२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि ५ बुँदे विशेष निर्देशन जारी गरेका छन् ।
गत साउन ९ गते दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति कार्यान्वयन गर्न शीर्ष नेताद्वयले संयुक्त निर्देशन जारी गरेका हुन् ।
निर्देशनअनुसार अब प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा दलहरूको सिट संख्या मुख्य आधार बनाइनेछ । मन्त्रालयको संख्या पनि दलहरूको सांसद संख्याको अनुपातमा निर्धारण गरिने भएको छ ।
मन्त्रालय बाँडफाँडमा शक्ति सन्तुलनलाई ध्यान दिइने र मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत गणना गरिने उल्लेख छ । मन्त्रालय छनोटमा भने पालैपालो प्राथमिकता दिने व्यवस्था लागू गरिनेछ ।
जसअनुसार मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्नेछ भने मुख्यमन्त्री हुने दलले दोस्रो मन्त्रालय छनोट गर्नेछ । यही क्रमअनुसार मन्त्रालय बाँडफाँड टुंगो लगाइनेछ ।
दुई दलको मात्र सहकार्यले सरकार गठनका लागि बहुमत नपुगेमा तेस्रो दललाई पनि सहभागी गराउन सकिने व्यवस्था गरिएको छ । त्यस अवस्थामा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिनेछ ।
प्रदेशमा राजनीतिक स्थिरता, सुशासन र विकासलाई गति दिन प्रदेश सरकारले न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गरी त्यसकै आधारमा काम गर्ने व्यवस्था समेत निर्देशनमा गरिएको छ ।
ओली–प्रचण्डको निर्देशनले प्रदेश सरकार गठनमा देखिएको अन्योल हटाउँदै दुई दलबीचको सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij