिक सहायतालाई रोक्नुपर्ने बताउनु भयो । विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको आफूहरूले देखेको उहाँको दाबी छ ।
४६. वैदेशिक सहायता बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
संसदीय समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली र सरकारी कोषमार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्देशन दिएको हो ।
४७ं समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था होः खगेन्द्र सुनार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाउनुभएको छ । बिहीवार सर्वाजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
४८. उद्योगको फोहोर वागमतीमा मिसिँदा वागमती सफाई चुनौतीपूर्णः वागमती सभ्यता एकीकृत विकास समिति
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौं उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर वागमती नदीमा मिसिँदा नदीको पानी प्रदुषण भइरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा वागमती ब्युटिफिकेशन आयोजनासम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
४९. काँग्रेसमा संकट आउँदा प्रदीप गिरीको खोजी हुन्थ्योः मिन विश्वकर्मा
नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा संकट आउँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला र गिरीबीच राजनीतिक विषयमा मतभेद तथा टक्कर हुने गरे पनि समस्या पर्दा कोइरालाले गिरीलाई खोज्ने गरेको उल्लेख गर्नुभयो ।
५०. क्यासिनोमा होटलको १० प्रतिशत सेयर स्वामित्व हुनैपर्ने बाध्यकारी व्यवस्था हटाउन हानको माग
होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने तारे होटलमा होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रश्तावित व्यवस्था हटाउन माग गरेको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उहाँले हान अध्यक्ष विनायक शाहले यस्तो माग गर्नुभएको हो । शाहले चारतारे र पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरेपनि क्यासिनोमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने प्रावधान उचित नहुने तर्क गर्नुभयो ।
५१. पर्यटन विधेयक मुलुकको आर्थिक समृद्धिको आधारः सांसदहरु
प्रतिनिधि सभाका सांसदहरूले पर्यटन विधेयक मुलुकको आर्थिक समृद्धिको आधार भएको भन्दै यसलाई तत्कालको आवश्यकताको आधारमा मात्र नभई दीर्घकालिन सोचका साथ समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँहरुले यस्तो बताउनुभएको हो । पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक समृद्धि र मुलुकमा रोजगारी बृद्धि गर्न पर्यटन विधेयकले महत्वपूर्ण भुमिका खेल्ने उनीहरुको भनाइ छ ।
५२. प्रविधिको पहुँच नहुँदा दूरदराजका होमस्टे अन्यायमाः होमस्टे महासंघ
होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाले होमस्टेका नाममा विकृति बढेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रविधिमा पहुँच भएका सहरी क्षेत्रका होमस्टेको तुलनामा दूरदराजमा वास्तविक रूपमा सञ्चालन भइरहेका होमस्टे अन्यायमा परेको बताउनु भयो ।
५३. वागमतीमा ढल तथा फोहोर पानी विसर्जन तत्काल रोक्न सरकारलाई पूर्वाधार विकास समितिको निर्देशन
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले वागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै समिति सभापति आशिष गजुरेलले वागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिनुभयो ।
५४. सिमित नेताहरुले रजगज गरेर पार्टी समस्यामा पार्नुहुँदैन, ९९ प्रतिशत कार्यकर्ता एकताको पक्षमा छन्ः नैनसिंह महर
नेपाली काँग्रेसका नेता नैनसिंह महरले काँग्रेसका अधिकांश क्रियाशील सदस्य र शुभचिन्तक पार्टी एकताका पक्षमा रहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा महरले पार्टीका आठ लाख क्रियाशील सदस्य र १७ लाख शुभचिन्तक पार्टी एकताको पक्षमा रहेको दाबी गर्नुभएको हो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij