Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु


  • 694
    Shares

    बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ ।

    दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिनअघि नै यहाँ मेला सुरु गर्ने निर्णय गरिएको हो । जिल्लामा भएको सर्वपक्षीय बैठकले एकैदिन अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले जानकारी दिए ।

    मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन त्यहाँ मुख्य पूजा हुँदै आएको छ । यस वर्ष भदौ १२ गते जनैपूर्णिमा भएकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ ।

    उनका अनुसार गत वर्ष मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए । हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ त्यहाँ पुग्ने परम्परा छ ।

    यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेको छ । त्यस आधारमा पनि दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए ।

    बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी सुरु गरिएको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।

    प्रमुख खडकाले भने, “मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ ।”

    निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले त्यहाँ पुग्ने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था मिलाएको बताए ।

    समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा परिचित छ । स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए ।

    यस वर्ष मेलाअगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा भने केही समस्या भइरहेको छ ।

     

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १८:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij