Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

आज दिनभरको ५३ खबर

आज दिनभरको ५३ खबर


  • 638
    Shares

    आज दिनभरको ५३ खबर
    images

    १. वार्षिक एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह

    सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्युन लक्ष्यमा मात्र सिमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । 
    नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले मुलुकको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तिब्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनु भयो । विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ ।

    २. रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पु¥याउनु मेरो जिम्मेवारी होः सन्दीप

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ । आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताउनु भयो ।

    ३. राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा हुँदैनः मन्त्री पौडेल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताउनुभएको छ । नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना अपरिहार्य भएको बताउनु भयो । 

    ४. युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः  डा.महेश्वर ढकाल

    कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 
    काठमाडौंमा शुक्रवार लोकल कन्फरेन्स अफ युथलाई सम्बोधन गर्दै डा. ढकाललले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरुले आफ्नो भुमिका पहिचान गर्नुपर्ने बताउनुभएको हो । युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशाको केन्द्र भएकाले उनीहरुले बोल्ने, लेख्ने, प्रश्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने बताउनुभएको हो । पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अझ अनुशासित र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दे उहाँले  युवाहरूमा अनुशासन, नम्रता र विनम्रता आवश्यक रहेको बताउनु भयो । 

    ५. मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन्

    राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अत्यन्तै न्युन रहेको बताउनुभएको छ । संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये ५२.६० प्रतिशत कार्यान्वयन नभएको जानकारी दिनुभएको हो । मानव अधिकारको वर्तमान अवस्था र आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा भएको छलफलमा उहाँले कुल सिफारिसमध्ये हालसम्म १३.९ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयन भएको र ३४.१२ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको बताउनु भयो । 

    ६. भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो । जसअनुसार राष्ट्रिय टोलीको एकदिवसीय (ओडिआई) फम्र्याटको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । यसअघि रोहित पौडेलले नेतृत्व गर्दै आउनुभएको थियो । 

    ७. भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

    सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले यसबारे जानकारी गराउनुभएको हो । प्रवक्ता अर्यालकाअनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) र निजामती किताबवखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकाले आगामी भदौ १ गतेदेखि उक्त कार्यालयले नयाँ संरचनाअनुसार पूर्ण रूपमा कार्य प्रारम्भ गर्नेछ । 

    ८. प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदैः महानिरीक्षक कार्की

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाउन सुधारका कार्यहरू अगाडि बढाइएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले आधुनिक प्रविधि, दक्ष जनशक्ति र संरचनागत सुधारमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानिरीक्षक कार्कीकाअनुसार वि.सं. २०१८ सालयता फरेन्सिक युनिटमा अपेक्षित जनशक्ति र स्रोतसाधन वृद्धि हुन सकेको छैन । यसलाई सम्बोधन गर्न प्रहरीले प्रादेशिक स्तरमा फरेन्सिक सेवा विस्तार गर्ने योजना बनाएको छ । हाल मधेस, वागमती र कोशी प्रदेशलाई लक्षित गरी हेटौँडामा काठमाडौंकै मापदण्डको ल्याव स्थापना गर्ने तयारी भइरहेको र बाँकेमा पनि यसको विस्तार गरिने उहाँले जानकारी दिनुभयो । 

    ९.पोखराको पृथ्वीचोकमा महानगरद्वारा निर्मित ‘कोसेली घर’ उद्घाटन

    पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभयो । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताउनु भयो । 

    १०. पर्यटन बोर्डको पुनर्संरचना आवश्यकः सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले नेपाल पर्यटन बोर्डको नीतिगत पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको सुधारका लागि कडा कदम चाल्नुपर्ने बताउनुभएको हो । उहाँले कार्यसम्पादनमा आधारित नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । सभामुख अर्यालले पर्यटन बोर्ड र अब नियुक्त हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल कार्यसम्पादन (पर्फमेन्स) मा आधारित हुनुपर्ने स्पष्ट पार्नुभयो । कुनैपनि क्षेत्रको नियुक्ति अब योग्यता र नतिजामुखी हुनुपर्ने उहाँको भनाइ छ । 

    ११. नेपाली काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला

    नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताउनुभएको छ । शुक्रवारदेखि शुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेस एकीकृत भएको खण्डमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभएको हो । सम्बोधनका क्रममा डा. कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसङ्गहरू स्मरण गर्नुभयो । वीपी कोईरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उहाँले बनारसमा रहँदाका स्मृतिहरू साझा गर्नुभयो ।

    १२. नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह

    नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुने बताउनुभएको हो । उद्घाटन सत्रमा बोल्दै नेता सिंहले वीपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेर जस्ता संस्थापक नेताहरूले प्रजातान्त्रिक पद्धतिको सुदृढीकरणका लागि काँग्रेस स्थापना गरेको स्मरण गर्नुभयो ।

    १३. नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का

    नेपाली काँग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता वर्तमान समयमा गम्भीर संकटमा रहेको बताउनुभएको छ । पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित काँग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गर्नुभयो । खड्काले वि.सं. २०३३ सालमा जननायक वीपी कोईरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गर्नुभयो ।

    १४. नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत सुधार र पूर्वाधार विकासका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । अध्यक्ष श्रेष्ठले पर्यटन ऐन र कम्पनी ऐन जस्ता महत्वपूर्ण कानूनहरू निर्माण गर्दा निजी क्षेत्रलाई पर्याप्त समय नदिई हतारमा सुझाव मागिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

    १५. नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम

    नयाँ बानेश्वरस्थित नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम शुरु गरिएको छ । वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । वृक्षारोपण कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको विशिष्ट उपस्थिति रहेको थियो । सो अवसरमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए । 

    १६. नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको शुरुवात भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिनुभयो । आगामी मलेसिया भ्रमणको चर्चा गर्दै प्रशिक्षक लले त्यहाँको पिच स्पिनमैत्री हुनसक्ने र नेपाली टोलीमा युवा तथा अनुभवी खेलाडीको उत्कृष्ट सन्तुलन रहेकाले त्यसको फाइदा पुग्ने विश्वास व्यक्त गर्जुभयो ।

    १७. देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड

    नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वर्तमान समयमा देशको अस्तित्व र राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक परिस्थितिलाई चिर्न काँग्रेस एकजुट हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो । नेता कोईरालाले स्वास्थ्य उपचारपश्चात् करिब पाँच महिनापछि स्वदेश फर्कनुभएका पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सुस्वास्थ्यको कामना गर्नुभयो । नेता कोइरालाले नेपाली काँग्रेस सधैँ सबैलाई मिलाएर लैजाने र निरंकुशता स्वीकार नगर्ने पार्टी भएको स्मरण गराउनु भयो । 

    १८. देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार्नुस्

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताउनुभएको हो । पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताउनु भयो ।

    १९. दीर्घ रोगी कैदीलाई परिवारको निगरानीमा राख्न सकिने गृहसचिवको प्रश्ताव

    गृहसचिव राजकुमार श्रेष्ठले मुलुकका कारागारहरूलाई भौतिक पूर्वाधारमा सुधार गर्दै ‘सुधार गृह’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।  शुक्रवार संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार व्यवस्थापन र कैदीबन्दीको अधिकारका विषयमा यस्तो बताउनुभएको हो । गृहसचिव श्रेष्ठले वर्तमान कारागार नियमावलीले कैदीबन्दीको प्रजनन अधिकारलाई उपयोग गर्ने अवसर प्रदान गरेको भएपनि भौतिक पूर्वाधारको अभावले गर्दा यसको कार्यान्वयनमा चुनौती देखिएको स्वीकार गर्नुभयो । कारागारलाई दण्ड गृहभन्दा पनि सुधार गृहको रूपमा लैजानुपर्ने सोचलाई मूर्त रूप दिन पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

    २०. जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

    पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो । कुल १० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार र ट्रफी पाउनेछ । जापानिज एजुकेसन ग्रुपले बानेश्वरमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 

    २१. जलवायु परिवर्तनका मुद्दामा युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने मन्त्री चौधरीको प्रतिवद्धता

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रवारदेखि शुरु भएको तीन दिने ‘लोकल कन्फरेन्स अफ युथ’ (एलसीओवाई) को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । मन्त्री चौधरीले नेपालको जलवायु परिवर्तनमा न्युन योगदान रहे पनि भौगोलिक संवेदनशीलताका कारण नेपाल विश्वकै अति जोखिमपूर्ण मुलुकको सूचीमा रहेको उल्लेख गर्नुभयो ।

    २. कारागारको दयनीय अवस्था र व्यवस्थापनमा सुधार गर्न सांसदहरूको माग

    देशभरका कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र उनीहरूको आधारभुत मानव अधिकार समेत सुनिश्चित हुन नसकेको भन्दै सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । संघीय संसदका विभिन्न संसदीय समितिका बैठकहरूमा सांसदहरूले कारागारको दयनीय भौतिक पूर्वाधार, स्वास्थ्य सुविधाको अभाव र कानूनी जटिलताका कारण कैदीबन्दीहरूले कष्टकर जीवन बिताउनुपरेको उल्लेख गरेका हुन् । ज्येष्ठ नागरिक, गम्भीर बिरामी र आश्रित बालबालिकाहरूको उचित व्यवस्थापनका साथै विद्यमान कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमार्फत कारागारको चाप कम गर्न उनीहरूले सरकारलाई सुझाव दिएका छन् । 

    २३. कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनीतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । मन्त्री गौतमले कारागार निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै कारागारको विद्यमान अवस्था र कानुनी सुधारको आवश्यकता औंल्याउनु भयो ।

    २४. कारागार सुधार र मानव अधिकार संरक्षणका लागि संसदीय समितिको निर्देशन

    संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिकी सभापति समीक्षा बास्कोटाले बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन, २०८३ लाई परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरेको बताउनु भयो । उक्त प्रतिवेदनमा गृह मन्त्रालय, कानून मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त सुझावहरू समावेश गरी थप व्यवहारिक र कार्यान्वयन योग्य बनाइने समितिले जनाएको छ । 

    २५. कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ

    गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कारागार सुधार र कैदीबन्दीका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भयो । गृहमन्त्री गुरुङले वि.सं. २०१९ को कारागार ऐनलाई २०७९ मा संशोधन गरिए पनि त्यो अझै पर्याप्त र समयसापेक्ष नभएको उल्लेख गर्नुभयो । 

    २६. काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ शुरु, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने

    काठमाडौंमा शुक्रवार ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) शुरु भएको छ । जलवायुकार्यमा युवाहरुको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरुलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ सम्मेलन गरिएको आयोजकले जनाएको छ । ‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ शुरु सम्मेलनले राज्यका हरेक संयन्त्रमा अर्थपुर्ण सहभागितासँगै निर्णय प्रक्रियामा युवाको संलग्नता सुनिश्चित गर्नेगरी नीतिगत सुझाव तयार गर्नेछ । त्यसैगरी स्थानीय जलवायु कार्यलाई राष्ट्रिय र विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र तयार गर्ने बताइएको छ । 

    २७. काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली काँग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गर्नुभएको हो । उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

    २८. काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक

    नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान वैचारिक तथा संगठनात्मक मतभेदलाई अन्त्य गर्दै काँग्रेसलाई एकतावद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भुमिका निर्णायक हुने बताउनुभएको छ । रोपार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता लेखकले देशको वर्तमान परिस्थिति जटिल रहेको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतन्त्र र राष्ट्रिय एजेण्डाहरूलाई सम्बोधन गर्न काँग्रेस अनुशासित र सुसंगठित हुनुपर्नेमा जोड दिनुभयो । 

    २९. काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार

    नेपाली काँग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी संगठनलाई एकतावद्ध बनाउने जिम्मेवारी नेतृत्व र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताउनुभएको छ । संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले पार्टी पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापा लगायतका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । आफ्नो सम्बोधनका क्रममा गच्छदारले पूर्वसभापति देउवालाई गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । 

    ३०. अविल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो

    बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको छ । कास्की प्रहरीकाअनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्डहरू बगाएको छ । वीरेठाँटी नजिकैको करिव १०० मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडकको जग नै बगाएका कारण पैदल यात्रीका लागिसमेत आवतजावत गर्ने बाटो बाँकी नरहेको प्रहरीले जनाएको छ । 

    ३१. ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई नेता बस्नेतको चुनौती

    नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिनुभएको छ । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गर्नुभएको हो । नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उनले घोषणा गरेको ५५ वर्षको उमेर हद नाघिसक्ने उल्लेख गर्नुभयो । पार्टीको वर्तमान अवस्था र नेतृत्वका सम्बन्धमा टिप्पणी गर्दै नेता बस्नेतले शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्नुभयो । 

    ३२. १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी

    नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पार्नुभएको छ । संस्थापन इतर पक्षबाट डा. शशांक कोईरालाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता निधीले १५ औं महाधिवेशनलाई सशक्त, सार्थक र सफलतापूर्वक सम्पन्न गर्नु नै अहिलेको मुख्य प्राथमिकता र कर्तव्य भएको उल्लेख गर्नुभयो । पार्टीको विधान र स्थापित परम्पराअनुसार १४ औं महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिले नै आगामी महाधिवेशनको नेतृत्व गर्नुपर्ने उहाँको तर्क छ ।

    ३३. १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद

    नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रको आन्तरिक एकताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता अनिवार्य रहेको बताउनुभएको छ । संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टी अहिले गम्भीर चुनौती र संकटको अवस्थामा रहेकाले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । नेता साउदले पार्टी पूर्व सभापति शेरबहादुर देउवाका तर्फबाट विगतमा पनि एकताका लागि पहल भएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो । 

    ३४. ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’ः सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताउनुभएको छ । यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको बताउनुभएको हो । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको जानकारी दिनुभयो । 

    ३५. ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’ः नेता सिटौला

    नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताउनुभएको छ । संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे कडा टिप्पणी गर्नुभएको हो । नेता सिटौलाले सम्बोधनका क्रममा मुलुकको वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र स्वाधीनताको परिकल्पना गरेको उल्लेख गर्नुभयो ।

    ३६. ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’ः डा. प्रकाशशरण महत

    नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक एकता, वैधानिकता र प्रजातान्त्रिक विचारको रक्षाका लागि पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. महतले पार्टीलाई पद्धति र प्रक्रियाभन्दा बाहिर लगेर कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो । नेता महतले चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई विस्थापित गर्न अनावश्यक रूपमा विशेष महाधिवेशनको प्रपञ्च रचिएको उल्लेख गर्नुभयो ।

    ३७. अमेरिकाद्वारा आयातित ड्रोन र यसका पार्टपुर्जामा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा

    संयुक्त राज्य अमेरिकाले विदेशबाट आयात गरिने ड्रोन तथा यसका पार्टपुर्जा र उपकरणहरूमा १० देखि १०० प्रतिशतसम्म एड भ्यालोरम (मूल्यमा आधारित) भन्सार शुल्क लगाउने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस सम्बन्धी एक घोषणापत्रमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । नयाँ व्यवस्थाअनुसार अब अमेरिका भित्रिने ड्रोन र तिनका सहायक सामग्रीहरूमा तोकिएको दरमा अतिरिक्त भन्सार महशुल लाग्नेछ ।

    ३८. जाम्बियामा आम निर्वाचन सम्पन्नः ८७ लाख मतदाता सहभागी

    जाम्बियामा नयाँ राष्ट्रपति, राष्ट्रिय सभाका सदस्य र स्थानीय प्रतिनिधिहरू चयनका लागि बिहीबार आम निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनमा करिब ८७ लाख दर्ता भएका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् । देशभरका मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ६ बजेदेखि खुल्ला गरिएको थियो । २२६ निर्वाचन क्षेत्र र १,८५८ वडाहरूमा फैलिएको यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस पटकको निर्वाचनमा सत्तारुढ युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्टका तर्फबाट वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिमेला पुनः चुनावी मैदानमा हुनुहुन्छ । 

    ३९. टर्कीका राष्ट्रपति एर्दोगान र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच भेटवार्ताः स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको पक्षमा टर्कीको प्रतिवद्धता

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सन् १९६७ को सीमामा आधारित दुई–राज्य समाधानप्रति आफ्नो समर्थन पुनः दोहो¥याउनुभएको छ । अङ्करामा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति एर्दोगानले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले भन्नुभयो, ‘हामी पूर्वी जेरुसेलम राजधानी भएको र भौगोलिक अखण्डता सुनिश्चित भएको स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि दृढतापूर्वक सङ्घर्ष जारी राख्नेछौँ ।’ उहाँले टर्कीले हरेक अन्तर्राष्ट्रिय मञ्चमा प्यालेस्टिनी मुद्दालाई सम्भव भएसम्मको सशक्त ढङ्गले उठाइरहने समेत बताउनु भयो । 

    ४०. जाम्बियामा आम निर्वाचन सम्पन्नः ८७ लाख मतदाता सहभागी

    जाम्बियामा नयाँ राष्ट्रपति, राष्ट्रिय सभाका सदस्य र स्थानीय प्रतिनिधिहरू चयनका लागि बिहीबार आम निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनमा करिब ८७ लाख दर्ता भएका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका छन् । देशभरका मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ६ बजेदेखि खुल्ला गरिएको थियो । २२६ निर्वाचन क्षेत्र र १,८५८ वडाहरूमा फैलिएको यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस पटकको निर्वाचनमा सत्तारुढ युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्टका तर्फबाट वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिमेला पुनः चुनावी मैदानमा हुनुहुन्छ । 

    ४१. भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु

    भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार यी दुर्घटनाहरूको पुष्टि गरेका हुन् । दक्षिण भारतीय राज्य तेलङ्गानामा एउटा भारी सवारी साधनले तीन पाङ्ग्रे सवारी साधन (अटो) लाई ठक्कर दिँदा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैगरी, भारतको मध्य प्रदेश राज्यमा भएको अर्को घटनामा एकै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण उर्लिएको नालाले यात्रुवाहक सवारी साधनलाई बगाउँदा उक्त हताहती भएको हो ।

    ४२. मंगोलियाको झन्डै ८२ प्रतिशत भूभाग मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित

    मंगोलियाको कूल भूभागको कम्तीमा ८१.९ प्रतिशत क्षेत्र कुनै न कुनै रूपमा मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित भएको पाइएको छ । मंगोलियाको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले बुधवार सार्वजनिक गरेको नयाँ राष्ट्रिय मूल्याङ्कन प्रतिवेदनले यस्तो डरलाग्दो तथ्य उजागर गरेको हो । मन्त्रालयकाअनुसार सन् १९८९ मा मंगोलियाको पहिलो मरुभूमीकरण नक्सा तयार पारिएयता राष्ट्रियस्तरमा आवधिक रूपमा यस्ता अध्ययनहरू हुँदै आएका छन् । सन् १९९१ देखि २०२५ सम्म सङ्कलित तथ्याङ्कका आधारमा तयार पारिएको यो छैटौँ राष्ट्रिय मूल्याङ्कन प्रतिवेदन हो। 

    ४३. मलेसियाको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धिः दोस्रो त्रैमासमा ७.७ प्रतिशतको विस्तार

    सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको औद्योगिक उत्पादन सूचकांकमा ७.७ प्रतिशतको वृद्धि भएको छ । खानी, उत्पादन (म्यानुफ्याक्चरिङ) र विद्युत क्षेत्रको उत्पादनमा आएको सुधारका कारण औद्योगिक वृद्धिदरमा तिब्रता आएको मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ को पहिलो त्रैमासमा औद्योगिक उत्पादन वृद्धिदर ४ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा यसमा उल्लेख्य सुधार देखिएको हो । विभागकाअनुसार दोस्रो त्रैमासमा खानी क्षेत्रको उत्पादनमा ९.४ प्रतिशत, उत्पादन क्षेत्रमा ७.४ प्रतिशत र विद्युत् क्षेत्रमा ७.३ प्रतिशतको वृद्धि भएको छ ।

    ४४. म्यानमारको याङ्गुनमा ९० जनाभन्दा बढीमा हैजा पुष्टि, एक जनाको मृत्यु

    म्यानमारको याङ्गुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल याङ्गुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हैजाका अधिकांश बिरामीहरू लनमाड, लाथा, पाबेदान र क्याउक्टाडा क्षेत्रमा भेटिएका हुन् । 

    ४५. यमनमा पुनः भीषण गृहयुद्धको उच्च जोखिम रहेको संयुक्त राष्ट्रसंघको चेतावनी

    यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा फेरि ठूलो स्तरको सैन्य द्वन्द्व निम्तिन सक्ने उच्च जोखिम रहेको चेतावनी दिनुभएको छ । बिहीवार सुरक्षा परिषद्लाई भिडियो लिंकमार्फत सम्बोधन गर्दै विशेष दूत ग्रुन्डबर्गले सन् २०२२ मा राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामयताकै सबैभन्दा गम्भीर अवस्था अहिले सिर्जना भएको बताउनु भयो । ग्रुन्डबर्गकाअनुसार यमनका विभिन्न अग्रपंक्ति (फ्रन्टलाइन) हरूमा सैन्य गतिविधिहरू तिब्र भएका छन् । विशेषगरी मारिब, हद्रामौत र मोखा लगायतका क्षेत्रमा अंसार अल्लाह (हुथी विद्रोही समूह) ले गरेका पछिल्ला आक्रमणहरूका कारण सैन्य कर्मचारी र सर्वसाधारणको ज्यान गएको उहाँले जानकारी दिनुभयो । 

    ४६. एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैनः पूर्वमुख्यसचिव बैरागी

    परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिदको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताउनु भयो । 

    ४७. निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा

    नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताउनु भयो । नेपाली काँग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    ४८. नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्नै सकेनः पूर्वमुख्यसचिव बैरागी

    परराष्ट्र मामिलाका विज्ञ एवं पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलहरुले परराष्ट्र नीतिलाई आफूअनुकुल प्रयोग गर्ने गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति परिवर्तन हुन नहुने भन्दै राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमा आधारित परराष्ट्र नीति आवश्यक रहेको बताउनु भयो । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितसँग जोडिएका विषयमा मुुलुकको सबैपक्षबीच साझा धारणा हुन आवश्यक रहेको उहाँको भनाइ छ । 

    ४९. न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भुमिका खेल्न आवश्यकः न्यायाधीश टेकप्रसाद ढुंगाना

    सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार नेपाल बार एशोशिएशनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वतन्त्र, सक्षम र अनुभवी कानून व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रुपमा कार्यसम्पादन गर्नसक्ने समेत बताउनु भयो । उहाँले वित्तीय अपराध, भ्रष्टाचार र सम्पती शुद्धीकरणजस्ता विषयमा कानून व्यवसायी तथा न्यायकर्मीमा ज्ञानको कमी हुन नदिन जर्नल प्रकाशनलाई प्राथमिकता दिनुपर्ने समेत बताउनु भयो । 

    ५०. पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेजमा विशेष छुट पाउने

    पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज (केएमसी)बाट स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन् । शुक्रवार पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचार सहयोग प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार परिषद्मा आवद्ध पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल तथा काठमाडौं मेडिकल कलेजअन्तर्गतको अस्पतालमा जाँदा विभिन्न उपचार सेवामा छुट पाउनेछन् ।

    ५१. प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति

    नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । शुक्रवार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने र प्रधानन्यायाधीशले आफूखुशी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावन िसमेत दिनुभयो । 

    ५२. मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं आयोजित एक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारी सेवाहरु ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष पाण्डेले उद्योग विभागका सबै सेवाहरु डिजिटल प्रणालीमार्फत हुने कुराले  सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनु भयो । उहाँले विगतमा समेत उद्योग विभागले डिजिटल प्रणालीमर्फत सेवा प्रवाह गर्ने भनेपनि फाइल बोकेर कुद्नुपर्ने अवस्था रहेकोमा अगामी दिनमा त्यस्तो अवस्था आउन नदिने कुरामा विभाग गम्भीर हुनुपर्ने बताउनु भयो ।

    ५३. राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा

    नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भुमिका निर्वाह गर्न तयार रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो। –न्युज एजेन्सी नेपाल

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - २०:५६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij