२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापाको पक्षमा फैसला गरेको छ । अदालतले उनलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने आदेश दिएको हो ।
ललितपुर महानगरपालिका–२ की थापाले सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एयरवेजको उडान नम्बर QR 744 मा यात्रा गरिरहेकी थिइन् । सोही क्रममा क्याबिन क्रुले दिएको अत्यधिक तातो कफी उनको तिघ्रा तथा शरीरका संवेदनशील भागमा पोखिँदा उनलाई दोस्रो तहको जलन भएको थियो ।
थापाले विमान कम्पनीको लापरबाही, अत्यधिक तातो कफी, प्राथमिक उपचारको अभाव र सावधानी नअपनाइएको भन्दै क्षतिपूर्तिको माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी मोन्ट्रियल महासन्धि १९९९ र उपभोक्ता संरक्षण ऐन २०७५ लाई आधार मान्दै कतार एयरवेजको सेवा त्रुटि देखिएको ठहर गरेको हो ।
अदालतले विश्व स्वास्थ्य संगठनसहित अन्तर्राष्ट्रिय मापदण्डअनुसार पिउन योग्य कफीको तापक्रम ६५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्नेमा कतार एयरवेजले ७० देखि ८० डिग्रीसम्मको कफी सर्भ गरेको स्वीकार गरेको उल्लेख गरेको छ ।
कफीको कपमा बिर्को नलगाइएको र आवश्यक सावधानीका संकेतसमेत नअपनाइएको कारण दुर्घटना भएको अदालतको निष्कर्ष छ ।
कतार एयरवेजले यात्रु आफैँले कफी पोखाएको र कर्मचारीको गल्ती नभएको दाबी गरे पनि अदालतले विमानभित्र यात्रुलाई भएको क्षतिको जिम्मेवारी कम्पनीकै हुने भन्दै उक्त जिकिर अस्वीकार गरेको छ ।
यो फैसला उपभोक्ता अदालत स्थापना भएपछि ठूलो बिगो भएको र अन्तर्राष्ट्रिय हवाई दायित्वसम्बन्धी महासन्धिको व्याख्या गरिएको महत्वपूर्ण फैसलाका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij