२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बुधबार पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु एक्स्पोमा नयाँ सवारीसाधन तथा प्रविधि अवलोकन गर्न बिहानैदेखि सर्वसाधारणको उपस्थिति बढेको हो ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्स्पोको पहिलो दिन मंगलबार मात्रै २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि बजारमा उपलब्ध ब्रान्डका नयाँ मोडलसम्मका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन् । नयाँ प्रविधि, डिजाइन र सुविधासहितका सवारीसाधनबारे जानकारी लिन तथा मूल्य र विशेषता बुझ्न सर्वसाधारणको चासो देखिएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो दोस्रो संस्करण हो । ६ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij