Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार र आइतबार पार्किङदेखि व्यवस्थापनसम्म विशेष तयारी

नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार र आइतबार पार्किङदेखि व्यवस्थापनसम्म विशेष तयारी


  • 512
    Shares

    नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार र आइतबार पार्किङदेखि व्यवस्थापनसम्म विशेष तयारी
    images

    काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ताको सहभागिता देखिएपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ। 

    बिदाका दिनमा अझ बढी भीड हुने अनुमान गर्दै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले विशेषगरी पार्किङ व्यवस्थापनमा ध्यान दिएको जनाएको छ।

    नाइमा एक्स्पोमा चौथो दिनसम्म १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। आयोजकले दैनिक औसत २५ हजार र एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो। तर सुरुवाती चार दिनकै सहभागिता अपेक्षाभन्दा बढी भएपछि बिदाका दिनका लागि व्यवस्थापन थप सुदृढ गर्न लागिएको हो।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि शनिबार र आइतबार पार्किङको विशेष व्यवस्था गरिएको बताए।

    “सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भएर पनि पार्किङका लागि स्पेस अभाव भइरहेको थियो,” उनले भने, “अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण शनिबार र आइतबारका लागि हामीले पार्किङको विशेष तयारी गरेका छौँ।”

    एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले एक्स्पो खुल्नुअघि नै गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको बताए। उनका अनुसार एक्स्पो स्थल बिहान ११ बजे खुल्ने भए पनि बिहान १० बजेदेखि नै अवलोकनकर्ता पुग्न थालेका छन्।

    चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता

    एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले अवलोकन गरेका थिए। चौथो दिन मात्रै ३१ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्।

    एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न वितरक कम्पनीले नयाँ मोडल सार्वजनिक गर्नुका साथै खरिदकर्तालाई आकर्षित गर्न विभिन्न अफरसमेत दिएका छन्।

    अवलोकनकर्ताले विशेषगरी इभिको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुका विषयमा चासो देखाएका छन्।

    कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराइरहेका छन्।

    एक्स्पो अवधिमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। चारपाङ्ग्रे सवारीसँगै दुईपाङ्ग्रे सवारीका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी महँगा मोटरसाइकल तथा स्कुटरमा युवाको आकर्षण देखिएको आयोजकले जनाएको छ।

    अवलोकनकर्ताले नाइमा एक्स्पोलाई आफूले चाहेको क्षमताअनुसारको सवारीसाधन छनोट तथा बुकिङ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

    एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। यसले पनि सवारीसाधन खरिदमा ग्राहकको चासो बढाएको व्यवसायीहरूको भनाइ छ।

    एक्स्पोअन्तर्गत शुक्रबार ‘टेक्निकल : ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको छ।

    लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले सहजीकरण गरेको संवादमा भेइकल फिटनेस टेस्ट सेन्टरका सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठ, म्यानेजमेन्ट एन्ड होमोलोगेसन एक्सपर्ट प्रा. डा. बलराज भनोट, लोहम क्लिनटेक इन्डियाका बिजनेस पार्टनरसिप एजीएम जतिन मक्कार, अटोमोबाइल उद्योग तथा मोबिलिटी क्षेत्रका विज्ञ आकाश गोल्छा, एसोसिएसन फर अटोमोबाइल एन्ड मोबिलिटी (जाम) नेपालका निवर्तमान अध्यक्ष सागर गजुरेल र रिब्याटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत करण खुराना सहभागी थिए।

    यसअघि बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल भएको थियो। बुधबार ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा लर्निङ सेसन आयोजना गरिएको थियो भने एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो।

    एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ।

    नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड, नयाँ विद्युतीय कार, इ-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्। बिदाका दुई दिनमा अझ ठुलो भीड हुने अनुमान गरिएकाले आयोजकले पार्किङ, प्रवेश तथा समग्र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - २१:३२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij