२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । भेरी नदीमा जिप खसेर भएको दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुलेको छ ।
बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिएका छन् ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन् । जिपमा चार जना मात्रै सवार रहेको खुलेको छ ।
उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जनाएका छन् ।
बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij