२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र संवैधानिक मर्यादा कायम राख्न आग्रह गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्रीको मातहतको संस्था नभएको भन्दै कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा उनीहरूकहाँ जान नहुने बताएका हुन् ।
संसदीय समिति निगरानी गर्ने निकाय भएकाले अख्तियारका पदाधिकारी समितिको बैठकमा उपस्थित हुनु स्वाभाविक भए पनि कार्यपालिकाको दबाब वा प्रभावमा पर्न नहुने उनको भनाइ छ ।
‘कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा तपाईँहरू नजानुहोस्,’ सिंहले भने, ‘अख्तियार प्रधानमन्त्रीको मातहतको संस्था होइन । तपाईँहरूले त्यति हिम्मत त राख्नैपर्छ ।’
उनले प्रधानमन्त्रीले बोलाएमा अख्तियारका पदाधिकारीले आफू प्रधानमन्त्रीको मातहतमा नरहेको स्पष्ट पार्दै बोलाउनुको कारण लिखित रूपमा माग गर्न सक्नुपर्ने बताए ।
‘प्रधानमन्त्रीज्यू, म तपाईँको मातहतमा छैन, त्यसैले म आउँदिनँ । के कामको लागि बोलाउनुभएको हो, लिखित रूपमा दिनुहोस् भनेर भन्न सकिँदैन ?’ उनले प्रश्न गरे ।
लिखित रूपमा जवाफ मागेर अख्तियारले आफ्नो संवैधानिक हैसियत र गरिमा बढाउनुपर्ने सिंहको भनाइ छ । अख्तियारलाई संवैधानिक निकायको रूपमा स्वतन्त्र र प्रभावकारी ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
सिंहले अख्तियारको स्वतन्त्रता कमजोर हुँदा संवैधानिक निकायप्रतिको नागरिकको विश्वाससमेत घट्ने भएकाले पदाधिकारीहरूले आफ्नो संवैधानिक अधिकार र जिम्मेवारीप्रति दृढ हुनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij