२०८३ श्रावण २८ गते बिहिवार
१. राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो ।
२. सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य विक्री कक्ष शुरु गरिएको छ । बिहीबार मन्त्रालय परिसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य विक्री कक्षको उद्घाटन गर्नुभएको हो ।
३. राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले महँगीका कारण आम सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनेको बताउनु भयो ।
४. सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिनुभएको हो ।
५. राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो ।
६. जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यनाकर्षण गराउनुभएको हो ।
७. नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारको १०० बुँदे कार्ययोजना र कार्यसम्पादनको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रखालले सरकारका कामहरू नतिजामुखी हुनुको सट्टा नागरिकका लागि पीडादायी बनेको आरोप लगाउनुभएको हो ।
८. राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
९. नेपाली काँग्रेसका नेता डा। शशांक कोईरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ । बिहीवार देउवा स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोईरालाले यस्तो दाबी गर्नुभएको हो ।
१०. पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । ‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै सिन्हाले नेपाली युवाहरूले स्वदेशमै अवसर र शान्ति सुव्यवस्थाको खोजी गरिरहेको बताउनुभएको हो ।
११. नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा। प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा। महतले उक्त विचार व्यक्त गर्नुभएको हो ।
१२. राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहनुभएको छ ।
१३. राष्ट्रिय खेलकुद परिषद्को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।
१४. राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताउनुभएको हो ।
१५. नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्किनुभएको छ । उहाँ बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
१७. पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालको प्रचलित परराष्ट्र नीति र कुटनीतिक अभ्यासमाथि प्रश्न उठाउँदै यसलाई समयसापेक्ष पुनर्परिभाषित गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
१८. पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ ।
१९. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामुहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
२०. सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजनासहितको कानूनी र नीतिगत प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
२१. नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा। राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताउनुभएको छ ।
२२. राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताउनुभएको छ ।
२३. नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि प्रश्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ ।
२४. ‘सरकारका तीन पूर्वमुख्यसचिवहरूले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको अभाव र आन्तरिक क्षमता अभिवृद्धि नगरी लिइने अन्तर्राष्ट्रिय सदस्यताले मुलुकलाई जोखिममा पार्ने औंल्याउनुभएको छ ।
२५. नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ । बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ ।
२६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
२७. इन्डोनेसियाको लोम्बोक टापु नजिकै बुधबार बिहान एउटा यात्रुवाहक फेरीमा आगलागी भएको छ । पुत्री यास्मिन नामक उक्त फेरीमा आगलागी भएपछि हालसम्म ११२ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
२८. कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ । राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् ।
२९. इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच बुधबार टेलिफोन वार्ता भएको छ । इजिप्टको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच क्षेत्रीय तनाव न्यूनीकरण गर्ने र मध्यपूर्वमा स्थिरता कायम गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो ।
३०. टर्कीको संसदले दशकौँ लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० को निशस्त्रीकरण र पुनर्मिलनका लागि एक ऐतिहासिक कानुनी ढाँचा पारित गरेको छ ।
३१. दक्षिण कोरियाको सर्वोच्च अदालतले बुधवार जापानी कम्पनी निप्पोन स्टिल कर्पोरेसनलाई एक मृतक कोरियाली नागरिकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अन्तिम आदेश जारी गरेको छ । सन् १९१० देखि १९४५ सम्मको जापानी औपनिवेशिक शासनकालमा ती व्यक्तिलाई जबरजस्ती श्रममा लगाएको ठहर गर्दै अदालतले ८ करोड वन क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
३२. सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको बेरोजगारी दर झिनो अंकले वृद्धि भई ३ प्रतिशत पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो त्रैमासिकमा २।९ प्रतिशत रहेको बेरोजगारी दर यस अवधिमा सामान्य बढेको हो ।
३३. अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडको जलस्तर हालसम्मकै न्युन बिन्दुमा पुगेको छ । अमेरिकी ब्युरो अफ रिक्लेमेसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, लामो समयदेखिको खडेरीका कारण यस जलाशयको सतह सन् १९३७ मा पहिलोपटक भरिएयताकै सबैभन्दा तल्लो स्तरमा झरेको हो ।
३४. विश्व हात्ती दिवसको सन्दर्भमा केन्याले हात्ती संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । चोरी–शिकारी नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि चालिएका सुदृढ कदमका कारण केन्यामा हात्तीको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
३५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौतीका कारण गत महिना टर्की भ्रमणका क्रममा ‘एयर फोर्स वान’ छाडेर गोप्य रूपमा अर्कै विमान प्रयोग गरेको खुलासा गरेका छन् । नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेका ट्रम्प क्यामेराकै अगाडि ‘एयर फोर्स वान’ मा चढेका थिए।
३६. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आगामी अगस्टको अन्त्यमा आफ्नो पद त्याग गर्ने घोषणा गर्नुभएको छ । बुधवार सामाजिक सञ्जालमार्फत यसको जानकारी दिँदै राष्ट्रपति ट्रम्पले लेभिटले आफ्ना साना सन्तान र परिवारसँग बढी समय बिताउनका लागि यो निर्णय लिएको बताउनु भयो ।
३७. प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । विहीवार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
३८. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गर्नुभएको छ । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।
३९. नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडी धर्ना दिएको छ । महासंघले विहीवार श्रेष्ठको रिहाईको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो ।
४०. सांसदहरूले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मल तथा दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीवार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा भएको जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धी छलफलमा सांसदहरुले प्राङ्गारिक मलको प्रयोगमा जोड दिएका हुन् ।
४१. अर्थसचिव डा. घनश्याम उपाध्यायले स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने बताउनुभएको छ । बिहीवार बसेको अर्थ समितिको बैठकमा उहाँले बैंकका शाखा विस्तारले ग्रामिण क्षेत्रमा वित्तीय पुहँच पुगेको मान्न नसकिने बताउनुभएको हो ।
४२. पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
४३. प्रतिनिधि सभाका सांसदहरूले काठमाडौं उपत्यकासहित देशभरको खानेपानी समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
४४. ग्लोवल आइएमई बैंक लिमिटेडले काठमाडौंमा जारी नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट दिइरहेको छ । नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्युनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मञ्जिल विष्टले बताउनु भयो ।
४५. संसदीय समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयवद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताउनुभएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij