२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरेका छन् । शर्माले प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा मात्रै सुरक्षित र सुदृढ हुने बताएका छन्। सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने दलहरूको कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री संसद र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ । गुप्तवासमा नबस्नुहोस् । तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसदमा आउँदा सांसद र सिंगो संसद तपाईंको साथमा हुन्छ । तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसदले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद नै तपाईंको विपक्षमा उभिन्छ । जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसदबाट टाढा भएर सरकार चलाउन सकिँदैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij